• १२ साउन २०८१, शनिबार

रोबोट र मानवको प्रेमकथा

blog

काठमाडौँ, फागुन ८ गते । चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जिया’ प्रेमकथामा आधारित भए पनि यसभित्र एआई प्रविधिलाई अनौठो शैलीमा देखाइएको छ । चलचित्रले रोबोट र मानिसबिचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ । अमित जोशी र आराधना शाहले निर्देशन गर्नुभएको चलचित्रमा लामो समयको अन्तरालपछि कलाकार शाहिद कपुर मायाप्रेम र हास्यप्रधान भूमिकामा देखिनुभएको छ भने कृति सेनन एआई रोबोटको भूमिकामा हुनुहुन्छ ।

आर्यन (शाहिद कपुर) एक रोबोट वैज्ञानिक हुन् । परिवारका सदस्यहरूले उनलाई विवाहका लागि बारम्बार घचघच्याइरहेका हुन्छन् तर उनलाई कुनै केटी मन पर्दैन । विवाहको कुरा सुन्नेबित्तिकै उनी परिवारबाट टाढा भाग्ने गर्छन् । आर्यनकी काकी उर्मिला (डिम्पल कपाडिया) महिला रोबोट हुन् । उनले वैज्ञानिक शक्तिबाट सिफ्रा (कृति सेनन) नामक रोबोट बनाउँछिन् । जब आर्यनले काकी उर्मिलाको अफिसमा सिफ्रालाई भेट्छन्, उनी प्रेममा पर्छन् । सुरुमा उनी रोबोट हुन् भन्ने थाहा हुँदैन तर पछि थाहा पाएपछि भने उनको मन छिया छिया हुन्छ । आर्यन सिफ्रालाई बिर्सन सक्दैनन् । स्वदेश फर्किएपछि उनले प्रयोगको बहानामा सिफ्रालाई भारत बोलाउँछन् । उनले घरका आफन्तसँग आफ्नी प्रेमिकाका रूपमा उनलाई चिनाउँछन् । परिवारले पनि सुन्दर र सभ्य सिफ्रालाई खुसीसाथ स्वीकार गर्छ । उनीहरूको विवाह तय हुन्छ तर विवाहको समयमा सिफ्राभित्र प्राविधिक समस्या आउँछ । चलचित्रमा शाहिद र कृति दुवैले आआफ्ना भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । वैज्ञानिकको भूमिका शाहिदलाई सुहाएको देखिन्छ । प्रायः सबैखाले अभिनयमा जम्ने उनको अभिनय शैलीको जति तारिफ गरे पनि कम हुन्छ । रोबोटको भूमिकामा रहेकी कृतिले आफ्नो भूमिकामा न्याय गरेकी छन् । आजको समयमा जुनसुकै रोबोटमा एआई प्रविधिको विकास भइरहेको छ, त्यसरी नै रोबोटको शैलीमा कृतिमा सबै गुण देखिन्छ । अन्य कलाकार धर्मेन्द्र, डिम्पल कपाडिया, राजेश कुमार, अनुभा फतेहपुरिया, आशिष वर्मा, रसुल टन्डन, राकेश बेदीलगायतका कलाकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

रोबोटको विषयमा चलचित्र नबनेका भने होइनन् । करिब १४ वर्षअघि प्रदर्शन भएको साइन्स फिक्सन चलचित्र ‘रोबोट’ मा मानिस र मेसिनबिचको युद्धलाई रोचक ढङ्गले चित्रण गरिएको थियो । त्यस्तै हलिउडमा पनि रोबोटको विषयमा धेरै चलचित्र निर्माण भएका छन्; जसमा मानवीय सिपले बनाएको मेसिनले गरेको विनाशलाई देखाइएको छ । 

चलचित्रको कथाको अवधारणा राम्रो छ । कथाको बिचमा यस्ता धेरै पल आउँछन् जसले दर्शकको अनुहारमा मुस्कान ल्याउने काम गर्छ । चलचित्रका सबै गीत उत्कृष्ट छन् । ‘तेरी बातों मै’ बोलको गीत अहिले सामाजिक सञ्जालमा मानिसको पहिलो रोजाइ बनेको छ । यसका साथै यी गीतमा कृति र शाहिदको निकै राम्रो नृत्य पनि देख्न सकिन्छ ।