• ३ असार २०८२, मङ्गलबार

युवाको सक्रियता र नीति निर्माणमा बहस

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला

काठमाडौं, असार २ गते । उद्यमशील कांग्रेसको आयोजनामा  ‘देशको अर्थतन्त्र र अगाडि बढ्ने बाटो’ विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला प्रमुख वक्ताको रूपमा सहभागी भई अर्थशास्त्रीहरुसँग प्रत्यक्ष संवाद गर्नुभयो । 

देशको वर्तमान राजनीतिक अवस्था र आर्थिक स्थितिबारे चासो राख्दै अर्थशास्त्रीहरुसँग संवाद गरिएको थियो । कार्यक्रमको मूल उद्देश्य डा. कोइरालासँग अर्थनीति, बेरोजगारी, उद्यमशीलता र देशको आर्थिक भविष्यबारे विचार आदान–प्रदान गर्नु थियो। सहभागी युवा, विशेषज्ञ, नीति विश्लेषक, योजना आयोगका पूर्व पदाधिकारी, पत्रकार तथा प्रशासनिक अनुभव बोकेका व्यक्तिहरूले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरे।

नेता कोइरालासँग सहभागीहरूले देशको अर्थतन्त्र सुदृढ गर्न युवाको भूमिका कस्तो हुनुपर्छ ?, रोजगारी सिर्जना कसरी गर्न सकिन्छ ? नीतिगत सुधारका लागि प्राथमिकता के के हुन सक्छन् , भन्ने कुराहरूको गहन प्रश्न उठाएका थिए । सहभागीहरूको उत्तर  सुन्दै  उहाँले  भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, व्यावसायिक शिक्षा, लगानीमैत्री वातावरण र स्टार्टअप प्रवर्द्धनका मुद्दामा जोड दिनुभयो । 

 उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाको अध्यक्षता रहेको कार्यक्रममा काङ्ग्रेस निकट विज्ञ व्यक्तित्व र अर्थशास्त्रीहरुको उपस्थिति रह्यो । 

कार्यक्रममा राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल र डा. पुष्पराज कँडेल, नेपाल सरकार पूर्व सचिव डा. विष्णुप्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. चित्रबहादुर अधिकारी, संविधानविद् तथा प्राध्यापक डा. विपिन अधिकारी, नेपाली कांग्रेसको नीति तथा योजना विभागका प्रतिनिधि प्रा डा नयनराज ढुंगाना, वरिष्ठ नीति विश्लेषक डा. रिम थापालगायतका व्यक्तिहरुको उपस्थिति रह्यो ।

अध्यक्ष अस्मिन सिटौलाले यो संवाद आफूहरुका लागि प्रेरणादायी रहेको बताउनु भयो ।