२०८१ साल चैत ९ गते शनिबार अर्थात् मार्च २१ का दिन एउटा सनसनीपूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक भयो । चिनियाँ समाचार समिति सिन्ह्वाद्वारा सार्वजनिक एक अध्ययन प्रतिवेदनले विश्वका ८३ प्रतिशत तालको सतहमा अक्सिजनको मात्रा घट्दै गएको छ । जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रमले अन्वेषकहरूले विगत २० वर्षमा विश्वभरका १५ हजारभन्दा बढी तालमा अक्सिजनको मात्रा घट्दो प्रवृत्ति फेला पारेका हुन् । अध्ययनमा समुद्र र नदीको तुलनामा तालमा अक्सिजन घट्ने औसत दर बढी रहेको देखाएको छ । अध्ययनले गर्मीको लहरले अक्सिजनको कमीमा द्रुत र स्पष्ट प्रभाव पारेको देखाएको छ, जसले गर्दा औसत तापक्रमभन्दा कम अवस्थाको तुलनामा ७.७ प्रतिशतले कमी आउँछ ।
लेखकहरूले यसको मुख्य कारण जलवायु परिवर्तन भएको बताएका छन्, जसले अक्सिजनको घुलनशीलता घटाएर ५५ प्रतिशत घटाउन योगदान पु¥याउँछ । तालहरूमा पोषक तत्वहरूको बढ्दो साद्रता लगभग १० प्रतिशत रहेको जनाएको छ । ताजा पानीमा अक्सिजनको घट्दो मात्राले अर्को गम्भीर समस्याको उजागर गरिसकेको छ । जलवायु परिवर्तनको अनेक समस्यासँग जुधिरहेको पृथ्वीमा पछिल्लो अध्ययनले इकोसिस्टममा व्यापक प्रभाव पार्ने देखाएको छ । अहिलेकै मात्रामा तालमा अक्सिजनको मात्रा घट्दै जाने हो भने एरोबिक जीवन (अक्सिजनबिना बाँच्न नसक्ने) कायम राख्न समस्या हुने छ ।
अहिलेको चासो स्वच्छ पानीको हो र पानीमाा पनि नदी तथा तालको स्वच्छता हो । किनभने पानीबिनाको जीवन कल्पना गर्न सकिँदैन । मानिस, पशुपन्छीदेखि बोटबिरुवासम्मको अस्तित्व कायम रहन पानी चाहिन्छ । एक वयस्क मानिसको शरीरमा ५५ देखि ६० प्रतिशत पानी हुन्छ, हरेक फलफूलमा ठुलो मात्रामा पानी नै हुन्छ भने पृथ्वीको ७१ प्रतिशत भूभाग पानीले भरिएको छ । यसैबाट स्पष्ट हुन्छ कि पानीको महत्व । जमिनभन्दा धेरै पानीको भाग पृथ्वीमा किन बन्यो, मानिसको शरीरको आधा भाग पानीले किन भरियो भन्ने प्रश्नको सहज उत्तर हुन्छ ‘पानी नै प्राण !’
पानी जोगाउन हिमालदेखि समुद्रसम्मको सन्तुलन कामय राख्नु पर्छ । हिमाल तीव्र गतिमा पग्लदै जाने, समुद्र सतह बढ्दै जाने गर्दा बाढी र डुबान बढ्ने हुन्छ । हिमालको तापक्रम बढ्दै जाँदा समुद्रबाट उठेको ‘बाफ’ पानीमा बदलिन चाहिने चीसोपन नपुग्दा वर्षा हुँदैन । आकाशमा मडारिएको कालो बादलले उग्र रूप लिँदै आँधीबेहरी सिर्जना गरी ठुलो जनधनको क्षति पु¥याउने काम भइरहेको छ । पानी शान्त भए जीवनदायिनी हुन्छ भने अशान्त भए विनाशक । अहिले विनाशक बढी देखा परिरहेको छ । यसैको पछिल्लो नतिजा हो विश्वका १५ हजारभन्दा बढी तालको जल सतहमा अक्सिजनको मात्रा घट्नु ।
विश्वमा पानीको अभाव सिर्जना भइसकेको छ । अहिलेकै गतिमा अभाव हुँदै जाने हो भने नेपाल जस्ता जलस्रोतमा धनी मुलुकमा चरम गरिबी बढ्ने मात्र होइन जनसङ्ख्याको ठुलो हिस्सा विस्थापित हुने अवस्था आउन सक्ने चेतावनी विज्ञहरूले दिइरहेका छन् । अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न कोप–२९ मा पनि पानी संरक्षणका कुरा उठे । नेपालले आफ्नो देशको अवस्था र जलवायु परिवर्तनबाट परिरहेको असरबारे उदाहरणसहित जानकारी गराउन केही हदसम्म सफल भयो । नेपालका हिमालदेखि तराईसम्मै जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिन्छ । हिमाल जोगाउने ठुलो चिन्ता अहिले छ । यसैका लागि ‘सगरमाथा संवाद’ हुँदै छ ।
अब पानी संरक्षण मात्र नभएर पानीमा जीवन रक्षाको कुरा पनि उत्तिकै महत्वपूर्ण रूपमा उठाउनुपर्ने बेला भइसकेको छ । अक्सिजनबिनाको पानीले जीवन रक्षा गर्दैन भन्ने तथ्य सबैले बुझ्नै पर्छ र तापक्रम वृद्धि रोक्न विश्वले नै साझा अभियान चलाउनै पर्छ । अर्कोतिर नेपाल जस्ता मुलुकले ‘कोप’ का विभिन्न सम्मेलनमार्फत कार्बन व्यापारका कुरा मात्र चलाएर हुँदैन अब ‘जल व्यापार’ पनि प्रमुख मुद्दा बनाउनु पर्छ । किनभने नेपालको पानी नेपालका लागि मात्र नभएर दक्षिण एसियाकै लागि स्रोत भएको हामीले बुझ्नु हुँदैन र यसको मूल्य लिन ढिलाइ गर्नु हुँदैन । पानीलाई बजारिया स्रोत मात्रै नबनाएर रणनीतिक स्रोत बनाउनु आवश्यक छ ।
जलवायु नीति बनाउँदा स्पष्ट रणनीति बनाएर विश्वव्यापी जलवायु परिवर्तनको असर, भारतले कार्बन उत्सर्जन कटौतीमा गरेको प्रतिबद्धतालगायतका बुँदा टेकेर नेपालले भारतसँग पानीको रणनीतिक स्रोतका विषयमा छलफल चलाउनु जरुरी भइसकेको छ ।
नेपालको ७० प्रतिशत पानी छिमेकी मुलुक भारत जाने भएकाले नेपालले भारतसँग पानीको मूल्य लिन विशेष ध्यान दिन जरुरी छ । यसले नेपालको पानीको स्रोत हिमालको सुरक्षा तथा जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरण र नेपालको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन मद्दत पुग्ने छ । भारतसँग राजनीतिक रूपमा पेलिएर उसको निर्देशन मात्र मान्ने होइन कि अब हावापानीको रणनीतिक स्रोत परिचालनका लागि दृढ हुनु आवश्यक छ ।
नेपाल जस्तो हिमाली देशले हिमालको संरक्षणसँगै पानीको स्रोत र खाद्यान्न उत्पादन हुने क्षेत्रको रक्षा एवं त्यसको सन्तुलित भौगोलिक अवस्थिति पनि कायम राख्नु पर्छ । जलवायु परिवर्तनको तत्काल देखापर्ने यी असरहरूले सिङ्गो मानव सभ्यतालाई मात्र होइन पृथ्वीको जैविक विविधतालाई नै तहसनहस पार्न सक्ने भविष्यवाणी भइसकेको अवस्थामा यसबाट बच्ने र बचाउन चालिनुपर्ने कदमहरूका विषयमा दीर्घकालीन रणनीति बनाइनु पर्छ । अझ तालमा अक्सिजनको मात्रा घट्दै गएको तथ्यले झन् चिन्ता बढाएको छ ।
पानीको सङ्कट हुनु भनेको खाद्यान्नको पनि अभाव हुनु हो । नेपालमा खाद्यान्न उत्पादन घट्दै गएको छ । कृषियोग्य जमिन बाँझो हुने क्रम बढेको छ । यससँगै जलवायु परिवर्तनको नकारात्मक असरले कृषि प्रणालीमा ठुलो गडबडी ल्याएको छ । यसलाई कडाइका साथ सम्बोधन गरी जिम्मेवारको ध्यान आकृष्ट गर्न पुगेकै छैन । औपचारिक समारोहमा आफ्ना समस्या देखाएर मात्रै अहिलेको समस्याका कारक रहेका राष्ट्र तत्काल सच्चिने र प्रभावित मुलुकका जनताको जीवन सहज बनाउने गरी लगानी गर्ने मानवतावादी अवस्थामा छैनन् ।
पाँच हजारभन्दा बढी तालतलैया, त्यत्तिकै सङ्ख्यामा नदी–खोला रहेको हिमाली मुलुक जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका उचित मूल्याङ्कन गर्न सकेन र प्रभाव कम गर्न आफ्ना किसिमबाट प्रयास जारी राखेन भने पछि पछुताउनुको केही अर्थ रहँदैन । अहिले पनि मुलुकको वातावरण संरक्षणमा ध्यान दिनैपर्ने कतिपय क्षेत्रमा आँखा चिम्लिएको अवस्था छ । जति चिन्ता हिमालको गरिएको छ त्यति चिन्ता तराईको गरिएको छैन । हिमाल पग्लँदै गर्दा तराई मरुभूमिमा परिणत हुने खतरालाई बेवास्ता गर्न मिल्दैन । तराईको सुरक्षा कवचका रूपमा रहेको चुरे विनाशले अर्को चुनौती थपिएको छ । चुरे दोहन गर्न अनुमति दिने, अवैध उत्खननमा आँखा चिम्लेर करोडौँ कमाउनेहरूले संरक्षण गर्न भनेर सुरु गरिएको ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ का नाममा प्रवाह हुने वर्षको अर्बौं रुपियाँले के काम भइरहेको छ भन्ने प्रश्न अहिले पनि उस्तै बलियोसँग उठिरहेको छ ।
जुन गतिमा चुरे–भावरमा विनाश भइरहेको छ, यसले तराईलाई मरुभूमीकरण गराउनेबाहेक अर्को कुनै उपलब्धि दिने छैन । नेपालको अन्न भण्डारको रूपमा रहेको तराईमा दिन प्रतिदिन उत्पन्न भइरहेको सङ्कटले नेपालको खाद्य सुरक्षामा नै नकारात्मक प्रभाव परिरहेको छ । सोही क्षेत्रमा स्वच्छ पिउने पानीको चरम अभाव छ । अस्र्यानिकयुक्त अस्वस्थ पानीका कारण तराईका ग्रामीण क्षेत्रका जनतामा अनेक रोगव्याधिको सामना गरिरहेका छन् । अर्कातिर भएका तालमा अक्सिजनका मात्रा घट्दै गएको समाचार बाहिरिनु थप चिन्ताको विषय हो । नदी तथा तालका जलमा जीवन रहेन भने त्यो जल र समुद्रको जलमा केही अन्तर हुन्न ।
‘जल नै जीवन’ भन्ने शास्त्रीय मान्यता रहँदैआएको छ । यही मान्यतालाई आत्मसात् गरी जलमा देवताको बास हुन्छ, जलसंरक्षण र प्रवाहका लागि वनजङ्गल र हिमाल संरक्षण हुनु पर्छ भन्दै युगौँयुगदेखि सचेत पारियो, धार्मिक, सामाजिक अभ्यास गरियो । हिमाललाई भगवान् शिवको वासस्थानका रूपमा पूजाआराधना गरी संरक्षण गर्ने अभ्यास गरियो । वनजङ्गललाई देवीका रूपमा, पानीलाई वरुणदेव र नदीलाई गङ्गामाता, ताल, पोखरीलाई जलदेवीका रूपमा पूजनीय मानियो । यसले गर्दा हिमालदेखि तराईका पोखरीसम्म संरक्षण भयो । तराईमा मनाइने छठ पर्वको महत्व पानी र सूर्यसँगै सम्बन्धित छ । अहिले यी सबै अभ्यास अहिले कर्मकाण्डमा सीमित रहन पुग्दा नेपाल गम्भीर वातावरणीय समस्याको दुष्चक्रमा फस्दै गएको छ । यसलाई केवल मनोरञ्जन र परम्परा निर्वाहको खाने–पिउने पर्वका रूपमा मात्र नलिएर सृष्टि जोगाउने महान् सूत्रका रूपमा व्यापक रूपमा अघि बढाउनु आवश्यक छ । यसले मात्र पानीमा जीवनदायिनी अक्सिजनको मात्रा कायम हुने छ ।