पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), पुस १ गते । पछिल्लो समयमा पुस्तान्तरण नहुँदा पैँसरीनाच लोप हुने अवस्थामा पुगेको छ । लहरै लागेर नाचिने पैँसरीनाच संरक्षणमा सरकारले चासो नदिएपछि यो नाच पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको हो । विभिन्न कार्यव्रmम, चाडपर्व, विवाह व्रतबन्धमा गाउँघरमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । नाचले मनोरञ्जन मात्र हैन सामाजिक एकता र मेलमिलाप बोकेको हुन्छ । नारायण नगरपालिका–११, का टङ्कबहादुर विष्टले दैलेख जिल्लाका विभिन्न ठाउँमा नाचिने पैँसरीनाच लोप हुन सक्ने खतरा बढ्दै गएको जनाउनुभयो ।
युवाले पैँसरीनाच सिक्न र नाच्न नमान्दा प्राचीनकालदेखि दैलेखमा नाचिने पैँसरीनाच नै लोप हुने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो । “विगतमा पैँसरीनाच गाउँमा धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन्, नयाँले चासो पनि देखाउन छाडे,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा यो नाच हराउँदै जान थालेको छ ।”
यसै गरी भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष गणेशबहादुर थापाले नाचप्रति चासो नदेखाउँदा हराउँदै जान थालेको बताउनुभयो । उहाँले गाउँपालिकाबाट नाच संरक्षण गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस्ता कला संस्कृति जोगाउन आफूले सक्दो सहयोग र सहकार्य गर्न तयार भएको बताउँदै पालिकाले कला संस्कृति जोगाउनका लागि आवश्यक पर्ने पोसाक, बाजागाजा लागि संस्थासँग समन्वय गरेर सहयोग गरिएको जनाउनुभयो । अहिले यस्ता हिन्दी गीत गुन्जने र त्यसैमा रमाउँदा परम्परागत पैँसरीनाच लोप हुँदै गएको अध्यक्ष थापाको भनाइ छ ।
दैलेख जिल्लामा परम्परागत रूपमा लहरे पैँसरी खेल केही वर्षयता हरेक चाडपर्व कार्यव्रmममा लहरे खेलिँदै आएको छ । यहाँका नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका साबिक पगनाथ, रुम, मेहलतोली, जगनाथ, कट्टी, बडाभैरवलगायत स्थानमा सबै समुदाय मिलरे लहरे पैँसरी खेल्ने गरेका छन् । लहरे पैँचरी, दमाहा, झ्यालीलगायतका बाजा बजाएर खेलिने नाच हो ।