‘क्यानभासमा मेलुङ’ कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मेलुङ गाउँपालिका, दोलखाको सहकार्य तथा चरीकोट मिडिया फाउन्डेसनको व्यवस्थापनमा दोलखाको मेलुङस्थित भेड्पुमा ‘क्यानभासमा मेलुङ’ कार्यशाला सम्पन्न भएको छ ।
दुर्व्यसनविरुद्ध देउडा
समाजमा लागुऔषध दुर्व्यसनीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यहाँ देउडा कार्यक्रम आयोजना गरिएको छ ।
एकहत्तर परियोजनामा पौने दुई खर्ब लगानीको लक्ष्य
कोशी प्रदेश सरकारले विराटनगरमा वैशाख १८ र १९ गते (बिहीबार र शुक्रबार) आयोजना गर्ने लगानी सम्मेलनको तयारी पूरा भएको छ ।
लोकप्रिय बन्दै केराका परिकार रौतहटमा तीन वटा ‘बनाना रिसोर्ट’
रौतहटमा सयौँ किसान केरा खेतीमा आबद्ध छन् । केरा खेतीसँगै केराबाट विभिन्न परिकार बनाएर पस्कने विचारले रौतहटमा रेस्टुरेन्ट व्यवसाय फस्टाउन थालेको छ ।
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव
काठमाडौँ, वैशाख १८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।विश्व श्रमिक दिवस [१ मे] का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले दिवसले बालश्रमको निषेध, महिला श्रमिकलाई सुरक्षा र अनौपचारिक श्रम क्षेत्रको संरचना सुधार गर्न सबैलाई दत्तचित्त भई क्रियाशील हुन उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत व्यक्त गर्नुभएको छ ।उपराष्ट्रपति यादवले समाज र राष्ट्रको विकास निर्माण तथा उन्नयनमा श्रमजीवीहरूको श्रम, मेहनत, समर्पण र सङ्घर्ष अमूल्य रहेको बताउनुभयो । उहाँले श्रमजीवीको अधिकारको रक्षा र जीवनस्तर सुधार गर्दै उचित पारिश्रमिक प्रदान गर्ने अवस्था सिर्जना गर्न सबैजना आ–आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहन जरुरी भएको उल्लेख गर्नुभयो । दिवस श्रमजीवीहरूका लागि सुरक्षित, सम्मानजनक र समावेशी कार्य एवं समान पारिश्रमिकका लागि वातावरण सुनिश्चित गर्ने दृढ सङ्कल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । उहाँहरूको अधिकार रक्षा र कल्याणबाटै हाम्रो समाज र मुलुक थप न्यायपूर्ण र समृद्ध बन्न सक्दछ”, शुभकामना सन्देशमा भनिएको छ ।उपराष्ट्रपति यादवले श्रमजीवीहरूको अधिकार, सम्मान र योगदानलाई मान्यता दिने प्रतीकका रूपमा समेत मनाइने मे दिवसले श्रम अधिकारको सुनिश्चितताका लागि थप क्रियाशील हुन सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।मुलुकको विकास र समृद्धिमा श्रमिकहरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले खासगरी कृषि, उद्योग, विकास–निर्माण, पर्यटन, घरेलु क्षेत्र र अन्तरराष्ट्रिय श्रम बजारलगायतका क्षेत्रमा श्रमिकहरूको भूमिका उल्लेखनीय योगदान रहेको उल्लेख गर्नुभयो । “नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट ठूलो परिमाणमा विदेशी मुद्रा आपूर्ति हुनु सकारात्मक भए पनि श्रमजीवीहरूका लागि आफ्नै माटो–पानीमा रही श्रम र रोजगार गरी न्यायोचित अर्थोपार्जनको वातावरण मिलाउन जरुरी छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ,“नेपालको संविधानमै श्रमिक वर्गको अधिकार सुनिश्चित गरेको तथा सबै नागरिकलाई श्रम गर्ने अधिकार, न्यायोचित पारिश्रमिक, काम गर्ने सुरक्षित वातावरण र सम्मानजनक जीवनको प्रत्याभूति गरेको छ । संविधानले श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था, बालश्रम निषेध गर्दै बालबालिकाको अधिकारको सुनिश्चिततासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली श्रमिकहरुको हकहित संरक्षण र उनीहरूको क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारलाई उत्तरदायी बनाएको छ ।”उहाँले श्रमिकबारेको संवैधानिक व्यवस्थालाई सबैले अक्षरशः पालना गर्दै श्रकिमहरुको जीवनस्तर सुधार्न र अधिकार सुनिश्चित गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति यादवले श्रमिकका लागि न्यूनतम ज्याला सुनिश्चित गर्ने, समयमै पारिश्रमिक उपलब्ध गराउने तथा पेन्सन, बिमा र अन्य सामाजिक सुरक्षाका लाभहरू व्यवस्थित गर्न जरुरी रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले श्रमिकमैत्री कानुनको कार्यान्वयन, सुरक्षित कार्यस्थलको प्रबन्ध, सीप विकास कार्यक्रमहरू सञ्चालन, सुरक्षित वैदेशिक रोजगारको व्यवस्थापन, मुलुकमै पनि रोजगारीको अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीति तथा कार्यक्रमहरू लागू गर्न सबैको ध्यानाकृष्ट हुन उत्तिकै आवश्यक रहेको औँल्याउनुभयो ।
तरकारीसँगै मकै खेती
तरकारी खेतीका लागि चर्चित बाँकेको डुडुवा गाउँपालिका–६, हिरमिनियाका किसान मकै खेतीतर्फ पनि आकर्षित भएका छन् ।
प्राथमिकतामा उत्पादनमुखी बजेट
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेशको पहिलो प्राथमिकता उत्पादनमुखी बजेट निर्माण गर्नु रहेको बताउनुभएको छ ।
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यकता छः सभामुख
काठमाडौँ, वैशाख १८ गते । सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । विश्व मजदुर दिवस ९मे १० का अवसरमा शुभकामना सन्देश जारी गरी उहाँले नेपालका सम्पूर्ण श्रमिक वर्ग, श्रमिक अभियन्ता, ट्रेड युनियनलगायत सबैमा शुभकामना व्यक्त गर्दै बालश्रम, श्रमिक महिला–पुरुषबीचको असमानता, अपारदर्शी रोजगार प्रणाली, वैदेशिक रोजगारमा शोषणजस्ता समस्याले हामीलाई अझ सशक्त नीति र निगरानी संयन्त्र आवश्यक छ भन्ने कुराको सङ्केत गरेको उल्लेख गर्नुभएको छ । श्रमिक दिवस समावेशी, न्यायपूर्ण र श्रमको सम्मान हुने समाज निर्माणतर्फको हाम्रो साझा अभियानप्रतिको ऐक्यबद्धताको दिन भएको बताउँदै सभामुख घिमिरेले मजदुरको अधिकार सुनिश्चित गर्ने कानुन बने पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालको संविधानले श्रमिकका अधिकारलाई आर्थिक तथा सामाजिक न्यायको आधार मानेर संस्थागत गरेको छ । धारा ३४ मा ‘श्रमको अधिकार’ सुनिश्चित गरिएको छ, जसमा उचित पारिश्रमिक, सुरक्षित र सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षालगायतका विषयमा राज्यको स्पष्ट जिम्मेवारी तोकिएको छ ।”आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्वपूर्ण रहेको र कृषि, निर्माण, सेवा, उद्योग, पर्यटन वा वैदेशिक रोजगारलगायत क्षेत्रमा श्रमिकको पसिना र योगदानले राष्ट्रको समृद्धि सम्भव बनाउने सभामुख घिमिरेको भनाइ छ । उहाँले सन् १८८६ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनबाट सुरु भएको मजदुर दिवसले आज पनि श्रमिक हक र सम्मानपूर्ण जीवनको मागलाई विश्वव्यापी रूपमा स्मरण गराउँदै आएको उल्लेख गर्नुभएको छ । “सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्मानजनक श्रम व्यवस्थाको कामनासहित विश्व मजदुर दिवस २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।
‘श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्ने प्रेरणा मिलोस्’ : अध्यक्ष दाहाल
काठमाडौँ, वैशाख १८ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मे दिवसले सम्पूर्ण श्रमिकलाई पेसागत हक, हित र अधिकारका लागि सङ्गठित एवम् एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा २०७२ सालमा जारी सङ्घीय गणतान्त्रिक संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले संविधानको व्यवस्थामा आधारित भएर श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेका भन्दै ती कानुन र संविधानप्रदत्त हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने बताउनुभयो ।“नेपालमा श्रमजीवी जनताले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सशक्त र सशस्त्र सङ्घर्ष गरेर बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन् । किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन दिनु हुँदैन”, शुभकामना सन्देशमा भनिएको छ ।अध्यक्ष दाहालले कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । सामाजिक सुरक्षा, बिमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाका साथै कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । “जसरी हिजोका दिनहरूमा समाज परिवर्तन गर्दै जनताको राज्यसत्ता प्राप्त गर्न निरन्तर सङ्घर्ष श्रमिक वर्गले ग¥यो, जनताको बलबाट प्राप्त ती राजनीतिक परिवर्तन र उपलब्धिलाई बचाउन तथा सुदृढ गर्न श्रमिक वर्ग हमेसा सचेत रहन दिवसले प्रेरणा मिलोस् भनी कामना गर्दछु”, सन्देशमा भनिएको छ ।
ट्रेड युनियन अधिकारमा कांग्रेसको भूमिका महत्वपूर्ण छः सभापति देउवा
काठमाडौँ, वैशाख १८ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभएको छ ।अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले हाल पनि नेपालका श्रमजीवीले अनेक समस्या बेहोरिरहनु परेकाले त्यसलाई समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । “श्रमजीवी वर्गको समस्यालाई समाधान गरेर हकहितको संरक्षण र सम्वर्द्धन गर्न तथा कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेसागत मर्यादा र सम्मानका लागि कांग्रेस क्रियाशील छ । यी समस्या समाधानमा सबै लाग्नुपर्छ”, सन्देशमा उल्लेख गरिएको छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको सङ्घर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तरराष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालमा विसं १९९३ मा विराटनगर जुट मिल उद्योगको स्थापना भएपश्चात विसं २००३ मा कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार ग¥यो । त्यतिबेला जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरिएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अर्थात् विसं २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलनलाई मान्ने गरिएको छ । त्यसैले कांग्रेस र मजदुर सधैँ एक अर्कामा आबद्ध भएर एकअर्काका अनन्य सहयोगीका रूमा रहिआएको पनि सभापति देउवाले उल्लेख गर्नुभएको छ ।विसं २०१६ मा कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा, मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको उल्लेख गर्दै उहाँले नेपाली श्रमबजारको उन्नतिका लागि कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको बताउनुभयो । सभपति देउवाले श्रमिक, मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यो ऐतिहासिक दिनले सबैमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास लिँदै उहाँहरूको सुख, शान्ति र समृद्धिका लागि पुनः शुभ–कामना व्यक्त गर्नुभएको छ ।
एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, न्यूनतम पारिश्रमिककै चिन्ता
आज मे १ अर्थात् मे दिवस । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यसपालि पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड
काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिनुभएको छ । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । साथै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ । श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको उल्लेख गर्दै राष्ट्रपतिले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको बताउनुभएको छ । “मुलुकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ”, सन्देशमा उहाँले भन्नुभएको छ । राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ । विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
चार सय सतासी उद्योगमा एक खर्ब बयासी अर्ब लगानी प्रस्ताव
स्वदेशी र विदेशी लगानीमा दर्ता भएका ४८७ उद्योगमा एक खर्ब ८२ अर्ब ८७ करोड रुपियाँ लगानी प्रस्ताव आएको छ ।
हाते ट्याक्टरले पठायो हलगोरुलाई दुर्गममा
बाजुराको सुगम क्षेत्रका हलगोरुलाई हाते ट्याक्टरले विस्थापन गरेर दुर्गममा पठाएको छ । हाते ट्याक्टरको प्रयोगले सुगम ठाउँका हलगोरु पछिल्लो समय दुर्गममा बिक्री हुन थालेका छन् ।
कर्मचारीको त्रुटिपूर्ण पत्राचार, चौधरी कारागार चलान र पुनः रिहा
सर्वोच्च अदालतका एक अधिकृतको त्रुटिपूर्ण पत्राचारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी कारागार चलान भई पुनः अदालतकै पत्रले थुनामुक्त हुनुभएको छ ।
‘पिजी’ विद्यार्थी अझै असन्तुष्ट
निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पिजी) मा अध्ययनरत विद्यार्थीलाई ४८ हजार ७३७ रुपियाँ निर्वाह भत्ता दिन तयार भए पनि विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने
एक वर्षमै चार खर्ब रुपियाँले बढेर मुलुकको अर्थतन्त्रको आकार चालु आवमा ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।
जलवायु न्यायको प्रयासलाई विश्वव्यापी बनाउँदै नेपाल
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमार्फत जलवायु न्याय र जलवायु वित्त प्राप्तिका लागि निरन्तर पहल गर्ने प्रयासलाई विश्वव्यापी बनाउन लागेको प्रस्ट पार्नुभएको छ ।
अर्थतन्त्रमा ‘ब्रेक थ्रु’ होस्
सत्ता साझेदार राजनीतिक दलले अर्थतन्त्रलाई चलायमान बनाउने, ठुलै सुधार र रूपान्तरण हुने गरी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
लिलामीको जोखिममा माझी बस्ती
चौतारा साँगाचोकगडी नगरपालिका–१४, भिमटारस्थित माझी बस्ती लिलामीको जोखिममा परेको छ । माझी बस्तीमा भएको पुनर्निर्माणको ऋण तिर्न नसक्दा उक्त बस्ती लिलामीको जोखिममा परेको हो ।
आहाराको खोजीमा गाउँ पस्दैछन् हिमचितुवा
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धार्काजुङ गाउँका कृषक ङातर गुरूङको मंगलबार राति गोठमा रहेका पाँच च्याङ्ग्रा हिउँ चितुवाले मारेको छ ।
सरकार र शिक्षक महासंघबिच नौ बुँदे सहमति
नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच नौ बुँदे सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनु भएको हो ।
नीति कार्यक्रम बजेटको दिशानिर्देश हो : महासचिव पोखरेल
आर्थिक बर्ष २०८२–८३ का लागि तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय तह) नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गर्दै गर्दा नेकपा (एमाले) ले प्रदेश र स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा ध्यान दिनुपर्ने विषयमा जनप्रतिनिधिलाई दिशानिर्देश गरेको छ ।
एमाले धनुषा अधिवेशनको तयारी पूरा
मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही वैशाख २०, २१ र २२ गते हुन लागेको नेकपा (एमाले) जिल्ला कार्य समिति धनुषाको ८ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।