• २५ असार २०८२, बुधबार

पाँच वर्षदेखि बाजुराको सडक अलपत्र, ठेकेदार फरार

blog

कालोपत्रेको काम अलपत्र परेको बेल्दे आटिचौर सडक अन्तर्गत पर्ने बल्दे धुरालसैन सडक । तस्बिर ः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार २४ गते । बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरासैन सडक कालोपत्रेको काम अलपत्र परेको छ । २०७९ साल चैत मसान्त काम सम्पन्न गर्ने गरी २०७७ साल असारमा जयदेवी एस, एस निर्माण सेवा प्रालिले बल्देदेखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक कालोपत्रे गर्ने गरी जिम्मा लिएको हो । 

सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको जयदेवी एस, एस निर्माण सेवा प्रालिले समयमै काम सम्पन्न नगर्दा यती बेला बल्दे धुरासैन सडक कालोपत्रे गर्ने काम अलपत्र परेको हो ।

समयमै सडक कालोपत्रेको काम नहुँदा बह्रमतोला, कुँडी, डुग्री, आटिचौर र डोगडीका लगायतका स्थानीयबासीलाई बर्खा आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको बूढीगङ्गा नगरपालिका–२ बसन्तबालमैन्त्री आधारभूत विद्यालयका शिक्षक बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ सडक कालोपत्रे गर्ने काम अहिले गरी सक्नु पर्ने हो । तर ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रे गर्ने काम अलपत्र परेको हो ।”

अहिले यो सडकमा कालोपत्रेको काम नहुँदा यहाँका स्थानीयबासीलाई बर्खाको बेला पानीले बाटो अवरुद्ध हुने गरेपछि यती बेला दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या भएको थापाले बताउनुभयो ।

वि.स २०६५–०६६ सालमा सडक डिभिजन कार्यालय अछामले सेरा आटिचौर सम्मको कच्ची सडकको निर्माण कार्य सम्पन्न गरेपछि छोटा दुरीका सवारी साधना सञ्चालनमा आएका थिए । बल्दे आटिचौर सडकले बूढीगङ्गा नगरपालिकाको –२ को बल्दे देखि खप्तड छेडेदह गाउँपालिकाको आटिचौर डोगडी हुँदै बझाङग छोएको छ । 

पहिले कच्ची सडकमा लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिँदै आउने गरेका छन् । उता डोगडी देखि आटिचौर लगायतका स्थानीयहरू यही सडकबाट दैनिक कामकाजका लागि साँफे मार्तडी लगायतका विभिन्न ठाउँमा आउजाउ गर्ने गर्दछन् । 

लामो समयको निर्माणाधीन यो सडकले हिउँद बर्खाको बेला बाटो अवरुद्ध हुँदा यहाँका स्थानीय व्यापारीलाई दैनिक उपभोग्य सामान ढुवानी गर्न निकै समस्या हुने गरेको छ ।

यो भन्दा पहिला विविध कारणले काम रोकिएको हो । यती बेला त्यो कामलाई फेरि निरन्तरता दिइएका छौ । अहिले  झन्डै ७५ प्रतिशत काम भएको छ । बाँकी रहेको काम अबका केही महिनामा सम्पन्न हुने ठेकेदार कम्पनीले जनाएको छ ।

२०७९ सालमा सेरा आटिचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक असार सम्म कालोपत्रे गर्ने गरी २०७७ सालको असारमा झन्डै ११ करोडमा जिम्मा लिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०७७ साल असारमा सेरा आटिचौर सडक अन्तर्गत बल्दे देखि धुरालसैन सम्मको झन्डै ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७९ चैत मसान्त सम्म पुरा गर्ने गरी जिम्मा लिएको हो । ”

गत वर्ष २०८० को असार मसान्त सम्म काम सम्पन्न गर्ने गरी फेरी म्याद थपिएपनि अहिले सम्म काम सम्पन्न नहुँदा त्यसलाई फेरी पनि काम चाँडो गर्ने गरी पत्राचार गरेको थापाले बताउनुभयो ।