• २३ चैत २०८२, सोमबार

मूल्य वृद्धिका कारण विकास आयोजनाको काम प्रभावित

blog

सडक कालोपत्रे गर्दै कामदार । तस्बिरः केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, चैत २३ गते । मध्यपूर्वी देशहरूमा भएको द्वन्द्वका कारण जिल्लामा सञ्चालित विकास निर्माणको काम प्रभावित बनेको छ । द्वन्द्वका कारण नागरिकको सामान्य जनजीविकादेखि जिल्लामा सञ्चालित ठुला विकास निर्माणको काम प्रभावित बनेको हो । 

द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि तथा विकास निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री खरिद तथा ढुवानीमा समस्या देखिएको हो । द्वन्द्वका कारण सडक कालोपत्रेका लागि आवश्यक पर्ने विटुमिन (अलकत्रा) अभाव भएको छ । 

अलकत्रा अभावका कारण सूर्यविनायकदेखि धुलिखेलसम्म विस्तार भइरहेको सडकको काम प्रभावित बन्न पुगेको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महत्तोले मध्यपूर्वी देशमा भएको द्वन्द्वका कारण आयोजनाको काम प्रभावित बन्न पुगेको बताउनुभयो ।

“द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएका कारण आयोजनाको सामग्री ढुवानी गर्ने सवारी साधन सञ्चालनमा समस्या देखिएको छ, साथै बजारमा कलकत्रा अभाव देखिएको छ । अलकत्रा अभाव हुँदा यसले गर्दा आयोजनाको काम समेत प्रभावित बन्ने खतरा बढेको छ” आयोजना प्रमुख महत्तोले भन्नुभयो । 

उहाँले सुर्यविनायकदेखि धुलिखेलसम्मको सडक खण्डमा सडक विस्तार अन्तर्गत अन्य संरचना निर्माण सकिने चरणमा रहेको र अब अलकत्राको काम हुने भएकाले यसको अभावले आयोजनालाई प्रभावित बनाउने अवस्था रहेको बताउनुभयो । 

“ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट लगायतका सामग्री यतै पाइन्छ, अब हामीलाई सडक कालोपत्रे गर्नका लागि अलकत्रा आवश्यक पर्ने भएकाले अलकत्राको अभाव देखिएको छ, अहिले निर्माण व्यवसायीले महङ्गोमा अलकत्रा खरिद गरेका छन्, महङ्गो तिरे पनि सहज रूपमा पाउने अवस्था नभएकाले निर्माण व्यवसायीले काम रोक्ने मौखिक जानकारी गराएका छन्” आयोजना प्रमुख महत्तोले थप्नुभयो । 

उहाँले सम्झौतामा निर्माण सामग्रीको दररेटभन्दा अहिलेको बजार मूल्य बढी भएकाले निर्माण व्यवसायीले आयोजना सम्झौता र स्टिमेटभन्दा बढी भुक्तानी नगर्ने भन्दै व्यवसायीले काम रोक्ने मौखिक कुरा गरेको बताउनुभयो । 

उहाँले आयोजनाको भक्तपुर र काभ्रेपलाञ्चोक खण्डमा अबको काम अलकत्राको बढी हुने बताउनुभयो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले मध्यपूर्वी देशको द्वन्द्वको असर यहाँको विकास निर्माणको काममा प्रत्यक्ष देखिएको बताउनुभयो । उहाँले आयोजनाको काम समयमा नै सम्पन्न गर्नका लागि अलकत्रा अभावले असर गर्ने अवस्था रहेको बताउनुभयो । 

उहाँले अयोजना अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको कामको जिम्मा पाएको निर्माण व्यवसायीसँग मौज्दात रहेको अलकत्रा सकिएको र बजारमा सहज रूपमा उपलब्ध नभएका कारण काभ्रेपलाञ्चोकतर्फ अलकत्रा राखेर गर्ने काम रोकिएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले महङ्गो मूल्य तिर्न तयार भएपनि नपाएको बताउनुभयो ।

उहाँले काभ्रेपलाञ्चोकतर्फ साढे दुई किलोमिटर सडकमा बेस हालेर अलकत्रा राखेर कालोपत्रे गर्न तयार भए पनि अलकत्रा नभएका कारण काम रोकिएको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकतर्फ २८ किलो, बनेपाको बुडोल, जनागाल क्षेत्रमा कालोपत्रे गर्न तयारी गरिए पनि अलकत्रा अभावका कारण काम हुन नसकेको बताउनुभयो ।

लामो समयसम्म अलकत्राको अभाव देखिएमा आयोजनाको कामलाई असर गर्ने आयोजनाका अधिकारीको भनाइ छ । मध्यपूर्वी देशमा भएको द्वन्द्वका कारण पछिल्लो एक महिनाको अवधिमा अलकत्राको मूल्यमा ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको व्यवसायीहरू बताउँछन् । 

द्वन्द्वअघि प्रतिकिलोग्राम ८०–८२ रुपियाँमा बिक्री भएको इरानी अलकत्रा अहिले बजारमा पाउन छोडेको र इन्डियन आयल कर्पोरेसन (आइओसियल) मार्फत आउने गरेको अलकत्रा ९५–१०० रुपियाँमा बिक्री भएकोमा अहिले १३० रुपियाँ प्रतिकिलोग्राम पुगेको व्यवसायीहरूको भनाइ छ ।  मूल्य वृद्धि भएपछि पछिल्लो समय आइओसियलको अलकत्रा बजारमा अभाव भएको छ । 

यसैगरी सडक डिभिजन भक्तपुरका प्रमुख सियिनर डिभिजनल इन्जिनियर सुमन योगेशले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र अलकत्राको अभावका डिभिजन मार्फत सञ्चालित भएका योजनामा असर परेको बताउनुभयो । उहाँले मूल्यवृद्धि र अलकत्राको अभावका कारण विपी राजमार्गको काभ्रेभन्ज्याङदेखि भकुण्डेबेँसीसम्मको ओभरले गर्ने काम रोकिएको बताउनुभयो । उहाँले अलकत्राको अभावका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडक कालोपत्रे काममा समेत असर पुग्ने बताउनुभयो ।