• ५ वैशाख २०८१, बुधबार

लोमान्थाङमा गल्फ प्रतियोगिता हुने

blog

गल्फ प्रतियोगिताबारे जाकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन २३ गते । समुन्द्र सतहबाट चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङमा भदौ ११ गते गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको नौ होलको गल्फ कोर्समा औपचारिक प्रतियोगिता आयोजना गरिन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिनुभयो ।

यस गल्फ कोर्स विश्वकै सर्वाधिक उचाई (हाई अल्टिच्युट)मा भएको दावी पनि गरिएको छ । नेपाल गल्फ संघका अध्यक्ष तासी घलेले यस कोर्सलाई विश्वकै सर्वाधिक उचाईमा रहेको कोर्सको रुपमा विश्व रेकर्डमा राखिन प्रयास गरिने जानकारी दिनुभयो । अहिले विश्वकै उचाईमा रहेको गल्फ कोर्समा सिक्किमको याक गल्फ कोर्स हो । यसको उचाई तीन हजार ९७० मिटर छ । 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचि दीपक आचार्यले पर्यटकीय र नमुना गल्फ कोर्सको रुपमा विकास गर्न लोमान्थाङमा प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो । नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले मुस्ताङको पर्यटनलाई चिनाउने अर्को माध्याम गल्फ हुने बताउनुभयो । 

चीन सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको गल्फ खेलका लागि केही समयअघि सम्भाव्यता अध्ययन गरिएको थियो । प्रदेशसभा सदस्य विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरुप गल्फ समेत खेलेका थिए । उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास र गल्फ खेल सञ्चालनका लागि आर्थिक वर्ष २०७९/८० प्रदेश सरकारबाट विनियोजित १० लाख रुपियाँबाट निवियोजन भएको थियो । सोही रकमबाट नौ होलको गल्फ कोर्स बनाईएको विष्टले जानकारी दिनुभयो । 

लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त गल्फ कोर्स रहेको छ । अहिले त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको जारकारी पनि विष्टले दिनुभयो । उहाँका अनुसार हाल उक्त कोर्सको संरक्षण लोमान्थाङ युवा क्लब र गाउँपालिकाले गरिरहेको छ । प्रतियोगिता आयोजना गरेर विश्वको ध्यान आकर्षण गर्ने तयारी स्थानीयको छ ।

भदौ ११ गते हुने एक दिने प्रतियोगिताका पोखरा र काठमाडौंका गरी चार महिला सहित २८ खेलाडीको सहभागिता रहने बताईएको छ । स्टेवल फोर्ड ३/४ ह्यान्डीक्याप विधामा खेलाइने प्रतियोगिताको विजेता र उपविजेता, महिला विजेता र उपविजेता, बेस्ट ग्रोस, क्लोजेस्ट टु दि पिन र लङ्गेस्ट ड्राइभ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।