• १ असार २०८२, आइतबार

थाकल बेचेरै पालिएका छन् परिवार

blog

नवलपुर, असार १ गते । उमेर ६० को हाराहारी पुग्न थालिसक्यो । श्रीमान् काम गर्न सक्नुहुन्न । छोराछोरी सानै छन् । खाने मुख नौ वटा छन् । घर बस्यो ज्यान पाल्नै मुस्किल । त्यसैले नवलपुरको मध्यविन्दु नगरपालिका–८ की मिठु परियार उज्यालो हुनेबित्तिकै चोरमारा जङ्गलतिर लाग्नुहुन्छ ।

बिहानभरि जङ्गलमा थाकल (जङ्गली फल) खोज्ने अनि पूर्वपश्चिम राजमार्गको चोरमारा खण्डमा उभिएर यात्रु र सवारीचालकलाई यो फल बेचेर जीविकोपार्जन गर्नु उहाँको दैनिकी हो । 

“रोजगारी केही छैन । सात जना छोराछोरी छन् । किताबकापी किन्न पनि गाह्रो छ । कोही स्कुल जान्छन् । सबैलाई स्कुल पठाउन पनि सकिएको छैन,” साँझपख घाम अस्ताउनै लाग्दा जङ्गलछेउमा भेटिनुभएकी मिठुले थकित हुँदै भन्नुभयो, “यति नगरे त बेलुका हातमुख जोड्नै मुस्किल हुन्छ ।” 

स्कुल नजाने छोरीहरूले भने कहिलेकाहीँ थाकल खोज्न सहयोग गर्ने गरेको मिठुले सुनाउनुभयो । “कहिलेकाहीँ बिहान छोरीहरूलाई थाकल टिप्न जङ्गल पठाउँछु र म आएर बेच्ने गर्छु । सधैँ एक्लै पठाउँदा पनि जङ्गली जनावरको डर हुन्छ,” उहाँले भन्नुभयो, “आज त जम्मा साढे तीन सय रुपियाँ मात्र कमाइ भएको छ । यति पैसाले के गरी घर खर्च चलाउने ?” धेरै कमाइ हुँदा एक हजार रुपियाँसम्म भएको उहाँको भनाइ छ ।

मिठु मात्र होइन, रानीटारका अधिकांश दलित समुदायले यसरी नै घरखर्च जोहो गरिरहेका छन् । मौसम अनुसार कहिले थाकल र कहिले जङ्गली च्याउ खोजेर बेची जीविकोपार्जन गर्नु रानीटारवासीको स्रोत हो । 

“गर्मी मौसममा एक/दुई महिना थाकल बेचिन्छ, वर्षा लाग्यो भने जङ्गली च्याउ खोजेर बेच्छौँ,” सीता परियारले भन्नुभयो, “ज्याला मजदुरी पाउँदा गरिन्छ तर त्यो पनि सधैँ नपाएपछि छोराछोरी पाल्नै पर्‍यो, थाकल र च्याउ खोजेर बेच्नुबाहेक अरू उपाय पनि के छ र !”

यही काम गरेर छोराछोरीको किताबकापी किन्ने पैसा जम्मा गर्ने गरेको र बिदाका दिन छोराछोरीले पनि सहयोग गर्ने गरेको सीताको भनाइ छ । “कहिले बिक्दा त पाँच सय, एक हजारसम्म कमाइ हुन्छ तर कहिले त रित्तै फर्किनु पर्छ,” उहाँले भन्नुभयो । मौसमका बेला थाकल खोज्नभन्दा घामपानी नभनी सडक किनारामा उभिएर बेच्न निक्कै गाह्रो हुने गरेको उहाँले सुनाउनुभयो ।  

अर्का स्थानीय हेमबहादुर परियारले विवश भएर यस्तो काम गर्नु परेको बाध्यता सुनाउनुभयो । “सरकारले रोजगारी दिन्न । अलि अलि पढेलेखेका केटा पनि काम नपाएर हल्लिरहेका छन्, अनि ज्यान पाल्न थाकल नबेचेर के गर्ने ?” हेमबहादुरले प्रश्न गर्नुभयो । 

वडा कार्यालयका अनुसार रानीटारमा झन्डै २२/२३ घरपरिवार दलित समुदाय छन् । वडाध्यक्ष पर्शुराम महतो थारूका अनुसार मौसम अनुसार थाकल, च्याउ बेच्ने र मजदुरी गरेर जीविकोपार्जन गर्नु यहाँको बाध्यता हो । त्यसबाहेक आफूले नगरपालिकाबाट बाजा उपलब्ध गराएकाले वडामा, नगरमा कार्यक्रम हुँदा त्यसबाट पनि केही आम्दानी हुने गरेको अध्यक्ष थारूले बताउनुभयो ।    

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।