शंकर केसी
सल्यान, जेठ २४ गते । स्तरवृद्धिको काम छिटो सक्न भन्दै राप्ती लोकमार्ग आठ दिनका लागि बन्द गरिने भएको छ । लोकमार्गअन्तर्गत राम्री–कपुरकोट सडकको स्तरोन्नति कार्य सञ्चालन हुने भएकाले आइतबारदेखि आगामी असार १ गतेसम्म सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको सूचना अनुसार सो अवधिभर दिउँसोको समयमा दैनिक छ घण्टा सडक बन्द हुने छ । सडक स्तरोन्नतिको जिम्मा पाएको आरडी उज्ज्वल लोकमणी जेभी घोराही दाङले सवारी आवागमन रोक्नका लागि सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालयलाइ अनुरोध गरेको थियो ।
साना सवारीसाधनलाई वैकल्पिक मोटरबाटो प्रयोग गर्न सुझाव दिँदै स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाएको हो । यस अवधिमा सवारी चलाउने चालक तथा सर्वसाधारणले वैकल्पिक मार्गको रूपमा पैयाखोरिया– सातबास– पाखापानी तथा लामिडाँडा–किमुचौर– कपुरकोट सडक प्रयोग गर्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण, स्थानीयवासी, सवारी चालक, यातायात व्यवसायी र सरोकारवालाहरूलाई असहज नहोस भन्ने उद्देश्यले पूर्व जानकारीका लागि सूचना सार्वजनिक गरिएको जनाएको छ ।
प्रशासनले सबैलाई सावधानि अपनाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । समयमै गुणस्तरीय सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह पनि गरेको छ ।