• २० चैत २०८१, बुधबार

नयाँ संवत्सर सुरु

blog

काठमाडौँ, चैत १८ गते । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर सुरु हुन्छ । आइतवार बिहानदेखि ‘सिद्धार्थी’ नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सिद्धार्थी नामको संवत्सर ६० संवत्सरमध्ये ५३ औँ संवत्सर हो । शनिबारसम्म ५२ औँ कालयुक्त नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिन जुन संवत्सरले भेट्छ, वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सर उच्चारण गरिन्छ । त्यसअनुसार आइतबारदेखि धार्मिक कर्ममा सङ्कल्प गर्दा सिद्धार्थी नामक संवत्सरको उच्चारण हुन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँसीसम्म जारी रहन्छ । यो वर्ष सिद्धार्थी नाम गरेको संवत्सर रहेकाले सबै काम सिद्धि हुने फल रहेको जनाइएको छ । यस्तो फल ‘बृहत्संहिता’ नामक ज्योतिषशास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।  

ब्रह्मपुराणले चैत्र शुक्ल प्रतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाटै सृष्टि गरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चन्द्रमासका आधारमा चैत्र शुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चन्द्रमास अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर सुरु हुन्छ ।  

विक्रमादित्यका नामबाट चलेको विक्रम संवत्मा सौरमासका आधारमा वैशाखदेखि वर्ष सुरु हुन्छ । यो दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ ।  ब्रह्मा र ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि सुरु गरिएको हो । विभिन्न रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा सुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ ।

सिद्धान्तशिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गर्नुभएको छ । यसबेला चिसो कम हुँदै जाने भएकाले प्राकृतिक रूपमा पनि वसन्त ऋतुदेखि नयाँ संवत्सर आरम्भ भएको विश्वास गरिन्छ ।