• २२ फागुन २०८२, शुक्रबार

सुनसरीमा मध्याह्नदेखि मतगणना सुरु

blog

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत इनरुवा नगरपालिका–१ स्थित भगवती मावि मतगणना स्थलमा मतगणना गर्दै। तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, फागुन २२ गते ।
सुनसरीमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय छलफल ढिला भएकाले मध्याह्नबाट चारवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा बिहान ११ः५५ बजेबाट मतगणना सुरु भएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको छ। यस क्षेत्रमा सीमावर्ती देवानगञ्ज गाउँपालिकाको मतगणनाका लागि मतपेटिका खोलिएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा पनि मतगणना सुरु भएको छ। पहिलो चरणमा ७०० मत गणना हुँदा सुनसरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरीले घण्टी चुनाव चिह्नमा ३८७ मत प्राप्त गर्नुभएको छ। नेकपा एमालेकी भगवती चौधरीले सूर्य चिह्नमा १४८ मत तथा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले रुख चिह्नमा १२१ मत प्राप्त गर्नुभएको छ। अन्य उम्मेदवारतर्फ तारा चिह्नमा १५, माटो चिह्नमा ६, हलो चिह्नमा ७ र आँखा चिह्नमा २ मत गणना भएको छ।

उता निर्वाचन क्षेत्र नम्बर ४ मा पनि आज दिउँसो १२ः१५ बजेदेखि मतगणना सुरु भएको छ।