• १९ चैत २०८१, मङ्गलबार

रैथाने बालीलाई प्राथमिकता

blog

हुम्ला जिल्लामा उत्पादन भएको चिनो खेती ।

हुम्ला समाचारदाता

हुम्ला, चैत १८ गते ।  हुम्ला जिल्लामा कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा स्थानीय रैथाने बालीलाई उच्च प्राथमिकतामा राख्ने भएका छन् । कर्णाली प्रदेश सरकारले नीतिगत रूपमै रैथाने बालीलाई प्राथमिकतामा राख्ने व्यवस्था गरेपछि जिल्लाका निकायले आगामी वर्ष रैथाने बाली संरक्षणका कार्यक्रम मात्र राख्ने भएका हुन् । 

कर्णाली प्रदेश सरकारले नीतिगत व्यवस्था गरेर रैथाने बालीका संरक्षण, प्रवर्धन र बजारीकरण गर्ने जनाएपछि आगामी आवमा जिल्लाले तयार गर्ने सबै कार्यक्रम पनि रैथाने बालीका हुने कृषि विकास कार्यालयका प्रमुख चुणामणि पन्तले बताउनुभयो । रैथानेबाहेक अन्य बालीका कार्यक्रम तर्जुमा नै नहुने उहाँले जनाउनुभयो । 

उहाँले यसको खेती, उत्पादन वृद्धि, बजारीकरण, प्याकेजिङसम्बन्धी कार्यक्रम तर्जुमाको तयारी कार्यालयले गरिरहेको र हालको अवस्था हेर्दा रैथाने बालीको अन्न महँगोमा बिक्री भइरहेकाले किसानलाई प्रत्यक्ष फाइदा हुने भएकाले यसलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । यतिबेला कार्यालय स्थलगत रूपमा गाउँ गाउँमा पुगेर किसानसँग रैथाने बालीलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने रायसुझाव सङ्कलन गरिरहेको उहाँले बताउनुभयो । हुम्ला जिल्लाका रैथाने बालीमध्ये चिनो, कागुनो, कोदो, फापर तिते र फापर मिठे, उवा, सिमी र स्याउ तथा ओखर खेतीसँग सम्बन्धित कार्यक्रम तर्जुमा गरिने छ । यी बालीको स्थानीय स्तरमा मूल्यसमेत निर्धारण भइसकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका चार वटा गाउँपालिकसँग रैथाने बाली खरिदका लागि सम्झौतासमेत गरिसकेको छ । सिमकोट गाउँपालिकासँग तीन वर्षदेखि खाद्यले रैथाने बाली खरिद गर्दै आएको छ । यसअघि कार्यालयले रैथानेभन्दा पनि हाइब्रिड बालीमा प्राथमिकता दिने गरेको थियो । खाद्य सुरक्षाका हिसाबले पनि उपभोक्तालाई रैथाने बाली उपयोगी छ ।