रमेश विश्वकर्मा
गुल्मी, सााउन १५ गते । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट विद्यालयका रुपमा परिचित गुल्मीका तीन विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) प्रदान गरिएको छ । यस जिल्लामा शैक्षिक गुणस्तरमा अब्बल रहेका सदरमुकाम तम्घासस्थित तीन सामुदायिक विद्यालयलाई अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्रदान गरिएको हो । गुणस्तर चिन्ह प्राप्त गर्न विद्यालयमा आधारभूत पक्ष राम्रो भए पुग्ने बताइएको छ ।
ग्लोबल क्वालिटी काउन्सिलले दिएका सूचकमध्ये करिब ५० प्रतिशत सूचकमा काम भए विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्रदान गरिन्छ । यस जिल्लामा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) प्राप्त गर्ने पहिलो विद्यालयको रुपमा तम्घासको खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालय रहेको छ । यस विद्यालयले गत चैत महिनामा अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेको थियो । काउन्सिलले दिएका विद्यालय सुधारका विभिन्न ५० सूचकमध्ये यस विद्यालयले २० वटा सूचकमा काम गरेको थियो । ग्लोबल क्वालिटी काउन्सिल काठमाण्डौले गुल्मी क्षेत्र नम्बर– १ का सांसद डा. चन्द्र भण्डारीमार्फत विद्यालयलाई सो चिन्ह प्रदान गरेको थियो ।
दोस्रो विद्यालयको रुपमा तम्घासकै रेसुङ्गा माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान गरिएको थियो । गत जेठ महिनामा यस विद्यालयलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी मार्फत ग्लोबल क्वालिटी काउन्सिल काठमाण्डौले चिन्ह प्रदान गरेको थियो । यस विद्यालयले विभिन्न ५१ सूचकमध्ये करिब ५० प्रतिशत सूचकमा काम गरेको थियो । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने जिल्लाकै तेस्रो विद्यालयको रुपमा तम्घासकै महेन्द्र माध्यमिक विद्यालय बनेको छ । विद्यालय सुधारका विभिन्न ५२ सूचकमध्ये करिब ५० प्रतिशत सूचकमा काम भएपछि यस विद्यालयलाई चिन्ह प्रदान गरिएको हो । ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदिप शर्माले रेसुङ्गा नगरपालिकाकी उप–प्रमुख अमृतादेवी कुँवरको रोहवरमा विद्यालयलाई आइएसओ चिन्ह प्रदान गरिएको बताइएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेसँगै अझै नवीनतम काम गर्न आवश्यक रहेको भन्दै सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले विद्यालयको भौतिक सुधारसँगै शिक्षण सिकाइ क्रियाकलाप र रिजल्टसँग सम्बन्धित रहेको बाउनुभयो । अन्तर्राष्ट्रिय गुणस्तर भएको प्रमाणपत्र प्राप्त गर्न अझै महत्त्वपूर्ण सूचक पुरा गर्नुपर्ने भएकाले आफूहरू गम्भीर भएर विद्यालय सुधारको पक्षमा काम गर्ने उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्यसँगै स्थानीय तहमा समेत काउन्सिलले काम गरिरहेको छ । अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्हले कामको प्रारम्भ मात्रै हुने भएकाले ८० प्रतिशत सूचक पुरा भएपछि अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्रदान गरिएका विद्यालयलाई प्रमाण–पत्र उपलब्ध गराइनेछ ।
बाँकी सूचकहरु विद्यालयले तीन महिनादेखि एक वर्षसम्म पुरा गर्न सक्छ । उक्त समयमा विद्यालयले विद्यालयको भौतिक पक्षलाई व्यवस्थित गर्ने, पाले रुम बनाउने, शिक्षकलाई तालिम दिने र दक्ष बनाउने, व्यवस्थापन समितिलाई क्षमतावान बनाउने, मानव स्रोत विकास गर्ने, प्रधानाध्यापकलाई प्रशासनिक झन्झट मुक्त गराई विद्यालयको समग्र विकासमा लगाउने लगायतका सूचक पूरा गर्नुपर्ने ग्लोबल क्वालिटी काउन्सिलले जनाएको छ ।
लोगो प्राप्त गर्नको लागि विद्यालयको सरसफाई, अग्नि सुरक्षा, प्राथमिक स्वास्थ्य सामग्री, गेट व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, संस्थाको लोगो प्रदर्शन, गुणस्तरको नीति र उदेश्य, मानव स्रोत व्यवस्थापन नीति, आपतकालिन सम्पर्क नम्बर सार्वजनिक, गुणस्तरीय पाठ योजना तथा सामग्री निर्माण लगायतका सूचकहरु निर्धारण गरिएको छ । त्यसैगरी सफा खानेपानी, कार्यालय व्यवस्थापन, कम्तिमा पाँच सय विद्यार्थी संख्या, विद्यालय आउनेको अभिलेख, विद्यालयको गुणस्तर नीति, विभागिय नीतिहरु, विद्यालय पोशाख लगायतका सूचकहरुमा काउन्सिलले अनुगमन गर्ने महेन्द्र माध्यमिक विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीले जानकारी दिनुभयो ।