• १२ पुस २०८१, शुक्रबार

वाह ! महावुमा श्रद्धालुको ओइरो (फोटो फिचर)

blog

 विशाल सुनार

दुल्लु(दैलेख), साउन २५ गते । महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रको रुपमा प्रख्यता छ । दैलेख जिल्लाको नौमुले गाउँपालिका वडा - अन्तर्गत पर्ने महावुधाम कालिकोट जिल्लाको महावै गाउँपालिका र दैलेखकै महावु गाउँपालिकासँग जोडिएको छ ।   

उच्च लेकाली क्षेत्रमा पर्ने महावु क्षेत्र धार्मिक मात्र नभएर प्राकृतिक सौन्दर्यको हिसाबले समेत महत्वपूर्ण छ । सडक सञ्जालको विस्तारले उत्तर कर्णालीका जिल्लाहरुको सबैभन्दा छोटो मार्ग हो । नेपाल सरकारको सय वटा पर्यटकीय गन्तव्यमध्येको एक हो महावुधाम । करोडौँ हिन्दुहरुको आराध्यदेव देवाधिदेव महादेवको शिवलिङ्ग स्वरुपको दर्शन गर्न हत्केलामा ज्यान राखेर महावुु पुग्ने गर्दछन् । 


प्रत्येक वर्षको जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा पछिल्लो समय हजारौं दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ । कठिन भिरको बाटोमा ज्यानै हत्केलामा राखेर चढ्न मात्रै पनि मोक्ष प्राप्त हुने विश्वासमा मानिसहरु तिर्थाटन गर्न पुग्ने गरेका छन् । 

पछिल्लो समयमा बहुप्रतिक्षित जमुनाह, महावु, नाग्चे नाग्लाह त्रिदेशीय सडको अवधारण अनुसार जोखिम भए पनि सडक सञ्जालको पहुँच बृद्धि भएपछि श्रद्धालुहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । वृद्ध हुन या वयस्क, भोलेको नाम जप्दै निगालाेको टाँगो बोकेर भीर छिचोल्दै महावु पाटनमा पुगेपछि सारा दु:ख बिर्सन्छन् र लिप्त हुने गर्दछन् ।

प्रकृतिको मनमोहक गलैंचामा । भेडी गोठालाको बाँसुरीको धुन, हजारौं तीर्थालुको कीर्तनको मन्द धुनले  खिलेको हुन्छ । त्यसैमा वादलसँगको लुकामारीले क्षणमै किरण, क्षणमै कुहिरोको हुलको रिले दौडमा तीर्थयात्रीहरु समय कटेको पत्तो पाउँदैनन् । 

गाथको मेलामा सधैँ यस्तो आकर्षण भने थिएन । जब सडक सञ्जालको पहुँच बढ्दै गयो तप धर्मकर्मका लागि घुम्न र घुमाउनका लागि समेत दैलेख, कालिकोट, जुम्ला, बझाङ,  अछाम, सुर्खेत, जाजरकोट, बाँके, बर्दिया र भारतका सीमावर्ती जिल्लाहरुबाट समेत गाथको मेला भर्न आउने गरेका छन् । 

शिवलिङ्ग स्वरुपको दर्शनको किंवदन्ती 

महावुलेकको पाटन क्षेत्रमा दैलेखका उत्तरी क्षेत्रको किसानहरुले वर्षायाममा पशुचौपाया पाटन छोड्ने प्रचलन परापूर्वकाल देखिनै रहेको बुझिन्छ । यद्यपि आज प्रयन्त पनि कायमै छ । शाके सम्बत् ११३७ ताका दैलेख पाटनमा चौपाया लगेर गोठाला गएका दैलेख भुर्ति गाउँका गर्ग गोत्रिय जलु आचार्य ब्राह्मण कुलका एकजना लाटो गोठालाले भेटाएको भन्ने भनाइ छ । 


चारैतिर पाटनको बीचमा विशाल आकृतिको चट्टानको बीचमा मस्त निन्द्रामा भएको बेला निदाएकै ठाउँको मध्यभागमा शिवलिङ्ग स्वरुप भएको, कसैलाई पनि नसुनाउनु, नभन्नु र नियमित दूग्ध स्नान गराउनु भन्ने आकाशवाणी भएअनुसार लाटा ब्राह्मण युवाले नियमित नित्य पूजा आराधाना गरिरहे तर कसैलाई भनेनन् ततपश्चात् उनी बोल्ने मात्र नभएर वेद, उपनिषद् पढ्न सक्ने भए र नियमित पूजा आराधना गर्न थाले भन्ने विश्वास  छ । 

आजसम्म पनि आचार्य उनैको सन्तानहरुले निरन्तरता दिइरहेको छन् । यद्यपि कालिकोट जिल्लाका काफ्ले कुलका एक जना र दैलेख जिल्लाका आचार्यका एक जना गरेर दुईजना पुजारीले पूजा गर्ने परम्परा  छ ।

यस क्षेत्रका किसानहरुले लगाएको वर्षे खेतीलाई गाथकै धाममा धार्मिक विधि अनुसार नै पहिलो भोग शिवलिङ्गमा चढाएर मात्र आफूले सेवन गर्ने गर्दछन् । योसँग गोठमा होस् या पाटनमा चर्न आएको पशुचौपायाहरुको कालगतिले होस् या भीरबाट लडेर मृत्यु भएको रहेछ भने सोही पशुको गोँसाईले दाम्लो आफैंले लगाएर धामको परिक्रमा गर्नेसमेत प्रचलन  छ । 

निःसन्तानलाई सन्तान प्राप्ति हुने विश्वास 

महावुको धाम क्षेत्रको दुई खण्ड छ । सडकको पहुँच भएको पाटन क्षेत्र उत्ताङ ऋषिको तपोभूमि हो । जस्लाई उत्तरगङ्गा भन्ने गरिन्छ । चारैतिर कोणधारी जङ्गल, मनमोहक पाटन क्षेत्र, दर्जनौ थरीका फुलको सुगन्ध र जडीबुटीको टाकुराले मादकता छर्ने गर्दछ । 


दोस्रो खण्ड पाटन क्षेत्रबाट करिब एक घण्टाको नाकै ठोक्किने अक्करे भिर छिचोलेर गाथको मेला लाग्ने स्थान अर्थात शिवलिङ्ग दर्शन गर्ने स्थानमा पुग्न सकिन्छ । पहिले पहिले महिलाहरुलाई तल्लो पाटन क्षेत्रबाट माथि जान वर्जित थियो । देशमा चलेको द्वन्द्वको समयदेखि महिलाहरु पनि धाममै पुग्न थालेका छन् ।

खासगरी सन्तान प्राप्ती नभएका महिला तथा पुरुषहरु तीर्थाटन गरि अनुष्ठानको तिलक ल्याएर फर्किएका श्रद्धालुहरुबाट आशिष थाप्ने गर्दछन् । तीर्थाटन गरेर फार्किएको श्रद्धालुहरुलाई आफूले प्रसादस्वरुप ल्याएको सातु, कसार, फलफूल अदि दिने गर्दछन् ।

कतिपय आशिष थाप्न बसेका भेटिन्छन त कतिपय महिलाहरु भागे जस्तो फल प्राप्त भएकाले धन्यबाद गर्न बाटोमा लामलस्कर लागेर बस्ने गर्दछन् । भीरको बाटो र जोखिमपूर्ण हुने भएकाले पनि जाने बाटो र फर्कने बाटोलाई भिन्न भिन्न तोकिएको छ । 

तीन पटक पुग्नैपर्ने मान्यता 

बाटोको जोखिमलाई हेर्दा एक पटक पुगेको मानिस पुनः पुग्दैन भन्ने लाग्छ । तर पटक पटक उनै यात्रीहरु महावुधाममा लाम लस्कर लगाएर पुगिरहेको देखिन्छ । बाटोको जोखिमलाई हेर्दा हरकोहीको वशको विषय होईन तर अहिलेसम्म कुनै अप्रिय घटना सुन्नुपरेको छैन । 


दैलेख बजारबाट करिब ४२ किलोमिटर कच्ची सडकको यात्रापछि महावुधाम पुग्न सकिन्छ । सडकको जोखिमको कारणले यात्रा सहज छ भनेर भन्न सकिन्छ तथापि दर्जनौं सवारी साधन पुगेकै हुन्छन् भने पैदल हजाराैं यात्रीहरु कष्ट काटेर दर्शन गर्न पुगेकै हुन्छन् । जसो तसो सडक सञ्जालको विकासले यात्रीहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि ल्याएको छ । 

आवश्यक पूर्वाधारको अभावमा श्रद्धालुलाई सास्ती 

यात्रुहरुका लागि अहिलेसम्म उचित वासस्थान निर्माण हुन सकेको छैन । उचित  होटल वा पाटी पौवाकोसम्मको राम्रो व्यवस्था छैन । नेपाल सरकारले सय वटा पर्यटकीय गन्तव्यको सूचीमा राखे पनि पर्यटन पूर्वाधारको विकासमा उल्लेख्य उपलब्धि हासिल हुन सकेको छैन । 


बनेको संरचनाहरु गोठमा परिणत भएको छन् भने यात्रुको सङ्ख्यामा भएको वृद्धिले आसपासको क्षेत्र अव्यवस्थित समेत बन्न पुगेको छ । गोठको बास, अधिक मूल्य, पानि, शौचालय, बासको प्रबन्ध छैन । 

यसै क्षेत्रलाई समेटेर कर्णाली प्रदेश सरकारले फिल्म सिटी निर्माण गर्ने योजनासहित केही काम अगाडि बढाएको छ । तर काम कहाँ पुग्यो भन्ने विषयमा कानोकान कसैलाई खबर छैन । सडकलाई भरपर्दो र दिगो गर्नका लागि भन्दै सङ्घीय सरकार र प्रदेश सरकारमार्फत वर्षेनी गरिने करोडौ खर्चले देखिने गरी सडक विस्तार भएको सर्वसाधारणले महसुस गर्न पाएका छैनन् ।   

पूजा आराधना 

महावुगाथमा पूजा गर्दा अभिलेख सहितका चाँदीका तीनवटा आशागुर्जा, काठका प्रतिकात्मक मूर्ति गरुडसहितको चाँदीको पञ्चबाला तथा अन्य बहुमूल्य वस्तुहरू विशेष पूजाका बेलामा मात्र निकालिने गरिन्छ । पूजापाठका लागि गएका भक्तजनहरूले मुख्य मन्दिरको परिक्रमा गर्दा बुकी झारसहित मुखमा घाँस मुखमा च्याप्ने चलन अहिले पनि कायमै छ । शिवलिङ्ग भएको स्थानलाई सबै तीर्थयात्रीहरूले सातपटकसम्म परिक्रमा गर्ने गर्दछन् । 


सिरानमा पोखरी 

हिउँद याममा करिब ६ महिना हिउँको च्याद्दरमा गुपचुप हुने यस पाटन क्षेत्र वर्षायाममा यौवनले उन्मुक्त हुन्छ । दर्जनौं थरीका फूलहरुले ढकमक्क हुने पाटनको बीचमा देखिने सरोवरमा कावा खाँदै गरेको कुहिरोको हुल छिचोल्दै नीलो गगन डुबुल्की मार्छ । 


आसपासका बुकी, दूबो, फूलहरुको दृश्यले मन्त्रमुग्ध गराउँछ । धार्मिक जलार्पणको लागि मात्र नभएर पर्यावरण र जलाधार क्षेत्रको संरक्षणको लागि यस पोखरीको निकै ठूलो महत्व  छ । 

महावु कसरी पुग्ने 

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख बजार ६५ किलोमिटरको दूरीमा छ । पक्की सडक भएकाले ३ घण्टामा सहजै दैलेख बजार आउन सकिन्छ । दैलेख बजारबाट ४२ किलोमिटर यात्रा गरेपछि महावु पाटन क्षेत्रमा पुग्न सकिन्छ । 


वर्षात नभएको बेलामा करिब ४ घण्टामा पुग्न सकिन्छ भने बर्षातका कारणले हिलाम्य बनेको खण्डमा केही समय बढी लाग्न सक्छ । भीरको बाटो भए पनि यात्राले हरेक पटक प्रत्येक घुम्तीमा अलौकिक यात्राको अनुभव गराउनेछ । 

दैलेखबाजारबाट करिब डेढ घण्टाको यात्रामा दशरथे बजार पुग्न सकिन्छ । स्थानीय बजार भएकाले चियासम्म खान सकिन्छ । दोस्रो गन्तव्यमा थप एक घण्टाको यात्रामा ओखरबास भन्ने स्थानमा पुग्न सकिन्छ । 

केही पसलहरु भएकाले खाना र सामान्य बासको व्यवस्था हुन्छ । यद्यपि त्यहाँबाट ३० मिनेटमा बावरसैनी भन्ने स्थानमा पुग्न सकिन्छ । केही पसल, होटल भएकाले आवश्यक परे बास पनि बस्न सकिन्छ । 

आसपास ग्रामीण बस्ती छैन । मवाबु यात्राको पहिलो उकाले पार गरेपछि नाउली भन्ने ठाउँ आउँछ । केही घर केही, गोठ भएकाले सामान्य चिया नास्तासम्म पाउन सकिन्छ । त्यो नै दैलेखबाट महावु पुग्ने बेलाको अन्तिम बस्ती हो । 


नाउलीबाट लिस्नेको घुम्ती पार गरेपछि पाटन पुग्न सकिन्छ । पैदल हिड्नेहरु भीरको बाटोबाट आधि घण्टामा पाटन पुग्न सक्छन् । सडकबाट हिड्नेहरु करिब २ घण्टाको यात्रापछि पाटन पुग्दछन् । पाटनबाट करिब एक घण्टाको उकालोपछि शिवलिङ्ग भएको स्थानमा पुग्न सकिन्छ । धार्मिक पर्यटन विकासको लागि महावु क्षेत्र महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।

तर निर्माण गरिएको पूर्वाधारहरुको भएको लापरवाहीा कारण पूर्वाधारहरु प्रयोगविहीन बन्न पुगेका छन् । मानिहरुको सङ्ख्या बढ्दो छ । तर व्यवस्थापनको अभावमा सास्ती धेरै खेप्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ । कति आए कति गए, कहाँबाट आए र कति दिन बस्ने हुन् जस्ता विषयहरुको लगत राखिनुपर्दछ । यसतर्फ स्थानीय सरकारको धानाकर्षण हुन जरुरी छ ।