• २२ फागुन २०८२, शुक्रबार

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी

blog

नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली । फाइल तस्बिर

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), फागुन २२ गते । मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका गौचनले १ हजार ५०४ मतान्तरले जित हासिल गर्नुभएको हो ।

कांग्रेसका गौचनले नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्नुभएको हो । विजयी गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी विष्टले १ हजार ८०६ मत पाउनुभएको थियो ।

गौचन निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत हुनुहुन्छ । मुस्ताङमा उम्मेदवारी दिएका अन्य सात प्रतिस्पर्धीले मौन अवधिमा गौचनविरुद्ध आर्थिक चलखेलसहित विभिन्न आरोप लगाए पनि पुष्टि हुन नसकेपछि उनीहरू निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । विजयी गौचन पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।

थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिका रहेको यस जिल्लामा कुल ११ हजार ३२८ मतदातामध्ये ६ हजार ३९७ मत खसेको थियो । वि.सं. २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गौचनले ३ हजार ९९२ मत प्राप्त गर्नुभएको थियो ।