• ६ जेठ २०८१, आइतबार

गोसाइँकुण्ड मेला सुरु, १५ हजार तीर्थयात्री आउने अनुमान

blog

नमराज सुवेदी 

रसुवा, साउन १९ गते । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्ड जनैपूर्णिमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ । 

मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति, रसुवाले जनाएको छ । यसपटक रसुवा आउन कुनै पनि सडक खण्ड अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएको र कम वर्षा भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ । गएको वर्ष करिब १० हजार तीर्थयात्रीले मेलामा सहभागी भएका थिए ।

धुन्चे–गोसाइँकुण्ड पदमार्गबाट १२ हजार र काठमाडौँ–सुन्दरीजल र हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री त्यहाँ पुगेको जानकारी समितिले दिएको छ । अनुमानको भरमा तीर्थयात्री आएको बताइँदै आए पनि गएको वर्षदेखि नेपाली सेनाले तथ्याङ्क लिन थालेको छ ।

यस वर्ष तीर्थयात्रीलाई खान तथा बस्नका लागि ७० वटा भन्दा बढी थर्पु निर्माण गरिएको छ । धुञ्चेबजार ४२, घट्टेखोला २, खेन्दी २, देउराली २, डिम्सा ३, चन्दनबारी ७, च्योलाङपाटी २, लौरीविना ३ र गोसाइँकुण्ड ४ वटा स्थायी होटेल तीर्थयात्रीलाई सेवा दिन तयार रहेको होटेल व्यवसायी सङ्घ, रसुवाका अध्यक्ष निशन गजुरेलले बताउनुभयो ।

धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चार ओटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीन ओटा मुख्य बाटो छ । काठमाडौँ–धुन्चे–गोसाइँकुण्ड बाटो गोसाइँकुण्डको सबैभन्दा बढी चल्ने बाटो हो । काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ ।

त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिनाएक र लौरीबिनाएक हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ । कुण्डमा स्नान गरी गोसाइँबाबा शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आफूले चिताएको सबै मनोकमना पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँ भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन् ।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाहा शान्त पार्न हिमालयखण्डको काखमा आएर शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गङ्गाजल अर्थात् त्रिशूलधाराको उत्पति भएको र त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किम्वदन्ती पाइन्छ ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन् ।