त्यतिबेला जातभातको निकै महत्व थियो । समानस्तरको जातमा मात्र बिहाबारी गर्ने गरिन्थ्यो । बिहाबारी चले पनि भात, हुक्का चिलिम चल्दैनथ्यो । सूर्योदयसँगै एक पटक मात्र भोजन गर्ने, भोजन गर्दा शुद्ध सफा सेतो धोती लगाएर विधिपूर्वक ग्रहण गर्नु पथ्र्याे । बाहुन, क्षेत्रीले गोरु जोत्न मिल्दैनथ्यो ।
नागी मल्लको शासनकालमा मध्यकालीन डोटी राज्यको रीतिस्थिति बसाएर त्यसलाई व्यवस्थित गरिएको पाइन्छ । मल्लकालपूर्वको डोटी पनि समृद्ध र व्यवस्थित नै थियो । जाटकालीन शासनव्यवस्थापछि पालहरू शासक भएको देखिन्छ । अस्कोटका पालहरूको शासन निकै प्राचीन मानिन्छ ।
अस्कोटका पाल शासकका वीर योद्धाहरूले कुरुक्षेत्रको युद्धमा पाण्डव पक्षलाई सघाएको मान्यता पनि छ । कुरुक्षेत्रको युद्धका हरेक योद्धाको उचित सम्मान हुन्थ्यो । स्वयम् विष्णु अवतार रणमैदानमा रहेका कारण धेरैले मुक्ति पाएका थिए । त्यही मैदानमा दिवङ्गत योद्धाको भावी अवस्था निर्धारण गरिन्थ्यो । धेरैलाई वैकुण्ठ पठाइएको थियो । केही योद्धा वैकुण्ठ, स्वर्ग, साकेतधाम, गोलोक जान नसक्ने परिस्थिति थियो । त्यस्ता योद्धालाई कृष्णजीले अब आउने युगमा पूजनीय हुने वर दिएका थिए । त्यस्तो वर पाएकामध्ये आस्कोटका पालहरू कैलपाल, नीलपाल, खम्पाल, कन्यौपाल आदि छन् । कुरुक्षेत्रमा विभिन्न राजारजौटा, यक्ष, किन्नर, गन्धर्व, दानवहरूको पनि सहभागिता थियो । सबैले देवमय दिव्यता प्राप्त गरेकाले शिवगणस्वरूप वरदानौका रूपमा पूजनीय हुने वर पाएका थिए । तिनै वरदानौको श्रेणीमा घटोत्कचदेखि पासाराय, कालिसैन, लाटाराय, कैलपाललाई पनि राखिएको छ । पाल शासनकालको पूजनीय पद्धतिलाई मल्लकालमा झनै विस्तार गरियो । लाटोकटारी मल्ल, उदयदेउ आदि राजपद्धतिका प्रतिष्ठित व्यक्तित्व पूजनीय देवमय स्वरूपमा बने । यस तथ्यले पालवंश र मल्लवंशको लामो र निकै सशक्त शासनकाल रह्यो भन्ने बुझिन्छ ।
पालवंशको शासनकाल व्यापक र विस्तृत हुन पाएन । छिन्नभिन्न रूपमा भए पनि यो शासनकाल लामो समय चल्यो । पालवंशकै राजा अजय पालले १० औँ शताब्दीको प्रारम्भमा कोट निर्माण गरेको पाइन्छ । अजय पालले सुमेरु पर्वत जस्तो कोट बनाए; जसलाई ‘राजा अजयले मेरु जस्तो कोट’ बनाए भनिएकाले ‘अजयमेरुकोट’ भनिएको हो । उक्त कोट पाल राजाको रणथम्प कोट हो । कालान्तरमा यो शक्तिशाली डोटी राज्यको राजधानी भयो । यसको सिमाना पूर्वमा गण्डकी नदी, पश्चिममा गङ्गा नदी, उत्तरमा तिब्बत र दक्षिणमा तराईको भूभागसम्म थियो । पछि ससाना राज्य निर्माण भए । बृहत् डोटीको मुख्य राजधानी अजयमेरु नै थियो । राजकाजको आवश्यकताबमोजिम ग्रीष्मकालीन कोट अजयमेरु र शीतकालीन राजधानी दिपायल थियो । विशाल डोटीका शक्तिशाली राजाका रूपमा नागी मल्ललाई लिइन्छ । त्यसै समय डोटी राज्यको रीतिस्थिति तय गरिएको पाइन्छ । विभिन्न स्थान बिर्ताका रूपमा दिइएका थिए । विभिन्न देवालयमा राजपूजाको प्रबन्ध गरिएको थियो । देवालय र धर्मशाला निर्माण गरिएका थिए । आर्थिक, सामाजिक, सांस्कृतिक विकासको नयाँ स्वरूप बनेको थियो । छकछकानी फलिया चामल जसी डोटी बनेको थियो । सोल सहश्र गाउँ भएको डोटी राज्य थियो । बाइस फाँट कुमाउ, सोल सय सोराड, नौ सय गड गर्खा, बाह्र हजार मालमधेश, बाह्र सय लेकम, एक हजार पुर्चौण, छामअछाम, सिजा बारकोटसहित सोल हजार गाउँको विशाल राज्य थियो । राज्य निर्माण गर्न सघाउनेहरू नै कोटको महत्वपूर्ण भूमिकामा रहन्थे । देउवा बोगटी, पन्त पनेरू, साउन भण्डारी, भट्ट कठायत, जोशी उप्रेती, पाण्डेय चटौत, विष्ट बोहोरा, थापा खड्का, जोरा ठकुराठी, ल्वार भयाँल, दमाईं भेरकार सबैको आआफ्नै भूमिका थियो । राज्य निर्माण र सञ्चालनमा पनि सबैको महत्वपूर्ण स्थान रहेको मानिन्छ । दरबारनजिकका भारदारलाई ससाना राज्यको राज गर्ने जिम्मेवारी दिइएको थियो । जिम्मेवारी प्राप्त जिम्वाल थिए । प्रमुख भूमिकामा रहेका काजी, रजवार थिए । मलासमा साउनलाई र पुर्चौडीमा पनेरूलाई राजा नै बनाइएको थियो । देउवा, बलायर, खड्कालाई रजवार अर्थात् राजा बराबरकै अधिकार दिइएको थियो ।
अजयमेरुकोटमा नागी मल्लले निरय पालपछि राज्य समालेको इतिहास पाइन्छ । नागी मल्लको शासनकाल निकै व्यवस्थित रहेको पाइन्छ । केही इतिहासकारले नागी मल्ललाई क्रूर शासक भन्ने गरे पनि डोटी राज्यको रीतिस्थिति नागी मल्लकै पालामा बसाइएका थिए । धेरै प्रथा, प्रचलन उनकै पालाबाट सुरु भएका थिए । कसैलाई दिएको जात, थर, जिम्मेवारी, बिर्ता नागी मल्लको समयदेखि पाएको भनिन्छ । यो आजको होइन, नागी मल्लका पालादेखि पाइएको हो भन्ने गरिन्छ । यसबाट त्यतिबेला समाजलाई व्यवस्थित गरिएको पाइन्छ । सनातन धर्ममा विश्वास गर्ने भएकाले वर्णव्यवस्थाभित्रै रहेर जिम्मेवारी र थर, उपाधि दिइएको पाइन्छ । इतिहासको कालखण्ड निर्धारण गर्दा नागी मल्लपूर्व र नागी मल्लपछि भनेर छुट्याइने गरिएको छ । नागी मल्लपछि डोटी राज्यको संरचना बन्यो । विशाल र शक्तिशाली राज्य बन्यो । डोटी राज्यव्यवस्था, रहनसहन, रीतिरिवाज, अर्थव्यवस्था आफ्नै किसिमको थियो ।
डोटीको नामकरण देवतटबाट रहन गएको भनाइ छ । देव नदीको तटमा घटोत्कच देवताको थान छ । एक समय पुरानो देव मन्दिरको थान बगेको थियो । बगेको अवस्थामा घटोत्कचलाई गडबगुवा भन्ने गरिन्थ्यो । कुनै निश्चित स्थान थिएन । थपलाका पाण्डेयहरूले थपलाबाट खनमोडा घट्ट लैजाने क्रममा देव नदीको तटमा घट्ट राखेछन् । घट्ट त्यहाँबाट उठाउन सकेनन् । त्यही ठाउँमा घटोत्कच घटालको स्थान भयो । त्यही घट्ट पूजनीय शिला भयो । त्यसै घट्टको शिलामा रानी मौलाले पूजा लगाउने व्यवस्था गरिन् । माइतीबाट आफ्नो साथमा ल्याइएका साथीहरूलाई बसोबासको प्रबन्ध मिलाए । देवनदी तटमा रहेको बस्तीको नाम डोटी रह्यो र पछि त्यही डोटी विशाल डोटी राज्य बन्यो ।
डोटी राज्यको तत्कालीन समयमा निकै चर्चा थियो ।
भनिन्छ–
हाकोडाको राजा रैका जसो
खानपिन खस्याखौडइ जसी,
फलिया चामल जसी डोटी,
जाउला डोटी खाउला रोटी
यस्ता उखानले डोटीको रहनसहन झल्काउने गर्छ । तत्कालीन सामाजिक व्यवस्थाको विकसित अवस्था नै आजको सुदूरपश्चिमका पहाडी जिल्लाको सामाजिक स्वरूपलाई मान्न सकिन्छ । डोटी राज्यको सामाजिक व्यवस्था वर्णव्यवस्थामा आधारित थियो । वर्णव्यवस्था निर्धारित चतुर्वर्णभित्रै जात थर व्यवस्थापनको पाटो रहेको पाइन्छ । कामका आधारमा जात र थर बनेको पाइन्छ । पुरुषार्थ तथा महत्वपूर्ण कार्यका आधारमा थर बनाइन्थ्यो ।
नागी मल्ल हठी स्वभावका थिए । हठ र लहडले गर्दा देवतासँग पनि लडाइँ गरेका थिए । अजयमेरु पुग्नुअघि नागी मल्लका पूर्वजहरूको राज्य चायकोटमा थियो । एक पटक चायकोटका कुमारलाई ग्वान्निनङरमा कोट बनाउने सोच पलायो । धेरैले सल्लाह दिए– त्यहाँ भागेश्वरको थान भएकाले कोट बनाउन ठिक हुँदैन । हठी कुमारले सयौँ कामदार लगेर त्यहीँ निर्माण सुरु गरे । दिनभर गरिएको निर्माण राति भत्केको हुन्थ्यो । कसले, किन भत्कायो भन्दा भागेश्वरको नजिक भएकाले यस्तो भएको भन्ने जानकारी पाए । भागेश्वरको थान नै हटाउने हठ गरेर राजकुमार मन्दिरतर्फ लागे । मन्दिरमा पुग्दा म ठुलो ठाकुर, यो नानो देवता भनेर शिवलिङ्ग तान्न थाले । बल लगाएर तान्दा कमलो लाग्यो, जति तान्यो लामो भएर निस्क्यो । राजकुमार डराए र तान्न छोडे । छाड्नेबित्तिकै नागस्वरूप भागेश्वरको दर्शन पाए । त्यही दिनदेखि नागको दर्शन पाउने नाग मल्ल, नागी मल्ल भएर डोटी राज्यका प्रतापी राजा बन्न पुगे । त्यही दिन ग्वान्नी नङरमा यहाँ कुनै ठकुरी आउने छैन, घोडा ल्याइने छैन भन्ने प्रतिज्ञा गरे । त्यो स्थानको जिम्मेवारी मलस्या साउनलाई सुम्पे । भागेश्वरमा राजपूजाको प्रबन्ध मिलाई चौक्याल पाण्डेयलाई पण्डा बनाएर आफू निरय पालको दरबार अजयमेरुकोट गए ।
मल्लकालीन डोटीको सामाजिक व्यवस्थामा ब्राह्मण र क्षेत्रीको स्थान उच्च थियो । दरबारसँग नजिक भएका वैश्यहरूलाई पनि राजासरहको रजवार पदवी दिइन्थ्यो । राज्यलाई गर्खामा विभक्त गरिएको थियो । दलितलाई छुवाछुतको भेदभाव त निकै थियो तर धेरै ठाउँमा मुख्य जिम्मेवारी पनि दिइएको थियो । देउताका पण्डा, गाउँको मुखिया, कटुवाल जस्ता जिम्मेवारी दिइएको थियो ।
नागी मल्लकालको एउटा विशेषता विभिन्न थर निर्धारण गरिनु पनि हो । गुणाकर र कमलाकर नामका दुई भाइ भागेश्वर धुरा जाँदै गर्दा एउटा उपवास बसी भोकै गए, अर्कोले भात खाएर गए । भात खाएर गएका कारण कमलाकर भाट भए । दुई भाइमध्ये गुणाकरका सन्तान जोशी थर लेख्छन् । कमलाकरका सन्तान भाट अनि भाटबाट भट्ट लेखाउने गरेका छन् । गुणाकरका सन्तानमध्ये एक जनालाई देवताको भण्डार समाल्ने जिम्मेवारी दिइयो । देवताको भण्डार व्यवस्थापन गर्ने जोशी भण्डारी हुन गए । राजा नागी मल्लको गङ्गोत्री यात्रामा एउटा प्रवीण भट्ट ब्राह्मणसँग भेट भयो । तिनलाई आफूसँग जान आग्रह गरेर ल्याए । चटना भन्ने ठाउँमा बासको प्रबन्ध मिलाइयो । चटनामा बस्ने भट्ट चटौत हुन गए । त्यस्तै कलौनामा बस्ने कलौनी, कापडामा बस्ने कापडी, रुपालमा बस्ने रुपाली, निरोलामा बस्ने निरौला, अछामको धमालीबाट धमला, कुइँकाका कुइँक्याल, चालसा गाउँका बासिन्दा चालिसे भनिए ।
त्यस्तै कामका आधारमा थर दिइएका थिए । कामका आधारमा पनि थर निर्धारण गरिएको थियो । दमाहा बजाउने दमाई, ढोल बजाउने ढोली, भेरी बजाउने भेरीकार, लोहाको काम गर्ने लोहार, सुनको काम गर्ने सुनार, देवीदेवताको पूजा लगाउने पण्डाबाट पाण्डेय, ज्योतिष विद्या जानेका जोशी, भण्डार हेर्ने भण्डारी । त्यस्तै दरबारको कामविशेषबाट पनि थर थिए । कोटको मुख्य भूमिकामा काजी, फोनदार, पानी व्यवस्थासम्बन्धी कार्य गर्ने पनेरू, भातभान्सा रोस्यो हेर्ने रोस्यारा, दरबारको लिखत लेख्नेलाई लेखक थर दिइएको थियो । खर्कमा बस्नेले दुधदहीको व्यवस्था मिलाउने भएकाले खर्कवाल, ठुलो फत्र्याल घर भएकालाई फत्र्याल थर दिइएको थियो ।
सिमल्ट्या पाण्डेयको दरबारमा महत्वपूर्ण भूमिका थियो । हरेक लिखतको साक्षी पाण्डेय रहन्थे । त्यही लिखतको जिम्मेवारी पाएका सिमल्ट्या पाण्डेय नै लेखक भए । जिम्मेवारी पाएको व्यक्तिले राजालाई ढाँटेकाले तिनको थर ढाँट राखियो । आफ्नो जिम्मेवारी भुलेका कारण भुल थर दिइयो । चोरीको अभियोगमा समातिएका एक जनाले आफू सद्दे, सामान्य मानिस भएर बाँच्ने याचना गरेकाले तिनलाई चोर थर दिइएको थियो । त्यस्तै थ्वाल, थलाल, धुन, पराल, लोडो, सिलो थर दिइएको थियो ।
त्यतिबेला जातभातको निकै महत्व थियो । समानस्तरको जातमा मात्र बिहाबारी गरिन्थ्यो । बिहाबारी चले पनि भात, हुक्का चिलिम चल्दैनथ्यो । सूर्योदयसँगै एक पटक मात्र भोजन गर्ने, भोजन गर्दा शुद्ध सफा सेतो धोती लगाएर विधिपूर्वक ग्रहण गर्नु पथ्र्यो । बाहुन र क्षेत्रीले गोरु जोत्न मिल्दैनथ्यो । एक दिनमा दोस्रो पटक खिर खाएकोमा कृष्णदेव पाण्डेयलाई देवताको पण्डाबाट निष्कासन गरिएको थियो । छुवाछुत, भेदभाव निकै थियो । तैपनि सामाजिक सद्भाव कायम गरेर व्यवस्थित गरिएको थियो ।
विभिन्न प्रचलन, प्रथा पनि सुरु भएका थिए । देवालयमा राजपूजाको व्यवस्था गरिने, हरेक देवालयको गुठी हुने, स्वयं राजा र राजपरिवारबाट निसान चढाइने गरिन्थ्यो । राजालाई भूपति मानिएकाले पनि भूमि व्यवस्थापनको अधिकार राजामा रहेको थियो । राजाले आफूलाई सघाउनेलाई बिर्ता दिएको पाइन्छ । मध्यकालीन डोटी प्रारम्भमा निकै शक्तिशाली थियो । पूर्वमा गण्डकी र पश्चिममा गङ्गासम्मको क्षेत्रमा डोटीको प्रभाव रहेको थियो । त्यसबेलाको व्यवस्थापन राम्रो र उत्कृष्ट भन्नुभन्दा पनि मौलिक विशेषताको थियो । भेदभाव र छुवाछुत त्यतिबेलाको भारतवर्षका अन्य राज्यमा पनि चरम रूपमा थियो । बिस्तारै बिस्तारै मुगलको बाहुल्य बढ्दै गएको
परिस्थितिमा पनि डोटीको प्रभुत्व र पहिचान बेग्लै थियो । तमाम लोकोक्ति, लोककथा, रीतिरिवाज अध्ययन गर्दा तत्कालीन राज्य सञ्चालकको नाउँ जोडिएको पाइन्छ । विभिन्न ठाउँका ताम्रपत्र र ढुङ्गामा लेखिएका अभिलेखले ऐतिहासिक तथ्यलाई पुष्टि गरेको हुन्छ । दूरदराजमा रहेका देवालयमा सुन, चाँदी, हिरा, मोती जस्ता बहुमूल्य रत्न रहेका छन् । त्यसलाई नागी मल्ल वा अन्य राजाले चढाएको भन्ने सुन्न पाइन्छ । यद्यपि, नागी मल्लले देवालय तथा देवताका धामीमाथि ज्यादती गरेका थिए भनिए पनि देवालयमा राजपूजाको प्रबन्ध मिलाएको पाइन्छ । देवतासँग गरेको प्रतिज्ञा अनुरूप बस्ती छोडी गएका र त्यहाँ कुनै ठकुरी कहिल्यै पनि जान नहुने पद्धति बसाएकाले देवीदेवताप्रतिको आस्था र विश्वासलाई प्रस्ट्याउँछ ।
नागी मल्लदेखि नेपाल एकीकरण हुँदासम्मको डोटी कला, साहित्य, संस्कृति, सामाजिक, आर्थिक व्यवस्थामा निकै धनी देखिन्छ । तत्कालीन बाइसे चौबिसे राज्यको इतिहासको गहिरो अध्ययन हुन जरुरी छ ।