ज्ञान उत्पादन अविछिन्न चलिरहने प्रक्रिया हो । हरेक पल संसारका विभिन्न कुनामा नयाँ ज्ञान उत्पादन भइरहेको हुन्छ । कुनै नयाँ ज्ञान संसारभर फैलन सक्ने खालको हुन्छ भने कुनैको दायरा सीमित हुन्छ । समाजमा नयाँ ज्ञानको सिर्जना, सञ्चय र प्रसार अत्यावश्यक परम्परा हो । सामाजिक संरचना, विकास र ज्ञान उत्पादनबिच गहिरो सम्बन्ध हुने गर्छ । ज्ञान उत्पादन र सामाजिक संरचनाबिचको सम्बन्धलाई समाजशास्त्री अगष्टले तीन चरणमा व्याख्या गरेको पाइन्छ– आध्यात्मिक, पराभौतिक र वैज्ञानिक स्तर । उनका अनुसार समाज आध्यात्मिक विश्वासबाट तर्क र विज्ञानतर्फ उन्मुख हुँदै ज्ञान उत्पादनमा अग्रसर हुन्छ ।
नेपालमा ज्ञान उत्पादनको परम्परा ऐतिहासिक रूपमा गुरुकुल शिक्षा पद्धतिमार्फत विकसित भएको पाइन्छ । यस परम्परामा शिष्यहरू गुरुको सानिध्यमा रहेर ज्ञान आर्जन गर्ने गर्दथे । पछि विद्यालय तथा विश्वविद्यालयको स्थापनापश्चात् ज्ञानको प्रसार यिनै संस्थाबाट सुरु हुन थाल्यो र औपचारिक रूपमै यी संस्थाले ज्ञानको प्रमाणपत्र तहगत रूपमा वितरण गर्न थाले, जसले गर्दा परम्परागत ज्ञान हस्तान्तरण तथा प्रसारको माध्यम बदलिन पुगे । ध्यान, योग, प्राणायाम, वातावरण संरक्षण, जैविक विविधता संरक्षणसम्बन्धी ज्ञानको पुस्ता हस्तान्तरण प्रणाली संस्थागत हुन थाल्यो । संस्था स्थापनाले गुरु र शिष्यहरूका बिचको सम्बन्धलाई व्यावसायिक बनाइदिन पुग्यो । गुरुहरू आफूमा निहित ज्ञानलाई व्यापार गरेसरह बिक्री गर्नतर्फ लागे भने शिष्यहरू उपभोक्तासरह ज्ञान किन्न थाले । अहिले ज्ञान बजारमा बिक्रीमा छ भने यहाँ कोही गुरु शिष्य छैन । छन् त केवल बिक्रीकर्ता र क्रेता ।
ज्ञान कसरी बजारको वस्तु बन्न पुग्यो भन्ने प्रश्नका अनेक उत्तर होलान् तर के यसमा कतै गुरुको भूमिका पनि त छैन ! शिक्षा व्यावसायीकरण भए पनि शिक्षकको मुख्य लक्ष्य शिक्षाको नैतिकता जोगाउनु हो । केही शिक्षक निःशुल्क शिक्षा प्रदान गर्ने अभियान पनि संलग्न छन् । अधिकांश शिक्षक निजी ट्युसन वा कोचिङ कक्षा खोलेर ज्ञानलाई नाफामुखी बनाउँछन् । शिक्षकहरू शिक्षाको व्यावसायीकरणलाई समर्थन गर्दै त्यसैलाई आर्जनको स्रोत र शक्तिको भर्याङ बनाउनतिर लाग्छन् भने यो प्रवृत्ति अझै बलियो बन्दै जाने र ज्ञान उत्पादन र पुस्ताहस्तान्तरण सङ्कुचित बन्दै जाने निश्चित छ । शिक्षकहरूले नैतिक जिम्मेवारी बहन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षालाई व्यापार नभई नैतिक चरित्र निर्माणका रूपमा स्थापित गरेर सकारात्मक भूमिका खेलेमा ज्ञान उत्पादन व्यापक बन्न सक्छ ।
नेपालमा ज्ञान उत्पादन गर्दै यसलाई सामाजिक विकाससँग जोड्ने कार्यमा लागेका विश्वविद्यालयको ज्ञान उत्पादन प्रणाली आंशिक रूपमा मात्र सन्तोषजनक छ । विश्वविद्यालयका ज्ञान उत्पादनका प्रमुख तीन तह हुन्छन् १. शिक्षण (विद्यार्थीलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिने प्रक्रिया), २. अनुसन्धान (नयाँ विचार प्रविधि र समाधानको खोजी गर्ने प्रक्रिया, र ३. ज्ञानको समुदाय सेवामा प्रयोग (विश्वविद्यालयमा उत्पादित ज्ञान समाजमा प्रयोग गर्ने र उद्योग व्यवसायसँग जोड्ने काम) । अनुसन्धानका कुरा गर्दा धेरैजसो विश्वविद्यालयमा अनुसन्धानभन्दा पनि शिक्षणमै ध्यान केन्द्रित गरिएको देखिन्छ । नाम अनुसन्धान भनिए पनि अनुसन्धानकर्तालाई समसामयिक ज्ञानको वस्तुगत ज्ञान दिने, समस्या पहिचान गर्ने, अनुसन्धासमक प्रश्न निर्माण गर्ने र वास्तविक समस्या समाधानका उपायमा केन्द्रित गर्नुका सट्टा सैद्धान्तिक पक्षको शिक्षण मात्र गरिएको देखिन्छ । अनुसन्धानलाई व्यावहारिक क्षेत्रमा जोड्ने अभ्यास निकै न्यून छ ।
नयाँ पत्ता लगाइएको भनेर दाबी गरिएको ज्ञान नयाँ नभएर पुरानै ज्ञानको नवीकरण मात्र भएको छ्यापछ्याप्ती पाइन्छ । किनकि शोधार्थीलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग ज्ञान आदानप्रदान र बहस गर्ने अवसर प्राय शून्य छ । अनुसन्धान गरिरहेका विद्यार्थी र शोध निर्देशकबिच ज्ञानका क्षेत्रमा बहस, चिन्तन, व्यावहारिक प्रयोगको अभ्यास हुने परिस्थिति छैन । उनीहरूबिच यति धेरै दुरी छ त्यहाँ ज्ञान विस्तार हुने गरी छलफलको सम्भावना छैन । अनुसन्धाता प्राविधिक रूपमा मात्र आफ्नो शोधलाई आकार दिन्छन् । शोधलाई अन्तिम आकार दिनुपूर्व त्यसको मूल्याङ्कनकर्ता सँगसँगै बसी छलफल गरेर गल्ती सुधार गर्न पनि असम्भव नै छ । जसले गर्दा अन्तिम प्रस्तुतिमा उनीहरू निराश भई गरिरहेको काम नै छोड्छन् वा कुनै सुधार नै नगरी भनसुन तथा दबाबका भरमा प्रमाणपत्र हासिल गर्छन् । यी सबैको कारण गुरु शिष्यबिचको सम्बन्ध सङ्कुचन भएर हो । यस्तो अवस्थालाई सुधार गरी केवल प्रमाणपत्र वितरण गर्ने मात्र नभई अनुसन्धान समाजोपयोगी, नवीन तथा व्यावहारिक बनाउन विश्वविद्यालयले नयाँ नीति अवलम्बन गर्नु जरुरी छ ।
नयाँ पुस्ता निर्माणमा कन्जुस्याइँ
राजनीतिमा जस्तै ज्ञानको क्षेत्रमा पनि नयाँ पुस्ता निर्माण बेवास्ता गरिएको विषय हो । जो कठोर मेहनत र निरन्तरको साधनाबाट समाजले चिन्ने विद्वान् बन्छ, उसले भविष्यमा आफ्नो ज्ञान तथा जिम्मेवारी बहन गर्न सक्ने उत्तराधिकारी निर्माण गर्न खासै चासो दिएको देखिँदैन । आफूले विज्ञता हासिल गरेको क्षेत्रमा अर्को कसैले आफूजति वा आफूभन्दा धेरै नजानोस् भन्ने प्रवृत्ति विद्वान्मा यदाकदा नदेखिएको होइन । विद्वान् यति स्वार्थी पनि हुनु हुँदैन । उनीहरूले के बुझ्नु पर्छ भने कुनै निश्चित ज्ञानको फाँटमा जति धेरै नयाँ पुस्ता तयार हुन्छ, त्यति नै उनीहरूको विद्वताको कदर हुन्छ र महिमा बढ्दै जान्छ । सबै विद्वान्ले यस्तो सोच्नु पर्छ कि आफूपछि पनि आफ्नो क्षेत्रको ज्ञान यो धर्तीमा अभ्यास भइरहोस् । यो त्यतिबेला मात्र सम्भव छ जतिबेलासम्म आफ्नै क्षेत्रको ज्ञानको नयाँ पुस्ता विस्तार भइरहन्छ ।
नयाँ पुस्तालाई आफूसरह मेहनत गराउँदै अनुसन्धानमा लाग्न प्रेरित गर्दै नयाँ नयाँ खोज गर्न लगाउनु पर्छ । उनीहरूलाई पनि विश्वास गरी जिम्मेवारी हस्तान्तरण गरेमा ज्ञान झनै विस्तार हुँदै जाने गर्छ । राजनीतिज्ञले आफ्नो राजनीतिक उत्तराधिकारी तयार नपारी केवल कार्यकर्ता मात्रको हुल तयार पारे जस्तो एउटा प्राज्ञले प्राविधिक रूपमा आफ्ना विद्यार्थीको सङ्ख्या मात्र बढाउनेभन्दा पनि आफूले जस्तै समाजलाई डोर्याउन सक्ने सक्षम नयाँ प्राज्ञ तयार पार्न सक्नु पर्छ ।
प्राज्ञ प्रोत्साहनको खाँचो
प्राज्ञहरूले समाजलाई डोर्याउन सक्ने सक्षम नयाँ प्राज्ञ तयार पारुन् भन्ने अपेक्षा गर्ने हो भने राज्यले पनि प्राज्ञहरूलाई प्रोत्साहन गर्न सक्नु पर्छ । हामी शोधार्थीका शोध स्तरीय बनाउनुपर्ने कुरा गर्दछौँ तर जब एउटा प्राज्ञले शोधार्थीलाई मेहनत गराउन खोज्छ, उसलाई बाह्य दबाब सिर्जना गरी स्तरहीन शोधलाई पनि स्वीकार गर्न बाध्य पार्छौं । उसलाई आस्थागत विभेद गर्दछौँ र अन्तमा जिम्मेवारीविहीन गराएर किनारीकृत गर्दछौँ । स्तरीयताको पालना गर्न लगाउने विज्ञलाई हामी प्रोत्साहन होइन निरुत्साहन गरिरहेका छौँ । अर्को कुरा काम अनुसारको पारीश्रमिकको कमी पनि हो । एउटा विज्ञले सरदर ३०० पृष्ठ वरपरको अनुसन्धान आलेख पढी त्यसको मूल्याङ्कन गरेको पारिश्रमिकले उसको पढ्ने हौसला बढ्दैन ।
फलस्वरूप गहन अध्ययन गरी मूल्याङ्ककन गर्नुको साटो उसले पनि पारिश्रमिक अनुसारको मात्र मेहनत गर्छ, जसले राम्रो स्तर कायम गर्न सक्दैन । निकै निम्न पारिश्रमिक पाउने एउटा शिक्षकले टाइगर माने बिरालो भनेर पढाए जस्तो शोध निर्देशकले पनि लामो–लामो शोध पढी गहन मूल्याङ्कन गरी स्तरीयता कायम गर्न अल्छी मान्ने अवस्था छ । वर्षौंसम्म शोधार्थीलाई निर्देशन दिएर उसलाई अन्तिम प्रस्तुतीकरणको अवस्थासम्म ल्याइपुर्याउने विज्ञलाई विश्वविद्यालयले दिने पारिश्रमिक यति न्यून छ कि त्यो कुनै प्रोत्साहन नै होइन । एउटा विज्ञलाई उसको परिश्रम सुहाउँदो ज्यालाको व्यवस्था विश्वविद्यालयले गर्न सक्नु पर्छ । त्यस्तै प्रोत्साहन भनेको ज्याला मात्र पनि होइन । एउटा प्राज्ञलाई राज्यले आवास, यातायात, स्वास्थ्यलगायतका सुविधा पनि दिनु पर्छ । समाजलाई अँधेरोबाट उज्यालोतर्फ डोर्याउने प्राज्ञहरूलाई राजनीतिक दलको बफादार कार्यकर्ता बनाउने होइन, कुनै हस्तक्षेप बिनाप्राज्ञिक कर्म गर्न दिनु पर्छ ।