• १६ वैशाख २०८१, आइतबार

अफ सिजनमा पनि अन्नपूर्ण पदमार्गमा पर्यटक

blog

चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणमा आएका पर्यटक धारापानीमा । तस्बिरः बेलिना थापा

लमजुङ, साउन १४ गते । अफ सिजन एवं बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार हाल पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ । 

पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तीनाथ जोमसोम सम्म पुग्ने गर्छन् । केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ । धारापानी चेकजाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक ३÷४ जनादेखि १०÷१२ जनासम्म पर्यटक भित्रिएका छन् । असारदेखि भदौ १५ सम्मको समय अफ सिजन मानिने भएपनि यो सयममा समेत पदमार्गमा पर्यटक आएका छन् । सन् २०२२ को जुलाईको हालसम्म १८४ जना पर्यटक भित्रिएका छन् । गतबर्ष २०२१ को जुलाई महिनामा एक जना मात्र पर्यटक आएका थिए । गतबर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध भएकाले पर्यटन आउन सकेका थिएन । सन् २०२०, २०१९ र २०१८ मा एकजना पनि पर्यटक आएका थिएनन् । सन् २०१७ मा भने जुलाई महिनामा ६७३ जना पर्यटक आएको गुरुङले बताउनुभयो ।

यसबर्ष बाढीपहिरोका कारण डुम्रे–बेंसीशहर–चामे सडकका विभिन्न खण्डमा बाटो अवरुद्ध भएकाले पर्यटकलाई पदमार्ग आउन समस्या भएको छ । यसबर्षको जुनमा १९५ जना, मेमा १ हजार ९६ जना, अप्रिलमा २ हजार ३८२ जना पर्यटन आएका थिए । मार्चमा १ हजार २३१ जना, फेब्रअरीमा १६९ जना र जनवरीमा ४१ जना आएका थिए ।

एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक आएर पदमार्गमा रमाउने गरेका छन् । पर्यटकका लागि लमजुङखण्डको सडकमा केही समस्या भएपनि मनाङतर्फको सडक सहज रहेको बताउनुभयो । पदमार्ग आउने सडक सहज भए पर्यटकको संख्या बढ्न सक्ने बताउनुभयो । भदौ १५ गतेबाट भने पर्यटक बढी भित्रिने बताउनुभयो ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुंग्याउने गरेका छन् ।


Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।