• २७ वैशाख २०८२, शनिबार

सांसदलाई सवालको ४२ औं शृङ्खला

‘विकासका लागि मन्त्रालय धाउनै पर्ने बाध्यता छ’

blog

काठमाडौँ, वैशाख २७ गते । नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएका उर्मिला थेवेले यो सरकारले सबैभन्दा बढी काम गरेको बताउनुभएको छ । ऐन नियमहरू बनाउने काम पनि रफ्तारमा भइरहेको उहाँको भनाइ छ ।  

संविधान जारी भएको तीन वर्षमा सबै ऐन नियम बनिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि यसअघिका सरकारले त्यसमा गम्भीर नहुँदा नौ वर्ष बिते पनि आवश्यक ऐन बन्न नसकेको उहाँको बुझाइ छ । 

ताप्लेजुङ निवासी सांसद थेवेले भन्नुभयो, “जनताले ऐन कानुन बनाउनुभन्दा विकासको काम गर्न भन्नुहुन्छ । हामीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय रहँदा पनि विविध कारणले सबै ऐन कानुन अझै बनिनसकेको अवस्था छ ।” एउटा सांसदले २०–२२ मन्त्रालय धाएर विकासको योजना पार्ने चटारो सांसदलाई हुने गरेको उहाँले सुनाउनुभयो । 

जनताले ऐन कानुन बनाउनुभन्दा विकासको काम गर्न भन्नुहुन्छ । हामीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय रहँदा पनि विविध कारणले सबै ऐन कानुन अझै बनिनसकेको अवस्था छ ।

पाँचथरमा वि.सं. २०१६ असार १५ गते जन्मिनुभएकी सांसद थेवे विसं २०३१ देखि राजनीतिमा सक्रिय हुनुभएको हो । २०३८ सालदेखि अखिल नेपाल महिला सङ्घको स्थानीय कमिटी र जिल्ला कमिटीदेखि केन्द्रीय कमिटीमा काम गर्नुभयो । विद्यार्थी जीवनमा जेल, नजरबन्दमा पनि पर्नुभएकी सांसद थेवे अहिले एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । 

सांसद थेवे २०३५ सालमा विवाह गरी ताप्लेजुङ पुग्नुभएको थियो । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँ अहिले एमाले ताप्लेजुङ (क) को संयोजकको जिम्मेवारीमा रहनुभएको छ । 

सांसदहरू जिम्मेवारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको दाबी गर्नुहुँदै उहाँले भन्नुभयो, “समितिका धेरै बैठकहरू हुन्छन् । विकास निर्माणका लागि आयोजना पार्न मन्त्रालयमा धाउनुपर्छ । पार्टीका बैठक र जनताको समस्याका लागि काममा खटिनुपर्दा कहिलेकाहिँ संसद बैठकमा केही समय अनुपस्थित हुनुपर्ने सांसदहरूलाई बाध्यता आइपर्छ । हाजिर लगाएर भाग्ने काम सांसदहरूले गर्नु हुँदैन ।”

प्रस्तुत छ नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थेवेसँग गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी र प्राविधिकतर्फ मनोजरत्न शाहीकेशब गुरुङले गर्नुभएको सांसदलाई सवाल भिडियो सामग्री :


Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।