फडिन्द्र अधिकारी
लेखनाथ, असार २४ गते। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ कार्यविधि बनाएर एकल (सोलो) प्याराग्लाइडिङ उडान खुला गरेको छ। क्यानले सुरक्षा र अनुगमनमा कडा प्रावधानसहित उडान गर्न अनुमति दिएपछि साउन पहिलो साताबाट पोखरामा सोलो उडान थाल्ने तयारी भएको छ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २०७९ असोज ३० गते भएको प्याराग्लाइडिङ दुर्घटनामा खेलाडी निसिम थापाको ज्यान गएको थियो। लगत्तै सबै खाले प्याराग्इडिङ उडानमा प्रतिबन्ध लगाएको क्यानले पछि टेन्डम उडान खुला गरे पनि सोलो उडान बन्द थियो।
करिब तीन वर्षपछि एकल उडान अनुमतिले प्याराग्लाइडिङ व्यवसायी उत्साहित भएका छन्। नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष अनिल केसी नयाँ कार्यविधिका व्यवस्थाहरु पालना गर्दै साउन पहिलो साताबाट सोलो उडान थालिने बताउनुहुन्छ। “क्यानले नालाई अनुगमनसहित व्यवस्थापनको जिम्मा दिएको छ,” उहाँले भन्नुभयो, “कार्यविधिअनुसार पाइलटहरुलाई अभिमुखीकरणसहित अन्य तयारी गरी साउन पहिलो साताबाट सोलो उडान थाल्ने तयारीमा छौँ। ”
गएको चैतमा क्यानले बनाएको सोलो प्याराग्लाइडिङ उडानसम्बन्धी नयाँ कार्यविधि पास भएको थियो। सोही कार्यविधि अनुसार सोलो उडान खुला गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो। नयाँ कार्यविधिले नालाई सोलो उडानको अनुमगन र व्यवस्थापन गर्ने जिम्मा दिएको छ। उडानअघि पाइलटहरुको मापसे÷लापसे जाँच गरिनेछ भने सुरक्षामा पनि कडाइ गरिएको छ। प्राधिकरणका मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुखसमेत रहनुभएका भुलले तोकिएको क्षेत्रभित्र सुरक्षाका सबै मापदण्ड पूरा गरेरमात्र उडान गर्न पाइने बताउनुभयो।
भुलले भन्नुभयो, “सुरक्षासँग सम्झौता नहुने गरी कडा व्यवस्था गरिएको छ। कार्यविधि नमान्ने पाइलटहरुलाई निलम्बनदेखि लाइसेन्स खारेजीसम्मका प्रावधान छन्। ” प्राधिकरणले आकस्मिक र आवश्यकता अनुसार सोलो उडान अनुगमन गर्ने जनाउँदै तोकिएको क्षेत्रबाहिर जान नपाउने कार्यविधिमा उल्लेख रहेको उहाँको भनाइ छ।
अहिले पोखरामा ५७ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। चार सय हाराहारी प्यारा पाइलटले उडानका लागि लाइसेन्स लिएकोमा दुई सय ६० जना नियमित काममा छन्।