शिक्षाको दुनियाँमा जेनेरेटिभ एआई जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) उपकरणको आगमनले शिक्षालाई एक नयाँ मोडतर्फ लैजाँदै छ । यसले व्यक्तिगत रूपमा सिकाइलाई सजिलो बनाउने, फरक फरक विद्यार्थीको आवश्यकतालाई बुझेर समर्थन गर्ने सम्भावना देखाएको छ तर यति तीव्र रूपमा भित्रिएको यो प्रविधिले शिक्षकलाई गम्भीर चुनौतीको सामना गराइरहेको छ । धेरै शिक्षक अझै पनि यस प्रविधिबारे राम्रो जानकारी नभएको, आवश्यक तालिम नपाएको र संस्थागत सहायताको गम्भीर अभावमा रहेका बताउँछन् ।
शिक्षकमा दबाब र अन्योल
शिक्षकमा अहिलेको मुख्य चिन्ता भनेको एआईप्रति पूर्ण जानकारी नहुनु र यसलाई आफ्नो शिक्षण पद्धतिमा कसरी प्रयोग गर्ने भन्ने अन्योलताका कारण बढ्दो मानसिक दबाब हो । प्रविधि द्रुत रूपमा विकास भइरहेका बेला अद्यावधिक भइरहनु उनीहरूका लागि निकै कठिन काम बनेको छ । काठमाडौँको एक कलेजमा गरिएको एउटा अध्ययनले केही ठुला चुनौती उजागर गरेको छ । जस्तै एआईसम्बन्धी जानकारी अद्यावधिक गर्ने कुनै जिम्मेवार व्यक्ति वा समूह नभएकाले शिक्षकले व्यक्तिगत प्रयासमा भर पर्नु परेको छ । एआई तालिमका लागि शिक्षकहरूले कुनै बजेट वा अनुदान पाएका छैनन् । विद्यार्थीका लागि केही निर्देशन भए पनि शिक्षकले एआईलाई आफ्नो शिक्षणमा कसरी जिम्मेवारीपूर्वक प्रयोग गर्ने भन्नेबारे कुनै स्पष्ट मार्गदर्शन पाएका छैनन् । यसले शिक्षक र विद्यार्थीबिच ज्ञानको ठुलो अन्तर सिर्जना गर्ने खतरा बोकेको छ । शिक्षकहरू प्रविधिमा पछाडि परे भने कक्षाकोठामा शृङ्खला कायम राख्न गाह्रो हुन सक्छ, किनभने विद्यार्थी छिट्टै नयाँ उपकरणहरू प्रयोग गर्न सक्षम हुन्छन् ।
विद्यार्थीको गलत प्रयोग
शिक्षक र विद्यार्थी दुवैले एआई प्रविधिको सीमितता र सम्भावित खतरा बुझ्नुपर्ने हुन्छ । कहिलेकाहीँ एआईले सत्यजस्तो लाग्ने तर गलत जानकारी दिन सक्छ भने निर्देश अनुसार नचल्ने एआईको सम्भावना रहन्छ । यस्तै सैद्धान्तिक रूपमा नियन्त्रणबाहिर गएर एआईले अनपेक्षित निर्णय लिने अवस्था आउन सक्छ । गलत वा सीमित डेटा प्रयोगले गर्दा कमजोर समूहप्रति यसले विभेद गर्न सक्ने हुन्छ । एउटै सोचमा सीमित भएर फराकिलो दृष्टिकोण गुमाउनु अवस्था रहन्छ । यससँगै, विद्यार्थीले एआईको अत्यधिक र जथाभाी प्रयोग गर्ने डर पनि उत्तिकै छ । एआईले सजिलो तरिकाले जवाफ दिने भएकाले विद्यार्थी आफैँ सोच्न र सिक्न चाहँदैनन्, जसले शिक्षाको गुणस्तर र मौलिकता दुवैमा असर पु¥याउँछ ।
समाधानका तीन स्तम्भीय रणनीति
यी समस्या समाधान गर्नको लागि तीन वटा मुख्य सिप विकास गर्न आवश्यक छ । पहिलो एआई साक्षरता आवश्यक छ । शिक्षक र विद्यार्थी दुवैले एआई प्रविधिको काम गर्ने तरिका, यसको सामाजिक र नैतिक प्रभाव बुझ्नु पर्छ । केवल प्रयोग मात्र होइन, यसको बनावट र सम्भावित जोखिमबारे पनि सचेत हुनु जरुरी छ । दोस्रो प्रम्प्ट इन्जिनियरिङ एआईलाई कसरी सोध्ने भन्ने रणनीति सिक्नु पर्छ । राम्रो प्रम्प्टले एआईबाट सटिक र उपयोगी जवाफ निकाल्न सहयोग गर्छ । जेरो सट, फिउ सट, चेन अफ ठट, सेल्फ कनसिस्टेन्सी जस्ता तरिकाको प्रयोग सिकिनु पर्छ । तेस्रो आलोचनात्मक सोच राख्नु पर्छ । विद्यार्थी र शिक्षक दुवैले तथ्यहरू परीक्षण गर्ने, विभिन्न दृष्टिकोण मूल्याङ्कन गर्ने र तार्किक सोच विकास गर्ने क्षमता बढाउनु पर्छ । एआईलाई विचारपूर्ण छलफलको माध्यम बनाउनु आवश्यक छ ।
शिक्षामा ‘एआई’ संस्कृति
यी चुनौतीको दीर्घकालीन समाधान भनेको शिक्षामा एआई संस्कृति विकास गर्नु हो । एआईका आधारभूत सिद्धान्त, नैतिकता र प्रयोगलाई सबै कक्षामा समावेश गर्ने । नियमित वर्कशप, सेमिनार र सूचना सत्रमार्फत शिक्षकलाई अपडेट राख्ने । तालिमका लागि बजेट छुट्याउनु पर्छ । शिक्षकको सिप विकासमा लगानी गर्न कोषको व्यवस्था गर्ने । यस्तै शैक्षिक संस्थामा एआईसम्बन्धी मार्गदर्शन गर्न विशेषज्ञ राख्नु पर्छ । सबै विषयमा एआईको समावेशी प्रयोग गरिनु पर्छ । एआईप्रति सामान्य बानी र ज्ञान विकासका लागि प्रत्येक विषयमा प्रयोगलाई प्रोत्साहन गर्ने ।
यसै गरी शिक्षकका लागि स्पष्ट दिशानिर्देश हुनु पर्छ । विद्यार्थी जस्तै शिक्षकका लागि पनि जिम्मेवार प्रयोगका लागि निर्देशन बनाउनु पर्छ । सहकार्यमा आधारित शिक्षण विधि बनाएर विद्यार्थी र शिक्षक मिलेर एआई प्रयोग गर्न सिक्ने वातावरण बनाउनु जरुरी छ । समस्या समाधानका खुला मञ्चका रूपमा एआईसँग सम्बन्धित समस्या, सुझाव र प्रयोगबारे छलफल गर्न खुला प्लेटफर्म बनाउन उपयुक्त हुन्छ । नैतिकता र केस स्टडीमा जोड दिएर वास्तविक जीवनका केसबाट एआई प्रयोगका नैतिक पक्ष बुझाउने गर्नु पर्छ । शिक्षामा एआईको सम्भावना अपार छ तर यसलाई जिम्मेवारीपूर्वक र प्रभावकारी रूपमा उपयोग गर्नका लागि शिक्षकलाई निरन्तर, गहन र बहुआयामिक तालिम आवश्यक छ । एआईको प्रयोग केवल सुविधा होइन, शिक्षाको नैतिकता, समान पहुँच र गहिरो सोचलाई प्रवर्धन गर्ने एक अवसर पनि हो । जसलाई हामीले सदुपयोग गर्न जान्नु पर्छ ।