• २७ वैशाख २०८२, शनिबार

तिलिचो ताल जाने पर्यटकलाई आश्रयस्थल

blog

तिलिचो ताल जाने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको पर्यटक आश्रयस्थल ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), वैशाख २७ गते । मुस्ताङबाट सबैभन्दा छिटो पुगिने संसारकै अग्लो स्थानमा रहेको आकर्षक पर्यटकीय गन्तव्य तिलिचो ताल जाने पर्यटकलाई लक्षित गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमले आश्रयस्थल निर्माण गरेको छ ।

सामुन्द्रिक सतहदेखि चार हजार ५४५ मिटर उचाइमा पर्यटक आश्रयस्थल बनाइएको हो । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको तिलिचो तालमा मुस्ताङबाट जाने पर्यटकको सङ्ख्या बढेसँगै एक्यापको आर्थिक तथा सैनिक उच्च शिखर शिक्षालय मुस्ताङको श्रमदानमा साढे दुई लाख खर्चिएर आश्रयस्थल बनाएको एक्याप जोमसोमले जनाएको छ । 

जोमसोम–ठिनी–कैसाङ हुँदै मनाङको तिलिचो ताल पुग्ने पदमार्गमा पर्ने उच्च लेकमा आश्रयस्थल बनेसँगै पर्यटकलाई सहज भएको छ । एक्याप जोमसोमका रेञ्जर दीपक ओलीले रातको समयमा बास बस्न समस्या हुने पर्यटकलाई आश्रय भवन बनेपछि सहज भएको बताउनुभयो । 

रेञ्जर ओलीले भन्नुभयो, ‘‘पर्यटकको आवश्यकता महसुस गरी निर्माण गरिएको छ, एकै पटकमा धेरै पर्यटक बस्न मिल्छ ।’’ जस्तापाताले तयार गरेको आश्रयस्थल आसपासका क्षेत्रमा थप संरचना बनाउन सकिने अवस्था रहेको छ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो तालमा पछिल्लो समय बेनी–जोमसोम सडकखण्ड अन्तर्गत घरपझोङ गाउँपालिकाका विभिन्न बस्ती हुँदैजाने पर्यटकको चाप अत्यधिक रहेको छ । 

रातको समयमा पदमार्गमा आश्रयस्थल नहुँदा पर्यटकले टेन्ट तथा खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता थियो । यसअघि घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा ठिनी गाउँबाट वडा ४ र ५ को विभिन्न ठाउँमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको थियो । 

त्यस्तै, एक्यापमार्फत पुरानो पदमार्ग मर्मत र नयाँ पदमार्ग निर्माण गरेपछि पर्यटकलाई सहज भएको थियो । जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्किन सकिन्छ । स्थानीय तह र एक्यापले बर्सेनि पदमार्ग निर्माण तथा स्तरोन्नतिका लागि खर्च गर्ने गरेको छ । ३.९ किलोमिटर लम्बाइ र १.६ किलोमिटर चौडाइ रहेको ताल कुल ४.८ वर्ग किमिभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । तालबाट नीलगिरि हिमाल, नमखु, तिलिचो हिमाल, अन्नपूर्ण रेन्जका प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ ।