• २७ वैशाख २०८२, शनिबार

निर्माण मैत्री ऐन कानुन नबन्दा व्यवसायी समस्यामाः सिंह

blog

निर्माण व्यवसायी संघ मकवानपुरको २५ औँ साधारणसभाको शनिबार हेटौँडामा उद्घाटनपछि बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह। तस्बिरः राममणि दाहाल

राममणि दाहाल

मकवानपुर, वैशाख २७ गते। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री ऐन कानुन नबन्दा निर्माण व्यवसायी वर्षौदेखि समस्यामा पर्दै आएको बताउनुभएको छ।

उहाँले अहिले देशको आवश्यकता र चाहना देशको विकास र समृद्धि भएको भन्दै पूर्वाधार निर्माणलाई गति दिन र गुणस्तरीय निर्माणका लागि निर्माण मैत्री र विकासमैत्री ऐेन कानुन आवश्यक भएको बताउनुभयो।

निर्माण व्यवसायी संघ मकवानपुरको २५ औँ साधारणसभाको शनिबार हेटौँडामा उद्घाटन गर्दै उहाँले खरिद नियमावलीमा पछिल्लो पटक भएको संशोधनले केही सहज भएको र निर्माण व्यवसायीलाई राहत मिल्ने बताउनुभयो।

सार्वजनिक खरिद ऐन संशोधनको क्रममा रहेको छ, निर्माण मैत्री ऐन बनाउन सबै एक जुट भएर लाग्नुपर्छ अध्यक्ष सिंहले भन्नुभयो, ‘संसार भर सफल भएका निर्माण व्यवसायी नेपालमा असफल भएका छन्।निर्माणमा विभिन्न अवरोधहरु आउँछन्, यसको पछिल्लो उदाहरण नेपाली सेनाले लिएको काममा पनि समयमा नहुनुले पुष्टि गर्छ।’

सरकारी टोलीसहित चीन भ्रमणमा जाँदा पनि नेपालको निर्माणसम्बन्धी कानुनका बारेमा प्रश्न उठेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नेपालको निर्माण सम्बन्धी ऐन कानुन निर्माणमैत्री छैन।संशोधन आवश्यक छ।’ धेरै घटाघटमा ठेक्का लिने प्रवृत्ति समस्या बन्दै आएको उहाँको भनाइ छ।

महासंघका सल्लाहकार निकोलस पाण्डेले सार्वजनिक  खरिद नियमावलीमा रहेका  कानुनी व्यवस्था प्रयोग गरेर कानुनी उपचारमा जानु आवश्यक भएको औँल्याउँदै अहिलेको सार्वजनिक खरिद ऐनले निर्माण व्यवसायी र राज्य दुवैलाई नोक्सानी पुगेको बताउनुभयो।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा एडी नैतिक र नीतिगत रुपमा गर्ने काममा व्यवसायी स्पष्ट हुनुपर्ने भन्दै कम दरमा ठेक्का हाल्ने प्रवृत्तिले समस्या बनेकोले १५ प्रतिशतभन्दा बढी घटेर ठेक्का नहाल्न निर्माण व्यवसायीलाई सुझाउनुभयो।

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय प्रेमबहादुर पुलामी र भारती पाठकले निर्माण व्यवसायीले गरेका कामको समयमा भुक्तानी पाउनुपर्ने बताउनुभयो।