• ७ जेठ २०८१, सोमबार

सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने सरकारको घोषणा

blog

तस्बिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन ८ गते । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेकाे छ । आइतबार यहाँस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेकाे हो । 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ अनुसार  मन्त्रालयले यस्तो कार्ययोजना सार्वजनिक गरेको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने काम गर्ने दाबी गर्नुभयो । 

सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने बताउनुहँदै उहाँले वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताउनुभयो । 

मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना भएको बताउनुभयो । भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको बताउनुभयो, ‘सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा गर्नसक्छौं । यो उद्देश्यले दशकको रुपमा नै पर्यटन वर्ष बनाएर जाने घोषणा गरेका छौं ।

यो पर्यटन मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना हो । प्रधानमन्त्रीज्यूले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि के के गर्नुपर्ने हो । अगाडि बढाउनुस्, भन्नुभएको छ । सरकारको तर्फबाट के सहयोग गर्नुपर्छ गर्ने बताउनुभएको छ ।’


यस्तै, कार्ययोजना प्रस्तुत गर्नुहुँदै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले तीन महिनाभित्र सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गरिसक्ने गरी तयारी भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्ययोजना बनाएको पनि बताउनुभयो । 

नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने उहाँले बताउनुभयो । 

सगरमाथा आधार शिविरबारे साेकाे ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यमा हुने जोखिमका सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताउनुभयो । त्यस्तै, काठमाडौं उपत्यकालगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटक बसपार्क निर्माणको कामलाई छ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ । 

मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा गरेको छ । हिमाल आरोहणका लागि पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण छ महिनाभित्र खुला गर्ने तयारी गरेको छ । 

त्यस्तै, प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा मन्त्रालयले गरेको छ । काठमाडौं उपत्यकाभित्र रात्रिकालिन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । 

किलिन नेपाल, ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश, स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाइ एवं रङ्गरोगन अभियान एक महिनाभित्र चलाउने घोषणा भएको छ ।