• १० मंसिर २०८१, सोमबार

नाम्चेभन्दा माथि पर्यटक एक्लै हिँड्न नपाउने

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, साउन १४ गते । खुम्बुको नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथीबिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिँडडुल गर्न कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चेको प्रहरी चौकीभन्दा माथिको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले जानकारी दिनुभयो । उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गराउन आफूले मन्त्रालयमा पनि परिपत्र गरिसकेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनुभयो ।

यसअघि बर्सेनि खुम्बु क्षेत्रमा आएका विदेशी पर्यटक हराउने गरेका छन् । खुम्बु क्षेत्रमा केही महिनाअघि मात्रै एक्लाएक्लै भ्रमणमा आएका एक भारतीय र एक कोरियाली नागरिक बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी भए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।