परासी समाचारदाता
परासी, पुस १ गते । गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तूप विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन अनुसार बुद्धको धातुको सान्निध्यमा गरिने आध्यात्मिक अभ्यासको विशेष महत्व रहने विश्वासका कारण विश्वका विभिन्न देशबाट बौद्ध तीर्थयात्री तथा पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्दै गएको हो ।
सन् २०२५ नोभेम्बरसम्ममा १५ हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक तथा बौद्ध तीर्थयात्रीले रामग्राम स्तूपको भ्रमण गरिसकेका छन् । नेपाल र भारतबाहेक ३१ देशका पर्यटक यहाँ पुगेका छन् । आगन्तुकमध्ये सबैभन्दा बढी थाइल्यान्डका छ हजार १६० जना पर्यटक छन् । चीनबाट दुई हजार २०७, बर्माबाट ९७५ र दक्षिण कोरियाबाट ७९६ पर्यटक आएको नगरपालिकाले जनाएको छ ।
रामग्राम नगरपालिकाले स्तूप क्षेत्रको संरक्षण, विकास र प्रवर्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । नगरप्रमुख धनपत यादवले रामग्राम स्तूप विश्वकै लागि अमूल्य बौद्ध सम्पदाका रूपमा स्थापित हुँदै गरेको बताउनुभयो । बढ्दो पर्यटक आगमनले स्थानीय सरकारलाई थप जिम्मेवार र उत्साहित बनाएको उहाँको भनाइ छ । स्तूपको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न नगरपालिका निरन्तर क्रियाशील रहेको उहाँको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले बौद्ध तीर्थयात्री तथा पर्यटकका लागि स्तूप क्षेत्र सहज, सुरक्षित र व्यवस्थित बनाउनु स्थानीय सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो । यसका लागि केन्द्र तथा प्रदेश सरकारसँगै सरोकारवाला निकायसँग समन्वय गरेर पूर्वाधार विकास, सेवा सुविधा विस्तार र व्यवस्थापनमा काम गरिने उहाँले जानकारी दिनुभयो ।