• ८ वैशाख २०८१, शनिबार

पशुपतिमा सरसफाइमा ध्यान दिन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

blog

काठमाडौं, साउन २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले  पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो । 

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तल लगायत स्थलको हिँडेरै अवलोकन गर्नुभएको थियो । अवलोकनको अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपतिक्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो । उहाँले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । 

मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिनुभयो । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउनुहुँदै उहाँले सुरक्षा, संरक्षण र सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिनुहुँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । सरकारले पशुपतिक्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताउनुभयो । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।