बैतडीमा मतगणना सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बैतडी जिल्लाको मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जिल्ला अदालतको भवनमा सुरु गरिएको हो ।
काठमाडौँ–४ मा रास्वपाका बम अगाडि
काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
मुस्ताङबाट विजयी कांग्रेसका योगेश गौचनलाई चिन्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
रौतहट–१ मा रास्वपाका राजेशको सुरुवाती अग्रता
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नं. १ मा रास्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार राजेशकुमार चौधरीले सुरुवाती अग्रता लिनुभएको छ ।
मनाङमा मतगणना सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ । सेनाको हेलिकप्टरमार्फत् नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका मतपेटिका ल्याएपछि मतगणना सुरु भएको हो ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनले अग्रता बढाउँदै
म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै लैजानुभएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार पुन नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा ५३८ मतान्तरले अघि हुनुहुन्छ ।
लमजुङमा कांग्रेसको अग्रता
मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिनुभएको छ ।
दाङ–२ मा रास्वपाका आचार्यको अग्रता, शंकर पोखरेल दोस्रो
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिनुभएको छ ।
कैलाली–१ मा रास्वपाको अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवालीले अग्रता लिनुभएको छ ।
चितवन–२ मा रास्वपाका रवि लामिछानेको फराकिलो अग्रता
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता लिनुभएको छ ।
पाल्पा–२ मा मतगणना सुरु
पाल्पा–२ मतगणना सुरु भएको छ । दलहरूसँगको बैठकपछि मतगणना गर्न थालिएको हो । पाल्पा–२ मा एक लाख ९ हजार ५३ जना मतदाता रहेकामा ६१ हजार १४१ मतदाताले मतदान गरेका थिए ।
रूपन्देही–४ मा एमाले उम्मेदवार यादवको अग्रता
रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव अगाडि हुनुहुन्छ ।
सर्लाही-२ मा रास्वपाको अग्रता, राजेन्द्र महतो र महेन्द्र राय पछाडि
सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिनुभएको छ ।
दोलखामा दिउँसो ३ बजेबाट मतगणना
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन एक क्षेत्र रहेको दोलखामा दिउँसो ३ बजेबाट मत गणना सुरु हुने भएको छ ।
इलाम-२ को गणना सुरु
इलाम-२ मा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा चुलाचुली गाउँपालिका-६ बाट गणना सुरु गरिएको छ ।
स्याङ्जा २ मा मतगणना सुरु हुने
निर्वाचन आयोगबाट पत्र प्राप्त भएसँगै अन्योलमा रहेका स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु हुने भएको छ ।
हुम्लामा सर्वदलीय बैठक बस्न ढिलाइ
जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आई पुगेको भए पनि मतगणना अघि बस्नु पर्ने सर्वदलीय बैठक बस्न ढिलाइ भएको छ ।
मकवानपुरमा मतगणना सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको मतगणना सुरु भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको हो ।
दाङको तीनवटै क्षेत्रमा रास्वपा अगाडि
प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ ।
धनुषा–४ को मतगणना सुरु
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४, धनुषामा मतगणना सुरु भएको छ । शुक्रबार दिउँसो १२ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिनुभयो ।
पर्सा- ३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता
पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ ।
सर्लाही १ मा पनि मतगणना सुरु
सर्लाहीको क्षेत्र नं. १ को मतगणना पनि सुरु भएको छ । निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार ईश्वरपुर नगरपालिका १ बाट मतगणना सुरु गरिएको हो ।
सुनसरीमा मध्याह्नदेखि मतगणना सुरु
सुनसरीमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय छलफल ढिला भएकाले मध्याह्नबाट चारवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो।
मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी
मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका गौचनले १ हजार ५०४ मतान्तरले जित हासिल गर्नुभएको हो ।