काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु
काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
सिद्धबाबा सुरुङमार्ग ‘एक सय दिनमै छिचोलिने छ’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणको काम सरकारको पहिलो प्राथमिकतामा रहेकाले अब निर्माणको काम तीव्र रूपमा अघि बढ्ने बताउनुभएको छ । मन्त्री दाहालले पुराना आयोजनाको भुक्तानीको काम छिटै सम्पन्न गरी अर्को महिनादेखि विकास निर्माणको काम सुरु हुने बताउनुभयो । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले पुराना योजनाको भुक्तानीमा केही ढिलाइ भएको उल्लेख गर्दै सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि पहल गरिरहेको उल्लेख गर्नुभयो ।
तिज गीत गाउन तिवारी आमालाई भ्याइनभ्याइ
तिज पर्व नजिकिएसँगै रामपुर–५ की लक्ष्मी तिवारी (तिवारी आमा) को व्यस्तता बढेको छ । ६५ वर्षीय तिवारी आमालाई तिज कार्यक्रममा पुगेर गीत गाउन भ्याइनभ्याइ छ । परम्परागत भाका र शैलीमा समसामयिक विषयवस्तु टिपेर तिज गीत गाउने खुबी भएकी तिवारी आमालाई विभिन्न समूहले बोलाउने गरेका छन् । अहिलेको राजनीतिक तथा सामाजिक अवस्थालाई टपक्कै टिपेर गीतमा उन्न सक्ने क्षमता तिवारी आमामा छ । उहाँलाई पाल्पा, रुपन्देही, गुल्मी, स्याङ्जा, नवलपरासीसम्मबाट तिज गीत गाउन निम्तो आउने गरेको छ ।
द्रुत गस्ती निरीक्षण टोली गठन
अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने गरी मन्त्रालयले टोली गठन गरेको जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्ने मन्त्रालयले जनाएको छ ।
नेपाली कांग्रेस चुनावी गठबन्धनको विपक्षमा, एमालेसँगको सहमति कार्यान्वयन गर्ने
नेपाली कांग्रेसले आवधिक निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एकल बहुमत ल्याउने गरी प्रतिस्पर्धामा उत्रिने सामर्थ्य निर्माण गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २३ गते सुरु भई आइतबार सम्पन्न बैठकले २०८० फागुन ७ देखि १० गतेसम्म चलेको महासमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको निर्वाचनपूर्व गठबन्धन वा तालमेल नगर्ने प्रस्ताव पारित गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्तावलाई महासमितिको बैठकमा प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिको बैठकमा परिमार्जनसहित प्रस्तुत गरिएको थियो ।
इन्दुशङ्करको चिनी गोदाम सिलबन्दी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्दुशङ्कर चिनी उद्योगको चिनी गोदामलाई सिलबन्दी गरेको छ । विभागको अनुगमन टोलीले सो उद्योगको अनुगमन गर्ने क्रममा चिनीका बोरामा फरक फरक अधिकतम खुद्रा मूल्य लेखेको देखिएपछि चिनी उद्योगको चिनी गोदामलाई सिलबन्दी गरेको हो ।
सङ्कटमा चौँरीपालन
सिन्धुपाल्चोकमा चौँरी तथा याकपालन पेसा सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव र नयाँ पुस्ताको रोजाइमा नपरेका कारण चौँरीपालन पेसा सङ्कटमा परेको हो । जुगल गाउँपालिका–३, तेम्बाथान, दिपु, तेगा, बाह्रबिसे नगरपालिका–३ को शीरभेग धार्पाखानी, बालुवा, शमशेरडाँडा, हेलम्बु गापाको माथिल्लो भेग नेखर्क छयादी र पाँचपोखरी थाङपाल गापाको हिमाली क्षेत्रमा चौँरी तथा याकपालन हुँदै आएको छ । सिन्धुपाल्चोकभर मुस्किलले ३१ जना किसान चौँरीपालन पेसामा रहेका छन् ।
सहकारीपीडितको प्रदर्शनले यातायात अस्तव्यस्त, के थियो सहमति ?
सङ्घीय, प्रदेश र स्थानीय तहमा दर्ता भएका विभिन्न सहकारी संस्थामा रहेको बचत रकम दुरुपयोगका सन्दर्भमा छानबिन र बचत फिर्ताको माग गर्दै सहकारीपीडितले काठमाडौँमा प्रदर्शन गरेका छन् । सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने, राज्यले सहकारी संस्थाको आर्थिक अपचलन गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने, सहकारीका अनुगमन संयन्त्र प्रभावकारी बनाउनुपर्ने र राज्यसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग राखेर पीडितले प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घसहित २५० भन्दा धेरै सहकारीपीडितका सङ्घ संस्थाले १०१ दिनदेखि धर्ना र रिले अनशन गरिरहेका छन् । सहकारीपीडितले धर्ना सुरु भएको आइतबार १०१ दिन पुग्दा पनि राज्यले माग पूरा नगरेपछि प्रदर्शन गरेको बताएका छन् ।
बारले बल्झायो नियमावली संशोधनको विवाद
संवैधानिक व्यवस्थाविपरीत न्याय परिषद् नियमावली संशोधन भएको भन्दै बदरको माग गर्दै नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना दिएको छ । बारको धर्नाका कारण आइतबार तय भएको परिषद् बैठक बस्न सकेन । नियमावली संशोधन रद्द नगरेसम्म आन्दोलन जारी राख्ने बारले जनाएको छ । २०८० असोज १ गते संशोधन भएको नियमावलीको व्यवस्था संविधान र प्रत्यायोजित विधायनविपरीत भएको भन्दै बारले विरोध जनाउँदै आएको छ । पछिल्लो पटक भने बारले चरणबद्ध आन्दोलन नै घोषणा गरेको हो । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले नियमावली संशोधनका विषयमा पटक पटकको ध्यानाकर्षणलाई बेवास्ता गरेकाले धर्ना दिएको बताउनुभयो । घिमिरेले चरणबद्ध रूपमा सेवाग्राहीलाई मर्का नपर्ने गरी सम्पूर्ण बार एकाइले आन्दोलनका कार्यव्रmम अघि बढाउने पनि जानकारी दिनुभयो ।
प्रहरीमा तिसबर्से अवकाश : एकै दिन छयासी जनाको बिदाइ
सुरक्षा निकायमा ३० बर्से अवधि र उमेरहदका कारण ठुलो सङ्ख्यामा उच्च तहका प्रहरी अधिकारीले आइतबार बिदा पाउनुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायका नियमावलीमा रहेको प्रावधान मूल ऐनभन्दा भिन्न रहेको र अवकाशको पत्र कार्यान्वयन नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको भए पनि त्यस्तो आदेश नआएपछि आइतबार ८६ जना प्रहरी अधिकृतले अवकाश पाउनुभएको हो । सोही प्रावधानका कारण नेपाल प्रहरीका थप उच्च अधिकारी पनि अवकाशमा जाँदै हुनुहुन्छ ।
भावर बने सहर, इजर बने उजाड
इजरिया भावरिया काँधमा बौसिया कर्महारा गरिबको मन भने हौसिया ! कुनै बेला पहाडमा कोदालो (‘इजरिया’ बौँसो) ले पाखोबारी खन्दा पनि वर्ष दिन खान नपुग्ने गरिब घरपरिवार तराई (भावर) झर्थे । पछिल्लो समय भावर बसाइँ सर्नेमा मध्यम वर्गदेखि नेता, जनप्रतिनिधि र निजामती कर्मचारीको सङ्ख्या बढेको छ । पहाडका इजर (पाखोबारी) भने बाँझो हुँदै गएका छन् । बसाइँसराइका कारण पहाडी जिल्ला बैतडीको जनसङ्ख्या हरेक वर्ष ऋणात्मक हुँदै गएको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको थियो । २०७८ को जनगणना हुँदा छ हजार ४९८ जनसङ्ख्या घटेर दुई लाख ४४ हजार चार सयमा झरेको छ । तथ्याङ्क अनुसार पहाडी जिल्ला बैतडीको वार्षिक जनसङ्ख्याको ह्रास दर ऋणात्मक (–०.२५ प्रतिशत) छ ।
समिट एयरले पहाडी जिल्लामा उडान नियमित गर्ने
समिट एयरले सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा भोलिदेखि उडान नियमित गर्ने भएको छ । सो एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान नियमित गर्ने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।
सरकारी सञ्चारमाध्यमहरू आर्थिक रूपमा आफैँ सक्षम हुनुपर्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरू आर्थिक रूपमा आफैँ सक्षम हुनुपर्ने बताउनुभएको छ ।
पोषण कार्यक्रमलाई तीन अर्ब ६७ करोड अनुदान
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।
छोराको सम्झनामा खानेपानीको धारा निर्माण
बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पतीले छोराको स्मृतिमा पिउने पानीको धारा निर्माण गरेका छन् । ज्येष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औँ दिनको पुण्यतिथिको सन्दर्भ पारेर आइतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
मौसम खराब हुँदा उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। निरन्तरताको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
बलात्कार आरोपमा तीन पक्राउ
सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवा पक्राउ परेका छन् । युवतीले शनिबार जिल्ला प्रहरीमा जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।
एक महिनामा पौने दुई करोड राजस्व सङ्कलन
मधेश प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले एक महिनामा पौने दुई करोड राजस्व सङ्कलन गरेका छन् ।
चन्द्र नहरमा डुबेर एकको मृत्यु
सप्तरीको सप्तकोशी नगरपालिका–११ का ५५ वर्षीय कर्णबहादुर तामाङको आइतबार चन्द्र नहरको पानीमा डुबेर मृत्यु भएको छ।
गल्याङ प्रिमियर लिग क्रिकेट : प्ले अफको समीकरण पुरा
स्याङ्जाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को प्ले अफ समीकरण पुरा भएको छ। गल्याङ क्रिकेट सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा गल्याङ ब्लास्टर, गल्याङ ईगल, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाइटेड प्ले अफमा पुगेका हुन् ।
सप्तरीका तीन स्थानीय तहले ल्याउन सकेनन् बजेट
सप्तरीको १८ स्थानीय तहमध्ये तीन पालिकाले तोकिएको समयमा बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।
दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते
ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् ।
अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा
पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ । यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जलक्षेत्रमा चिनियाँ नौसैनिक प्रवेश गरेको भन्दै जापानको चासो
चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै यसप्रति जापानले कडा चिन्ता र विरोध व्यक्त गरेको छ। आफ्नो हवाई क्षेत्रमा चिनियाँ सैन्य विमान पठाएको जापानले आरोप लगाएको केही दिनपछि शनिबार चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानले विरोध जनाएको हो।