रामकृष्ण बोहरा
बागलुङ, साउन १५ गते । जिल्ला अदालत बागलुङले आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ६६ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो वर्षमा नौ सय १८ मुद्दा रहेकोमा ६ सय ४८ वटा फर्छ्यौट भएका थिए । पछिल्लो वर्ष फर्छ्यौट सङ्ख्या १८ ले बढी हो । अघिल्लो वर्ष पनि नौ सय १७ मुद्दाको लक्ष्य थियो । आर्थिक वर्षको अन्त्यमा आइपुग्दा दुई सय ५१ मुद्दा बाँकी रहेका थिए ।
अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालका अनुसार, सम्बन्ध विच्छेदका २ सय ८५, अंश मानचामल र सम्बन्ध विच्छेदका २६ वटा र वैवाहिक सम्बन्ध अन्त्य गरेका ३१ मुद्दा फर्छ्यौट भएका हुन् । त्यस बाहेक जबरजस्ती करणीका मुद्दा २४ वटा फैसला भएको जनाइएको छ ।
गतवर्ष जबरजस्ती करणीका मुद्दा भने ३७ वटा परेका थिए । छुट्टै अंशको १९ र मानाचामलका १४ मुद्दा पनि फर्छ्यौट भएको अर्यालले जानकारी दिनुभयो । लेनदेनको ४५, चेक अनादर २९ र बैंकिङ कसुरका १९ मुद्दा फर्छ्यौट भएका हुन् । झुटा विवरण दिएर नागरिकता दिएको सङ्ख्या बढेको छ । मुद्दामा आएका २१ मध्ये १९ मुद्दा फर्छ्यौट भएका छन् । लागूऔषधसम्बन्धी १५ वटा मुद्दामा ११ फैसला भएका छन् भने कर्तव्य ज्यानसम्बन्धी २४ मुद्दामा १३ फर्छ्यौट भएका छन् । यो समयमा बहुविवाहका १३ मुद्दा दर्ता भएकोमा ५ वटा फैसला भएका छन् ।
अदालतमा एक वर्ष काटेका मुद्दा नराख्ने लक्ष्यले कार्यालय खुलेको दिन अधिकतम् १२ वटासम्म मुद्दाको पेशी चढ्ने गरेको छ । पाँच सयभन्दा बढी मुद्दा आउने अदालतमा दुइ जनासम्म न्यायाधिस राख्ने प्रावधान भएपनि यहाँ एकजना मात्रै न्यायाधिस हुँदा मुद्दा फैसलामा केही असहज भएको स्रेस्तेदार विश्वनाथ अर्यालले बताउनुभयो ।
एक वर्षदेखि जिल्ला अदालत बागलुङले स्वचालित पेशी शुरु गरेको छ । यसअघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीले तारेख, पेशी लगायतका सबै क्रियाकलापमा समय तोक्ने गरेका थिए । यो पद्धतीले हरेक दिन कति मुद्दा हेर्ने, ती मुद्दा कुन इजलासमा राख्ने र कुन समयमा रहने भन्ने समेत स्वचालितले तोक्ने छ ।
बागलुङ जिल्ला अदालतमा एक मात्र इजलास भएकोले यहाँ मुद्दा दिनभरमा कतिबेला हेर्ने भन्ने मात्र हुनेछ भने दुइ वा दुइभन्दा बढी इजलास भएको अदालतमा कुन मुद्दा कुन इजलासमा रहने, एक दिनमा कुन कुन मुद्दा बर्णानुक्रम वा अन्य क्रम अनुसार रहने भन्ने उक्त पद्धतीले फैसला गर्नेछ ।