• १८ वैशाख २०८२, बिहिबार

हाते ट्याक्टरले पठायो हलगोरुलाई दुर्गममा

blog

हलगोरु लैजाँदै गरेका किसान । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, वैशाख १८ गते । बाजुराको सुगम क्षेत्रका हलगोरुलाई हाते ट्याक्टरले विस्थापन गरेर दुर्गममा पठाएको छ । हाते ट्याक्टरको प्रयोगले सुगम ठाउँका हलगोरु पछिल्लो समय दुर्गममा बिक्री हुन थालेका छन् ।

सडक सुविधाको पहुँचमा भएका स्थानीयले खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्न थालेपछि उनीहरूले आफूले पाल्दै आएका हलगोरु दुर्गमका स्थानीयलाई बिक्री गर्न थालेका हुन् ।

गाउँमा सडक सुविधाको पहुँच नहुँदा यहाँका स्थानीयले पाल्दै आएका हलगोरु बाजुराको मल्लो क्षेत्र तथा मुगुलगायतका विभिन्न ठाउँमा बिक्री गर्ने गरेका छन् । दुर्गम बस्तीमा पाखो तथा भिरालो जमिन भएकाले त्यसलाई जोत्न हलगोरु आवश्यक पर्ने गरेको बुढीनन्दा नगरपालिका स्थानीय नरी विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गोरुले जमिन जोत्दा डिल भिटो धार छेउछाउमा राम्रोसँग जोतिने भएकाले पनि हामीले पहिलादेखि अहिलेसम्म खेती जोत्नका लागि हलगोरु पाल्ने गरेका छौँ ।”अब वैशाख–जेठमा कोदो, मकै र असारमा धान खेती लगाउने समय भएकाले अहिले हलगोरु खरिद गर्दै गाउँमा बिक्री गर्ने गरेको विकले बताउनुभयो । 

बाजुराको बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकाका अधिकांश ठाउँमा पछिल्लो समय गोरु बिस्तारै हराउँदै गएका छन् भने जिल्लाको मल्लो क्षेत्रमा पर्ने हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दालगायतका किसानले हलगोरु पाल्ने गर्छन् । हाते ट्याक्टरले जोत्दा दुई इन्च जति जोतिन्छ । गोरुबाट कम्तीमा पनि आठ १० इन्च जमिन जोतिन्छ । यसरी जमिन जोतिएपछि खेती उत्पादन बढी हुने गरेको छ ।बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमध्ये छ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने १.९ मेट्रिक टन प्रतिहेक्टरमा धान उत्पादकत्व हुने गरेको छ ।

त्यसै गरेर यहाँ १० हजार ४६० हेक्टर जमिनमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुन्छ । धान र गहुँको तुलनामा कोदो १५ प्रतिशतले मात्र उत्पादन हुने गरेको छ । बाजुरामा वर्षभरिमा पाँच हजार २३५ हेक्टर जमिन मात्र सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख जसिराम सहनीले बताउनुभयो ।