• २५ असार २०८१, मङ्गलबार

बेमौसममा पनि पदमार्गमा पर्यटक

blog

बेलिना थापा

लमजुङ, साउन १५ गते  । ‘अफ सिजन’ (बेमौसम) एवं बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार हाल पदमार्ग आएका पर्यटकमा स्वदेशीभन्दा विदेशी पर्यटक बढी देखिएको छ। आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोमसम्म पुग्ने गर्छन्। केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ। 

धारापानी जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक तीन/चार जनादेखि १०/१२ जनासम्म पर्यटक भित्रिएका छन्। असारदेखि भदौ १५ सम्मको समय अफ सिजन मानिने भए पनि यो सयममा समेत पदमार्गमा पर्यटक आएका छन्। सन् २०२२ को जुलाईको हालसम्म १८४ जना पर्यटक भित्रिएका छन्। गतवर्ष २०२१ को जुलाई महिनामा एक जना मात्र पर्यटक आएका थिए। गतवर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध भएकाले पर्यटक आउन सकेका थिएन। सन् २०२०, २०१९ र २०१८ मा एक जना पनि पर्यटक आएका थिएनन्। सन् २०१७ मा भने जुलाई महिनामा ६७३ जना पर्यटक आएको गुरुङले बताउनुभयो। यस वर्ष बाढीपहिरोका कारण डुम्रे–बेंसीसहर–चामे सडकका विभिन्न खण्डमा बाटो अवरुद्ध भएकाले पर्यटकलाई पदमार्ग आउन समस्या भएको छ । यस वर्षको जुनमा १९५, मेमा एक हजार ९६, अप्रिलमा दुई हजार ३८२ जना पर्यटक आएका थिए। मार्चमा एक हजार २३१ जना, फेब्रअरीमा १६९ जना र जनवरीमा ४१ जना आएका थिए। 

एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक आएर पदमार्गमा रमाउने गरेका छन्। पर्यटकका लागि लमजुङखण्डको सडकमा केही समस्या भए पनि मनाङतर्फको सडक सहज रहेको बताउनुभयो। पदमार्ग आउने सडक सहज भए पर्यटकको सङ्ख्या बढ्न सक्ने बताउनुभयो। भदौ १५ गतेबाट भने पर्यटक बढी भित्रिने बताउनुभयो। लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ। यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर सातदेखि १० दिनमा धेरै पर्यटकले यात्रा टुङ्ग्याउने गरेका छन्।