• १९ चैत २०८१, मङ्गलबार

लेबलबिनाका वस्तु जफत गर्ने चेतावनी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १८ गते । सरकारले लेबलबिनाका वस्तु बजारमा पठाएमा जफत गर्ने चेतावनी दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० गतेपछि बजारमा लेबल नभएका वस्तु भेटिएमा जफत तथा सम्बन्धित उत्पादक उद्योगलाई कारबाही हुने जानकारी गराएको हो । 

विभागका निर्देशक डिकबहादुर कार्कीले एक सातापछि पनि बजारमा लेबल नभएका वस्तु भेटिएमा जफत गरेर सम्बन्धित उद्योगी र बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँका अनुसार उत्पादित तथा पैठारी गरिएका वस्तुको लेबलमा उत्पादक कम्पनीको नाम, ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र ब्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) गुणस्तर निर्धारण भएका वस्तु भए वस्तु गुणस्तर, मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने भए चेतावनीमूलक सन्देश वा चिह्नको प्रयोग हुनु पर्छ । 

स्वदेशमा उत्पादित वा पैठारी गरिएका वस्तु जस्तो भए पनि उत्पादकले बिक्री गर्नुपूर्व लेबल लगाएर मात्रै बजारमा पठाउनुपर्ने निर्देशक कार्कीले बताउनुभयो । विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम वस्तु वा सेवाको मापदण्ड निर्धारण गर्ने मार्गदर्शनको परिधिभित्र रहेर यही २० गतेसम्म यो नियम पालना गर्नुपर्ने छ । 

विभागको निर्देशनलाई बेवास्ता वा अटेर वा बर्खिलाप गरी लेबलबिनाका वस्तु बजारमा बिक्रीवितरण प्रयोजनका लागि राखिएको भेटिएमा प्रचलित कानुनबमोजिम हुने जनाइएको छ । यसअघि विभागका महानिर्देशक कुमार दाहालले सिमेन्ट उद्योग र डन्डी उद्योगका सञ्चालकलाई छुट्टाछुट्टै बोलाएर लेबल राखेर मात्रै बजारमा पठाउन निर्देशन दिनुभएको थियो ।