• २६ असार २०८२, बिहिबार

बाँकेमा तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

blog

बाँकेको राप्तीसोनारीमा रहेको सामुदायिक वन । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २६ गते । बाँकेमा सामुदायिक र राष्ट्रिय वनबाट वार्षिक तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ । डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार सामुदायिक वनबाट वार्षिक अढाई लाख क्युफिट र राष्ट्रिय वनबाट ९० हजार क्युफिट गरेर तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ । 

उहाँले सामुदायिक वनको उत्पादन पहिले उपभोक्ता समूहभित्र आन्तरिक खपतमा प्रयोग गरिने र बाँकी लिलामीमार्फत बिक्री गरिने गरिएको बताउनुभयो । “साल, सागुन, सिंदुरे, खयर, दब्दबेजस्ता मूल्यवान काठहरू उत्पादन भइरहेका छन्” सिनियर डिभिजनल वन अधिकृत गुप्ताले भन्नुभयो, “खयर कत्था फ्याक्ट्रीमा प्रशोधन गरेर देश बाहिर पठाइन्छ भने साल र सगुनको काठ फर्निचर, घरको झ्याल–ढोका निर्माणमा प्रयोग हुन्छ ।”

अहिले देश बाहिर काठको निर्यात गर्ने वातावरण नरहेको अधिकृत गुप्ताको भनाइ छ । उहाँका अनुसार ५० प्रतिशत निकासी करका कारण नेपाली काठ महँगो पर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको छ । आन्तरिक खपतमा एल्युमिनियम र फलामले स्थान लिँदै गएपछि काठको माग घट्दोक्रममा छ । 

गुप्ताले थप्नुभयो, “झ्याल ढोका अब धेरैले फलामकै बनाउँछन्, प्रक्रियागत झन्झट र मूल्यले गर्दा सर्वसाधारणले काठ किन्न चासो कम देखाउन थालेका छन् ।” डिभिजन वन कार्यालय बाँकेका अनुसार हाल बाँकेमा रहेका ११९ सामुदायिक वनमा ३४ हजार ७ घरधुरी आबद्ध छन् । चार वटा धार्मिक वनमा ३४६ घरधुरी समावेश छन् । 

धार्मिक वनमा धार्मिक समुदायले केवल धार्मिक प्रायोजनमा मात्र काठ प्रयोग गर्न पाउने व्यवस्था छ । यी वनमा समुदाय स्वयंले संरक्षण, प्रवर्धन र प्रयोगको जिम्मेवारी लिएका छन् । 

डिभिजन वन कार्यालय बाँकेको मातहतमा ६ वटा सबडिभिजन कार्यालय रहेका छन्, जसले बाँकेको ८ वटा पालिकामा कार्यक्षेत्र बाँडफाँट गरी वन व्यवस्थापन गरिरहेका छन् । 

बाँकेको सबैभन्दा बढी वन क्षेत्र राप्ती सोनारी गाउँपालिकामा छ, जहाँ ७९.८ प्रतिशत भूभाग वनले ढाकेको छ । अर्कोतर्फ जानकी गाउँपालिकामा एक प्रतिशत वन क्षेत्र पनि छैन भने खजुरा र नेपालगन्ज उपमहानगरपालिकामा दुई प्रतिशतभन्दा कम वन क्षेत्र रहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।