• १८ वैशाख २०८२, बिहिबार

प्राथमिकतामा उत्पादनमुखी बजेट

blog

मकवानपुरगढी समाचारदाता

मकवानपुरगढी, वैशाख १८ गते । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेशको पहिलो प्राथमिकता उत्पादनमुखी बजेट निर्माण गर्नु रहेको बताउनुभएको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालय बागमतीको आयोजनामा बुधबार भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी स्थानीय सरकारसँगको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री काफ्लेले स्थानीय सरकार र प्रदेश सरकारबिचको तालमेल नमिल्दा बजेटको सही सदुपयोग नभएकाले दुवै सरकारको प्राथमिकता एकै हुनुपर्ने बताउनुभएको हो । 

उहाँले आगामी बजेटले प्रदेशमा रहेका अलपत्र योजनालाई निर्माण प्रक्रियामा लैजान सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । सरकारले आगामी बजेटको प्राथमिकतामा त्यसतर्फ काम गर्ने विश्वास दिलाउनुभयो  । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले आगामी बजेटलाई स्थानीय सरकारमैत्री बनाउन प्रदेश सरकारले जोड दिने बताउनुभयो । सरकारले आगामी नीति तथा योजनामा परियोजना बैङ्क अवधारणालाई लागु गरेर अघि बढ्ने उहाँले बताउनुभयो । 

निर्माण सम्पन्न भएका तर अलपत्र रहेका योजनालाई आगामी बजेटले सम्बोधन गर्ने उहाँले बताउनुभएको छ । प्रदेश सरकारले मुख्यतया शिक्षा, स्वास्थ्य तथा कृषि आयोजनालाई समेटेर अघि बढ्ने उहाँले बताउनुभयो । 

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आगामी नीति योजनामा बागमती प्रदेश सरकारले प्रशासनिक भवन निर्माणमा जोड दिनुपर्ने कुरामा गम्भीर ध्यानाकर्षण गराउनुभयो । करिब आठ वर्षअघि स्थानीय सरकारले जग्गा उपलब्ध गराइसकेको तर हालसम्म पनि प्रदेश सरकारले भवन निर्माण गर्न नसकेकोमा त्यसलाई गम्भीरतापूर्वक ध्यानमा राखी सरकार सञ्चालन गर्न उहाँले सुझाउनुभएको थियो ।