मिस नेपाल शृङ्खला विवाह बन्धनमा
पूर्व मिस नेपाल शृङ्खला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सम्भव सिरोहिया र शृङ्खलाले केही वर्ष अघिदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । उनीहरूको विवाह समारोह काठमाडौँस्थित होटेल हायातमा चलिरहेको छ ।
कलाकार सम्मानित
‘टप राजधानी रोधी क्लब’ ले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । क्लबले तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठलगायतले प्रथम वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुभयो ।
‘मलाई तिम्रो मुटुसरी’ सार्वजनिक
गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको सङ्गीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । यसमा गरिस्मा शर्मा र कपिल भट्ट फिचर्ड हुनुहुन्छ । भिडियोमा एक विवाहित जोडीको कृषिकर्मलाई देखाइएको छ ।
नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक
नेपालभाषाको म्युजिक भिडियो एल्बम ‘असं बजाः मंगः बजाः’ बिहीबार कीर्तिपुर पाँगामा सार्वजनिक गरिएको छ ।
नेपाल आइपुगिन् दीपिका
एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स–२०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आइपुग्नुभएको छ । नेपाल आइपुग्नुभएको दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई सचेतनाका निर्देशक सरोज ओझाले नेपालमा स्वागत गर्नुभयो । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल भएकोमा धन्यवाद दिनुभयो ।
‘नो विन्टर होलिडेज’ उत्कृष्ट
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औँ संस्करण बेलायतको एल्बम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शनसँगै समापन भएको छ । महोत्सवमा उत्कृष्ट फिचर डकुमेन्ट्रीतर्फको अवार्ड राजन कठेत र सुनील पाण्डे ‘नो विन्टर होलिडेज’ ले जितेको छ । मङ्गलबार सम्पन्न महोत्सवमा उक्त डकुमेन्ट्रीले अवार्ड जितेको हो । महोत्सवमा उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालबाट सहयोगराज अधिकारी र एलएसएम ‘यात्रा’ ले पाएको छ । त्यस्तै उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेसनलतर्फको अवार्ड स्पेनका जुलेन जुबिटको ‘अ माउन्टेन अफ मेमरिज’ ले जितेको छ ।
समाज सेवामा मिस नेपाल वर्ल्ड जोशी
मिस नेपाल वर्ल्ड –२०२२ प्रियङ्का रानी जोशीले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित उपरदाङगढीमा सामुदायिक भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्नुभएको छ । आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ का लागि जोशीले सहयोगी हात अघि बढाउनुभएको हो । उहाँले विद्यालयको मर्मत र स्थानीयलाई उद्यमशीलताका सिप पनि बाँड्नुभयो । कुल ८० घर रहेको गाउँका १६ घर होमस्टेका लागि प्रयोगमा छन् ।
अमेरिकामा नेपाली साङ्गीतिक उत्सव
नेपालका वरिष्ठ गायक गायिका र नेपालीभाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ ।
बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने
घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने भएका छन् । चलचित्रले बाबुछोरीको मार्मिक कथा पस्कने हुँदा निर्माण पक्षले यस्तो घोषणा गरेको हो । त्यस्तै कुनै पनि ‘चित्रा’ नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा तीनवटा टिकट निःशुल्क पाउने कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिनुभयो । यसले नेपाली चलचित्रको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै चलचित्रभित्र प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ, उहाँले भन्नुभयो, “म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।”
‘महाजात्रा’ छायाङ्कनमा घिमिरे
घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि चलचित्रको छायाङ्कनमा फर्किनुभएको छ । बुढानीलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायाङ्कनसँगै उहाँ काममा फर्किनुभएको हो । ‘जात्रा’ शृङ्खलादेखि नै चलचित्रमा उहाँ अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा देखिनुभएको थियो । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “केही समयको विश्रामपछि चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु,” अभिनेता घिमिरेले भन्नुभयो ।
मानेक्शको जीवनी ‘साम बहादुर’
साम बहादुर! पहिलो फिल्ड मार्सल साम मानेक्शको जीवनमा आधारित चलचित्र हो। चलचित्रबारे जान्नुअघि साम को थिए त ? सामले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट अलग गर्न बङ्गलादेशको स्थापना र भारतलाई बलियो बनाउन इन्दिरा गान्धीसँगै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जब इन्दिरा गान्धीले राजनीतिक धुरीमा बलियो निर्णय लिइन्, सेनाका सर्वोच्च अधिकारीका रूपमा सामले गान्धीको निर्णयलाई सफल बनाएर इतिहास रचे।
‘सतीदेवी’ को सेन्सर पास
लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । निर्देशक सुवेदीले सामाजिक सञ्जालमार्फत सेन्सर पास भएको जानकारी दिनुभएको हो । चलचित्रलाई सेन्सर बोर्डले उत्कृष्ट प्रतिक्रियासहित पास गरेको उहाँको भनाइ छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनुहुने छ ।
‘लप्सी फेदीमा’ सार्वजनिक
६० को दशकको सर्वाधिक चर्चामा रहेको गीत ‘बलेको आगो जलेको प्रेम’ का गायक राजीव लोहनी नयाँ गीत लिएर केही वर्षपछि पुनः नेपाली साङ्गीतिक बजारमा आउनुभएको छ । गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको गीतलाई कन्च क्रियटिभको प्रस्तुतिमा म्युजिक नेपालको च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गर्नुभएको छ ।
‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’
काठमाडौँमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २३ देखि २६ सम्म हुने महोत्सवको ११ औँ संस्करण नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने छ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलित वृत्तचित्र, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन हुँदै छन् । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, आयरल्यान्ड, किर्गिस्तान, जर्जिया, पोल्यान्ड, ताजकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।
कथाकार पराजुलीको ‘ड्रिमी आइज’ सार्वजनिक
पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् । ती कथाहरु मिलि जोशी र भरत भट्टराईले अनुवाद गर्नुभएको हो
खेलाडीको सम्मानमा आचार्यको गीत
नेपाली खेलाडीको सम्मानस्वरूप हास्य कलाकार हरिवंश आचार्यले ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । नेपाल ‘टी–२० विश्वकप’ मा छनोट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको अवस्थामा गीत सार्वजनिक गरेको आचार्यले बताउनुभयो ।
‘दान्भी’ मा पूजाको फरक शैली
चलचित्र ‘दान्भी’ को पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नहुँदै सार्वजनिक भएको पोस्टरमा अभिनेत्री पूजा शर्माले मेसिनगनबाट फायर गर्दै गरेको तस्बिरमा देखिएको छ ।
जोगीको फेरी परम्परा वृत्तचित्रलाई अवार्ड
काठमाडौं, मङ्सिर २० गते । कनफट्टा जोगी कथामा आधारित जोगीको फेरी परम्परा नामक वृत्तचित्रले अवार्ड प्राप्त गरेको छ । पत्रकार भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेको उक्त वृत्तचित्रले गत मङ्सिर १५, १६ र १७ गते भारतको बनारसमा आयोजित संस्कृति र पर्यटन सम्बन्धी लघु चलचित्र महोत्सवमा अवार्ड हात पारेको हो । महोत्सवमा प्रदर्शनका लागि छनौटमा परेका ४४ देशका ९४ फिल्म मध्ये पत्रकार श्रेष्ठका वृत्तचित्रले पनि अवार्ड पाएको हो । श्रेष्ठलाई एक समारोहबीच आयोजक संस्थाका अध्यक्ष देवन्द्र खंडेलवालले अवार्ड प्रदान गर्नुभयो । विश्वका एक सय १५ देशबाट ३ हजार दुई सय १२ फिल्ममध्येबाट प्रर्दशनका लागि छनौट भएका ९४ फिल्ममा श्रेष्ठले निर्माण तथा निर्देशन गरेको ‘जोगीको फेरी परम्परा’ र ‘मकै विवाह गरी २’ वृत्तचित्र पनि छनौट भएको थियो । ती मध्ये जोगीको फेरी परम्पराले संस्कृति विधा अन्तर्गतको अवार्ड पाएको हो ।
बुद्धभूमि महोत्सवमा प्रीति आले र सुनिल पण्डितको प्रस्तुति
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा जारी दोस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको छ।
तारादेवी र रसिकलाई नारायणगोपाल स्मृति पुरस्कार
स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिनुभएका उहाँको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । विसं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायणगोपालले थुप्रै कालजयी गीत गाउनुभएको छ । ‘मलाई नसोध कहाँ दुख्छ घाउँ’, ‘एउटा मान्छेको मायाले कति’, ‘केही मिठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ ‘मोहनी लाग्ला है’ ‘यो सम्झिने मन छ’ जस्ता गीत चर्चित छन् । त्यस्तै हरेक वर्ष नारायणगोपाल सङ्गीत कोषले आएको स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरिएको छ ।
काठमाडौँमा ‘महाजात्रा’
नेपालमा सिक्वेल चलचित्रले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक प्रदीप भट्टराईको लेखन रहेको ‘जात्रै जात्रा’ ले सिक्वेल चलचित्र पनि राम्रो बन्छ भन्ने प्रमाणित गरेको छ । उहाँ अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कनमा व्यस्त हुनुहुन्छ । काठमाडौँमा मह स्टुडियोसँगै विभिन्न स्थानमा यसको छायाङ्कन भइरहेको छ । चलचित्रमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेललगायतले अभिनय गरिरहेका छन् ।
दीपक मनाङ्गेको प्रस्तुति ‘कङ्गारु’ मा माग्ने बुढा
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट् बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्।राजीव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ।
मिसेस् हिमालयन नेपालको उपाधि अनुषालाई
मिसेस् हिमालयन नेपाल २०२३ को उपाधि अनुषा कार्कीले हात पार्नुभएको छ । ओखलढुङ्गाकी अनुषा कार्कीले ताज पहिरिन सफल हुनु भएको हो ।
अमेरिकामा अस्मिताको कन्सर्ट
गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गर्नुभएको छ । ‘युएसए फस्र्ट म्युजिकल यात्रा–भोल्युम वन’ नाममा भएको कन्सर्ट न्युयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसवर्गमा सम्पन्न भएको हो । अधिकारीको अमेरिकाको यो पहिलो प्रस्तुति हो । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेसनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।