गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ११ गते । सामुदायिक रेडियो प्रसारक संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र सञ्चारिका समुहले समावेशीकरणको मुद्दामा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई वधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा तीन संस्थाका पादाधिकारीहरुले साझा मुद्दामा सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाएका हुन् ।
समावेशीकरणको विषयलाई अघि बढाउने प्रतिवद्धता जनाउँदै संस्थाका अध्यक्षहरुले पत्रकारका हकहित, समानुपातिक समावेशीकरण र भाषिक विषयमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । सीआईएनको १७ औं स्थापना दिवसको सन्दर्भमा पनि सीआईएनले समेट्नु पर्ने विषयमा बक्ताहरुले आफ्नो विचार राख्दा महत्वपूर्ण सुझाव दिनुभएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले नेपालका सामुदायिक रेडियोले भाषा र संस्कृतिको प्रचार–प्रसारमा राम्रो योगदान पुगाएको भन्दै समानुपातिक समावेशीकरण र आदिबासी पत्रकारको हकहित तथा समग्र पत्रकारिताको हकहितमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भाषा र समावेशीकरणको मुद्दामा आफूहरु अकोराबसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले पत्रकारितामा महिला पत्रकारको प्रवेश गराउन सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेलेको तर टिकाउने चुनौती रहेको बताउनुभयो । महिलाको सवालमा अकोराबसँग सँगसँगै अघि बढ्दा अभियान सफल हुने पन्थीले बताउनुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले महिलाको सवाल र आदिवासी जनजातीको सवाल नै सामुदायिक रेडियोले उठाउने महत्वपूर्ण सवाल भएकाले संघ फोनिज र सञ्चारिकासँग सहकार्य गरेर अघि बढिरहेको र आगामी दिनमा थप योजनाबद्ध रुपले अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा संघका अध्यक्ष गिरीले नवनिर्वाचित फोनिजका अध्यक्षसहित पदाधिकारी र सदस्यहरु, सञ्चारिकाका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई अकोरावको कार्यालयमा स्वागत गर्दै बधाई ज्ञापन गर्नुभयो । कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै साझा मुद्दामा सदैव सहकार्य गरी अघि बढ्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।