• २३ चैत २०८२, सोमबार

दुई दिने बिदा: आन्तरिक पर्यटन प्रवर्द्धनको अवसर

blog

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौँ, चैत २३ गते । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवर्धनका लागि सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदालाई उपयोग गर्दै व्यवसायीहरूले विशेष प्याकेजहरू ल्याउनुपर्ने बताउनुभएको छ।

जोशीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले विगतमा पर्यटन प्रवर्धनका लागि दुई दिने बिदा दिने प्रस्ताव भएको भए पनि लागू हुन सकेको जानकारी दिनुभयो। हालको निर्णयले पर्यटन र हस्पिटालिटी क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। आन्तरिक पर्यटक नयाँ गन्तव्यतर्फ आकर्षित हुँदा त्यहाँ नयाँ लगानीको सम्भावना बढ्नेछ, जसले दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने आधार तयार गर्नेछ।

उहाँले भन्नुभयो, “सरकारले दिएको दुई दिने बिदालाई सकारात्मक रूपमा लिनुपर्छ। यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा दिनेछ। हस्पिटालिटी उद्योगमा पहिले नै ठुलो लगानी भइसकेको छ, यसले थप सहयोग पुर्‍याउँछ। नयाँ गन्तव्यतर्फ आन्तरिक पर्यटक जानुले नयाँ लगानी ल्याउने र भविष्यमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने बाटो खोल्नेछ।”

जोशीका अनुसार, अहिलेको शिक्षित तथा बौद्धिक वर्गले समय पाएमा आफ्ना अनुभव र यात्रा आइडिया अरूसँग साझा गर्न सक्नेछन्, जसले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्‍याउनेछ। साथै, कर्मचारीले परिवारलाई समय दिन नपाउने र घरेलु कामसमेत गर्न नसक्दा कार्यक्षमतामा असर पर्ने अवस्था सुधारिनेछ। कार्यालय समय व्यवस्थापनमा आएको परिवर्तनले कर्मचारीको सोच र कार्यशैलीमा समेत सकारात्मक प्रभाव पार्नेछ।

उहाँले पर्यटन व्यवसायीहरूलाई लक्षित गर्दै भने, “सरकारी बिदालाई केन्द्रमा राखेर व्यवसायीहरूले आकर्षक प्याकेजहरू ल्याउनुपर्छ। नेपाल पर्यटन बोर्डले ती प्याकेजहरू प्रवर्द्धन गर्नेछ। साथै, सेवा गुणस्तर, आतिथ्यता र सरसफाइमा ध्यान दिनुपर्छ। बोर्डले यसबारे जनचेतनामूलक भिडियोहरू पनि निर्माण गर्दैछ।”

जोशीले थप स्पष्ट पार्दै भन्नुभयो, “नेपालीहरु नेपालभित्र घुम्ने मुख्य अवसरहरूमा अब दुई दिने बिदा पनि समावेश भएको छ। नयाँ वर्ष, बालबालिकाको विदा र चाडपर्वमा पर्यटक घुम्ने गर्दछन्। व्यवसायीहरूले प्याकेज ल्याए बोर्डले त्यसको प्रवर्द्धन गर्नेछ। पर्यटकको संख्या बढ्दै गए पनि सेवा गुणस्तरीय नभए नकारात्मक असर पर्छ। बोर्डले आतिथ्यता र हाइजीनलाई प्रवर्द्धन गर्न भिडियोहरू बनाउँदैछ।”

उहाँले पर्यटक व्यवहार र वातावरण संरक्षणबारे पनि सुझाव दिनुभयो। “टेकिङ गर्दा चकलेट वा बिस्कुटका कागज फालिँदा वातावरण प्रदूषण हुन्छ, यसबारे जनचेतना फैलाउनेछौँ।”

जोशीले सरकारले निर्णय र कार्यान्वयन प्रक्रियामा देखिएको कमजोरीबारे पनि टिप्पणी गर्दै नयाँ सरकारले मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित गरी लागू गरेको उदाहरणीय भएको बताउनुभयो। यसले अन्य संस्थाहरूलाई छिटो र प्रभावकारी कार्यान्वयनमा प्रेरित गर्नेछ।