गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३१ गते । त्रिवि क्रिकेट मैदान कीर्तिपुर अहिले पुनर्निर्माणको क्रममा छ । हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दैआएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् ।
माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यता अब कङ्क्रिट प्यारापिट थपिन लागेपछि अन्त्य हुनेभएको छ । साथै यसमा फ्लडलाइट पनि जडान हुने छ । त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिने छ । नेपालले विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मेहम्मे पर्दैआएको थियो ।
प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्ने छन् । कीर्तिपुर मैदानमा पुनर्निर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउने छ । त्रिभूवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दैआएको छ । अहिले तीन चरणमा काम भइरहेको छ ।