चितवन समाचारदाता
चितवन, चैत १८ गते । औद्योगिक क्षेत्रको दिगो विकासबिना नेपालले आर्थिक उपलब्धि हासिल गर्न नसक्ने धारणा अर्थ विज्ञहरूले व्यक्त गर्नुभएको छ । चितवनको भरतपुरमा जारी औद्योगिक प्रदर्शनीका क्रममा भएको अन्तरसंवादमा विज्ञहरूले सरकारी तहबाटै उद्योगको विकासमा ध्यान दिनुपर्नेमाजोड दिनुभएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् डा. विश्व पौडेलले नेपालमा नै पाइने कच्चा पदार्थ केन्द्रित उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालमा पाइने र त्यस्तै उद्योग स्थापना गर्नुपर्ने बताउँदै त्यसो गर्दा लागत कम दीर्घकालसम्म सञ्चालन हुने उल्लेख गर्नुभयो ।
बागमती प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपालले प्रदेशको आर्थिक विकासका लागि अध्ययन अनुसन्धान गरेर मात्र अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले दीर्घकालीन योजनाबिना गरिएको आर्थिक क्षेत्रको लगानीले प्रतिफल दिन नसक्ने उहाँको भनाइ थियो । बागमती प्रदेश आर्थिक हिसाबले महत्वपूर्ण भए पनि यहाँको उद्योग विकासमा प्रभावकारी काम हुन नसकेको उहाँले बताउनुभयो । नेपाल सरकारका पूर्वसचिव एवं माइक्रो इन्टरप्राइजेज विज्ञ, डा. मानबहादुर विकेले औद्योगिक विकासमा सरकार उदासीन भएको भन्दै उद्योग स्थापनालाई निरन्तरता दिँदै नीतिगत व्यवस्था प्रस्ट पाउनुपर्नेमा जोड दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका योजना महाशाखा प्रमुख हुमकला पाण्डेले साना उद्यमीलाई बजार प्रवर्धन गर्न सक्नुपर्ने बताउनुभयो । चितवन उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले उद्योगी उत्साहितको सट्टा निरुत्साहित हुँदै जाने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारले आन्तरिक तथा बाह्य लगानी बढाउन र व्यावसायिक वातावरण बनाउनुपर्ने बताउनुभयो ।