गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १८ गते । निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पिजी) मा अध्ययनरत विद्यार्थीलाई ४८ हजार ७३७ रुपियाँ निर्वाह भत्ता दिन तयार भए पनि विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिएका छन् । मेडिकल कलेजले आठौँ तहका चिकित्सकले पाउनुपर्ने सेवा सुविधा नभएसम्म उनीहरूले आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।
आन्दोलनरत एक चिकित्सकका अनुसार ४८ हजारभन्दा बर्सौंसम्म त्यही रुपियाँमा काम गर्नुपर्ने हुन सक्छ । आठौँ तहले पाउने तलबबराबरको भत्ता लिखित रूपमा नभएसम्म आन्दोलन नरोक्ने उहाँको भनाइ छ ।
चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्नातकोत्तर तहका विद्यार्थीलाई सरकारीसरह निर्वाह भत्ता दिने निर्णय नभएपछि विद्यार्थीले आन्दोलन जारी राख्ने निर्णय गरेको बताउनुभयो ।
सरकारी स्वास्थ्य संस्थामा अध्ययनरत विद्यार्थीलाई आठौँ तहका चिकित्सकले पाउने तलब सुविधाबराबरको निर्वाह भत्ता दिने गरेको छ । निजी मेडिकल कलेजका विद्यार्थीले पनि सरकारीसरह पाउनुपर्ने माग राख्दै विगत एक महिनादेखि आन्दोलन गरिरहेका छन् । हाल निजी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको हकमा भने १९ हजारदेखि २४ हजार रुपियाँ मात्र विद्यार्थीले पाउने गर्छन् ।
सरकारले निजी मेडिकल कलेजमा सरकारीसरह ४८ हजार ७३७ रुपियाँ उपलब्ध गराउने निर्णय गरेको भए पनि हालसम्म उक्त रकम नपाएको विद्यार्थीको गुनासो छ । निजी मेडिकल कलेजको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले सरकारले पिजीका विद्यार्थीलाई ४८ हजार दिने सहमति भइसकेको बताउनुभयो । मागमाथि माग थोपर्दै जानु विद्यार्थीले राजनीति गर्न खोजेको उहाँको आरोप छ ।