काठमाडौँ, मङ्सिर २९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ती निर्वाचन क्षेत्रबाट छ हजार ७४३ वडामा जनसङ्ख्याका आधारमा क्रियाशील सदस्यता वितरण भइरहेको छ ।
मुख्यसचिव पौडेलले भन्नुभयो, “नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट एक सय ६५ निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फाराम पुगिसक्यो । ती निर्वाचन क्षेत्रबाट आ–आफ्नो वडामा नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यताको फाराम पुगिसक्यो । अब वडालाई पाँच, सात दिनको समय दिइएको छ ।”
उहाँले मापदण्डसहित क्रियाशील सदस्यताको फाराम वितरण भएको बताउनुभयो । उहाँका अनुसार युवा न्युनतम ३० प्रतिशत, महिला ५० प्रतिशत, दलित १४ प्रतिशत हुने गरी क्रियाशील सदस्यता वितरणको मापदण्ड तोकिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मत रुपमा पास गरेको अवगत नै छ । यसको महत्वपूर्ण चीज भनेको यसको मतदाता हो । फस्ट भोटर्स भनेको क्रियाशील सदस्यता हो ।”
उहाँले क्रियाशील सदस्यता दर्ता तथा वितरणका लागि प्रविधिको प्रयोग गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “”मापदण्ड पूरा गरेका साथीहरुलाई क्रियाशील सदस्यता दिएर उसले पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पठाउँछ र त्यो क्षेत्रले दर्ता गरेर आफ्नो जिल्ला कमिटीलाई जानकारी दिएर केन्द्रमा सिधै सदस्यतामार्फत लाग्ने दस्तुर र नाम लिस्ट केन्द्रमा पठाउँछ । हामीले यसमा टेक्नोलोजी प्रयोग गरेका छौँ । उहाँहरुले इन्ट्री गरेर क्लिक गर्ने बित्तिकै केन्द्रमा आइपुग्छ । हामीले यो व्यवस्था १४औँ महाधिवेशनमा नै गरेका हौँ । यो व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउँदैछौँ ।”
उहाँले १५औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन भएको र महाधिवेशन तयारी समिति, प्रचार समिति, व्यवस्थापनलगायतका आवश्यक समिति सभापति र कार्यवहाक सभापतिसँग परामर्श गरेर उचित समयमा गठन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले महाधिवेशनका लागि निर्वाचन समिति बनाइसक्यौँ । अब यसको मूल समिति, प्रचार समिति, व्यवस्थापन समिति, खाना र आवासको व्यवस्थापन गर्ने सम्बन्धी समिति, विदेशी पहुनालाई स्वागत गर्ने, मञ्च बनाउने कुराहरु यो सबै हामी अब एउटा बैठक राखेर के भनेको छ भने केन्द्रीय समितिको बैठकले चाहिँ सभापति र कार्यवहाक सभापतिसँग परामर्श गरेर ती कमिटीहरु उचित समयमा बनिहाल्छन् ।”
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।