• २० चैत २०८१, बुधबार

सांस्कृतिक विविधता बीचको एकताले नै राष्ट्रियतालाई सुदृढ बनाउँछ: राष्ट्रपति

blog

काठमाडौँ, चैत १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको ईद [ईद-उल-फित्र] पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।

इदका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास लिएको बताउनु भएको छ ।

उहाँले सामाजिक एवम् सांस्कृतिक विविधता बिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

साथै उहाँले यस पर्वले सम्पूर्ण नेपालीहरूबिच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना व्यक्त गर्नुभएको छ ।

ईद [ईद-उल-फित्र] पर्वलाई मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठुला बडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।