• ४ साउन २०८१, शुक्रबार

एक करोड २९ लाख खर्चेर कृत्रिम झरना निर्माण

blog

पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा एक करोड २९ लाख भन्दा बढी खर्चेर निर्माण गरिएको कृत्रिम झरना । तस्विरः गोरखापत्र

सिन्धुपाल्चोक, साउन १३ गते । सिन्धुपाल्चोकका स्थानीय सरकारले करोड खर्चेर कृत्रिम झरना निर्माण गरेको छ । स्थानीय सरकारको जीवनस्तर उकास्ने कार्यलाई छाडेर भ्यू–टावर, कृत्रिम झरना, सवारीसाधान जस्ता अनुत्पादक क्षेत्रमा करोडौं बजेट खर्चने गरेको भन्दै गुनासाे बढ्दै गएको छ । 

यसको एक उदाहारण हो पाँचपोखरी थाङपाल गाउँपालिकाले कृत्रिम झरना निमार्णका लागि एक करोड २९ लाख रकम खर्चेको छ । दश लाखभन्दा बढी बजेटमा डिपिआर गरिएको थियो । उक्त गाउँपालिकामा पाँच दर्जनभन्दा बढी प्राकृतिक मनोमहक झरना छन् । प्राकृतिक झरनालाई व्यवस्थित बनाउन छाडेर कृत्रिम झरना निर्माण गर्नु उचित नभएको स्थानीयहरुले आपत्ति जनाउँदै आएका छन् । 

‘प्राकृतिक झरनाले भरिभराउ स्थानमा किन कृत्रिम झरना निमार्ण गर्नुपर्याे ?’ स्थानीय प्रकाश सापकोटाले प्रश्न गर्नुभयो । के उद्देश्यका लागि निर्माण गरिएको भन्ने पनि स्पष्ट नभएको उहाँको भनाइ छ । गाउँपालिका भरमा रहेका प्राकृतिक झरना, पर्यटकीय क्षेत्रमा सही र सदुपयोगपूर्ण तरिकाले बजेट खर्च गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।

उक्त कृत्रिम झरना गाउँपालिका वडा नम्बर– ३ स्थित छिम्ती भीरको पाँच सय मिटर उचाइबाट खसालिएको छ । त्यसबाट खसालिएको पानी कहीँ कत्तै प्रयोगमा ल्याइएको छैन । प्राकृतिक झरना छाडेर कृत्रिम झरनामा कोही कसैले सेल्फी खिच्ने गरेका छैनन् । उक्त वडाका अध्यक्ष ङिमाछिरिङ तामाङले कृत्रिम झरनाले स्थानीय सरकार र जनता समृद्ध हुने दावी गर्नुभयो । सिँचाइ, खानेपानी, जलविद्युत आयोजना लगायत बहुउद्देश्यीय  कृत्रिम झरना निर्माण गरिएको अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामाले अनुत्पादक क्षेत्रमा सरकारी बजेट हालेर भ्रष्टचार नगर्न चेतावनी दिनुभयो । गाउँपालिका समृद्ध बनाउन जनताको दैनिकीमा परिवर्तन आउने खालका काम गर्न उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । 

यता गाउँपालिका अध्यक्ष टासी लामाले कृत्रिम झरना निर्माणसँगै पालिकालाई पर्यटकीय हब बनाउने लक्ष्य राखेको बताउनुभयो । 

Author

चित्र मिजार