• १३ पुस २०८२, आइतबार

तमोर–मेवा जलविद्युत् आयोजना निर्माण सुरु

blog

तमोर मेवा जलविद्युत् आयोजनाको बाँधस्थलमा सुरु गरिएको निर्माणको काम । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रूपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको हो । 

जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण हुने आयोजनाको काम सुरु भएको छ । निर्माणको काम सुरु भएसँगै हालसम्म करिब २२ प्रतिशत कामको प्रगति भइसकेको प्रवर्धक कम्पनीका संस्थापक अध्यक्ष एवम् सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनु भयो । 

सञ्चालक लिम्बूका अनुसार कम्पनीको मूख्य कार्यालय, आयोजना शिविरका संरचना, निर्माणस्थलमा आउजाउ गर्ने सडकहरू निर्माण भइसकेका छन् । त्यस्तै, बालुवा थिग्राउने पोखरी, अडिट र मुख्य सुरुङ निर्माणको काम पनि सुरु भएको लिम्बूले जानकारी दिनु भयो । लक्ष्यअनुसार नै आयोजना निर्माण सम्पन्न गर्नेगरी कामलाई निरन्तरता दिइने उहाँले बताउनु भयो ।

आयोजना निर्माणको प्रारम्भमा प्रवर्धक कम्पनीले बेहोर्ने २५ प्रतिशत लागतको खर्चबाट काम भइरहेको पनि उहाँको भनाइ छ । आयोजनाको कुल लागत रकम भने करिब २६ अर्ब रुपियाँ छ । आयोजनाका लागि सिद्धार्थ बैँक लिमिटेडको अगुवाइमा माछापुच्छ्रे बैँक लिमिटेड, एसबिआई बैँक लगायतको मुख्य लगानी छ ।

तमोर मेवा आयोजनाबाट १२८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी प्रक्रिया सुरु गरिएकोमा निर्माणको चरणमा पुग्दा १७ मेगावाट थप हुने भएपछि आयोजना कुल १४५ मेगावाट क्षमताको हुने भएको पनि लिम्बूले बताउनुभयो । 

सुरुमा १०१ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी प्रक्रिया सुरु भएको आयोजना निर्माणको काम भने करिब २६ वर्षपछि सुरु गरिएको छ । कम्पनी दर्ताको प्रक्रिया वि.सं २०५६ मङ्सिरदेखि नै प्रारम्भ गरिएको थियो ।

यता तत्कालका लागि तमोर नदीको पानी मात्र उपयोग गरेर आयोजना निर्माण गर्नेगरी काम सुरु गरिएको पनि कम्पनीका संस्थापक अध्यक्ष लिम्बूले बताउनुभयो । तमोर नदीबाट आयोजना निर्माण हुने हुँदा आयोजनाको विभिन्न संरचनाहरु फुङ्लिङ नगरपालिकाभित्र रहनेछ । आयोजनाको मुख्य प्रभावित क्षेत्रका रुपमा फुङ्लिङ नगरपालिका–१, वडा २, वडा नम्बर ३, वडा नम्बर ८ दोखु र वडा नम्बर ९ हाङ्देवा पर्छ ।

आयोजनाको मुहान अर्थात मुख्य बाँध फुङ्लिङ नगरपालिका –१ दगुर्नेमा पर्दछ भने विद्युतगृह वडा ३ स्थित तमोर नदी किनार गुयेलीमा रहनेछ । मुख्य सुरुङको दूरी पाँच किलोमिटरको हुने आयोजनाले जनाएको छ । यसअघि आयोजनाको २०८१ जेठ १० गते तत्कालीन संधिानसभाका सदस्य सञ्चपाल मादेनले शिलान्यास गर्नुभएको थियो ।