• २७ वैशाख २०८२, शनिबार

बाँस खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

blog

घोराही उपमहानगरपालिका –८ सौरीकुलास्थित डम्बर चौधरीको बाँसखेती । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, वैशाख २७ गते । दाङका किसानहरु वाँस खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् । पछिल्लो समय बाँसको अभाव भइरहेका बेला सौरीकुलाका किसानहरु बाँस खेतीबाट आम्दानी लिनुभएको हो । 

घोराही उपमहानगरपालिका –८ सौरीकुलाका डम्बर चौधरी पछिल्लो तीन महिनाको विचमा झण्डै एक लाख रुपियाँ बराबरको बाँस विक्री गरेको बताउनुभयो । उहाँले फागुन, चैत र वैशाख महिनामा ९४ हजार रुपियाँको बाँस विक्री गरेको बताउनुभयो । प्रतिवाँस तीन सयदेखि पाँच सयकोको दरमा विक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । बाँसको आकार हेरेर हामीले बाँसको मूल्य निर्धारण गर्छौ, उहाँले भन्नुभयो, “अहिले हामी तीन सयदेखि पाँचसयको दरमा प्रतिबाँस बेचिरहेका छौं ।”

अहिले बजारमा बाँसको अभाव छ, हामीले भनेको जति पुगाउन सकेका छैनौ, उहाँले भन्नुभयो, “बाँसखेती गर्न सकेमा राम्रो आम्दानी हुँदोरहेछ । बाँस बहुउपयोगी बस्तु हो ।” घर बनाउनदेखि बस्ने मान्छे बस्ने मुंग्रासम्ममा बाँसको प्रयोग हुन्छ । त्यसैले पछिल्लो समयम बासको मार्केट पनि बढेको उहाँले बताउनुभयो ।  आफूले पनि बाँसबाट छ्ट्विा, गैजा, डेल्या, छटरी बनाएर बेच्ने गरेको उहाँले बताउनुभयो ।  

कम लगानी र डाँडाकाँडादेखि खोला किनारमा समेत बाँसको खेती सजिलै गर्न सकिन्छ, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा धेरै किसानले बाँसको खेती गर्दै आउनुभएको छ, मैले करिब १० कठ्ठामा बाँस रोपेको छु । बाँस खेतीबाट आएको आम्दानीले घरखर्च र छोराछोरीलाई पढाउँदै आएको छु्ँ ।” अहिलेसम्म आफूले बाँस खेतीबाट सन्तुष्ट रहेको उहाँले सुनाउनुभयो ।  

सोही गाउँका टेकललाल चौधरीले पनि बाँसखेतीबाट मनग्य आम्दानी लिदै आउनुभएको छ । उहाँले करिब १० कठ्ठामा बाँसखेती गर्दै आउनुभएको बताउनुभयो । डम्बरजस्तै आफूले पनि बाँसखेतीबाट आम्दानी लिदैआएको बताउनुभयो । अन्य खेतिपातीभन्दा बाँसखेतीमा सजिलो हुनेभएकाले बाँसखेतीमा लागेको बताउनुभयो ।

‘पहिला पहिला घरबारीमा बार बेर्नका लागि बाँस रोप्दै आएको थिएँ, उहाँले भन्नुभयो, “अहिले व्यावसायिक रुपमा बाँसखेती गर्दैआएको छु ।’ बाँसखेतीबाट राम्रो आम्दानी हुने थाहाँ पाएपछि आफूले व्यावसायिक रुपमा बाँसखेतीमा लागेको बताउनुभयो ।

‘एउटा बाँसको घारीबाट झण्डै पन्ध्र हजारसम्म आम्दानी आउँछ, उहाँले भन्नुभयो, “बर्षमा १० घारीको बाँस बेच्ने हो भने डेढलाख कहिँ जाँदैन ।’ उहाँको अनुसार एउटा घारीमा कम्तिमा पनि पचास वटा बाँस हुन्छ ।  ‘मलजल गर्न सकियो भने एउटै बाँसको घारीमा धेरै बाँस उत्पादन हुन्छ’ उहाँले भन्नुभयो,  “त्यसैले अन्य खेतिभन्दा बाँसखेती गर्न सजिलो छ ।”

डम्बर र टेकलालजस्तै सौरीकुला गाउँका धेरै किसानले बाँसखेती गर्दैआएको टेकलालले बताउनुभयो । उहाँको अनुसार त्यहाँका किसानले पाँच विघाभन्दा बढी जग्गामा बाँसखेती गर्दै आएका छन् ।