केदार तिमल्सिना
बनेपा, असार २४ गते । विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका –२ स्थित खेल्फीडाँडामा मङ्गलबार साँझ स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ ७ः३० बजेको समयमा भकुण्डेबेशीतर्फ जाँदैगरेको बा ४ ख ७१ नम्बरको सगुन बिद्या मन्दिरको स्कुल बस र बिपरित दिशाबाट आउदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले स्कुल बस र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक नमोबुद्ध नगरपालिका –२ बस्ने २३ वर्षीय पासाङ तामाङ र मोटरसाईकलको पछाडी सवार २२ वर्षीय बिजय तामाङको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाईते भएका पासाङ र विजयको उपचारको क्रममा धुलिखेल अस्पतालमा मङ्गलबार साँझ ८ः३५ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । मोटरसाईकललाई ठक्कर दिने स्कुल बस प्रहरी नियन्त्रणमा रहेको र बसका चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रनाउ घलेले बताउनुभयो ।