• २७ वैशाख २०८२, शनिबार

यथार्थपरक बजेट ल्याउन माग

blog

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख २७ गते । कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा जुटेको छ । सरकार बजेट निर्माणमा जुटिरहेका बेला सरोकारवालाले पनि बजेटमाथिको चासो देखाएका छन् । 

आगामी बजेटबारे छलफल र सरकारलाई सुझाव पेस गर्नेसम्मका गतिविधि भइरहेका छन् । यसै क्रममा वीरेन्द्रनगरमा बजेटसम्बन्धी छलफल गरिएको छ । ऋति फाउन्डेसनले आयोजना गरेको आव २०८२/८३ वर्षको बजेटसम्बन्धी छलफलका सहभागीले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले उत्पादन र रोजगारीमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले धेरै आयोजना प्रस्ताव गर्नेभन्दा ठुला र कार्यान्वयनयोग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले वैचारिक र नीतिगत स्पष्टतासहित कार्यान्वयनयोग्य बजेटलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । पर्याप्त स्रोतसाधन नभई राज्यले सबै कुरा गर्न खोज्दा समस्या आएको उल्लेख गर्दै उहाँले सार्वजनिक, निजी, सहकारी र समुदायको भूमिका पनि स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । 

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले दोस्रो पञ्चवर्षीय योजना अनुरूप नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो । आयोजना बैङ्क निर्माण गरेर लगानी सम्मेलन गर्ने तयारी भइरहेको समेत उहाँको भनाइ छ । आयोगले नीति तथा विधि निर्माण गरेको उहाँले जानकारी दिनुभयो । 

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आव २०८२/८३ का लागि ल्याउने बजेटको आकार बढ्ने बताउनुभयो । सङ्घीय सरकारबाट बजेटको सिलिङ बढेर आएपछि प्रदेश सरकार पनि आकार बढाएर बजेट निर्माणमा जुटेको उहाँको भनाइ छ ।  आगामी वर्षका लागि सङ्घीय सरकारबाट राजस्व बाँडफाँटतर्फ १० अर्ब, समानीकरणतर्फ पनि १० अर्ब र अन्य गरेर करिब २१ अर्बको बजेट सिलिङ प्रदेश सरकारले प्राप्त गरेको शाहले जानकारी दिनुभयो ।